४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताका लागि नगरकाे गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्‍याैं- संगिता भण्डारी

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०५:१६


काठमाडौं । ‘हामीलाई भन्दापनि अहिले जनता बचाउनु पर्छ भनेर नगरपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेका हौँ’, सुदूरपश्चिम डडेल्धुराको अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता भण्डारीले भन्नुभयो ।

भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम कोभिडको केन्द्र बनेको छ । कोभिड संक्रमण बढ्दै गएपछि स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । सोही तयारी अनुसार अमरगढी नगरपालिकाले उपप्रमुख चढ्दै आएको जिपलाई नै तत्काललाई एम्बुलेन्स बनाएर नागरिकको सेवामा प्रयोगमा ल्याएको छ ।

अमरगढी नगरपालिकासँग एउटा पनि एम्बुलेन्स थिएन । एम्बुलेन्स नहुँदा बिरामी ओसार्न निक्कै असजिलो भएको कारण यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । ‘तत्काल एम्बुलेन्स खरिद गर्ने बजेट पनि भएन, प्रक्रिया पनि लामो हुने रहेछ, हाम्रो गाडी छँदै थियो, त्यही गाडीलाई अहिले एम्बुलेन्स बनाएका छौं, पहिला नागरिकलाई बचाऊँ, गाडी त पछि चढौँला नि’, उहाँले भन्नुभयो ।

नगरपालिकाले एम्बुलेन्सको रुपमा अफिसियल गाडी प्रयोग गर्ने निर्णय मात्र गरेको छैन, नगरपालिकाको टिपरलाई तत्काललाई शववहानको रुपमा प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ । ‘आफैँसँग भएका स्रोत साधनको प्रयोग गरेर रोगसँग लड्ने तयारी गर्दै छौँ’, भण्डारीले भन्नुभयो ।

अन्य जिल्ला र डडेल्धुरा जिल्लाका पनि विभिन्न पालिकाबाट मानिस जम्मा हुने भएकोले अमरगढीमा संक्रमित दिनदिनै बढ्दै छन् । जिल्ला सदरमुकाम भएकोले त्यसै पनि मानिसको चाप छ । बुधबार साँझसम्म नगरपालिकामा १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । थप स्वाव परीक्षणको लागि पठाइएको छ । ‘संक्रमण बढ्दो छ, परिक्षण गरिएका मध्ये ६० देखि ६५ प्रतिशतलाई संक्रमण देखिएको छ’, संक्रमणको अवस्था बारे भण्डारीले भन्नुभयो ।

रोग नियन्त्रण र उपचारको लागि नगरपालिकाले थप तयारी पनि सुरु गरेको छ । नगरपालिकाको अक्सिजन सहितको आफ्नै आइसोलेसन बनाउने हिजो मात्रै निर्णय भएको छ । त्यस्तै संक्रमितको उपचारको लागि २० लाख रुपैँयाको कोष स्थापना गरिएको छ । ‘संक्रमण लम्बिँदै गयो र दीर्घरोगीले औषधी किन्न निस्कन नसक्ने अवस्था आयो भने नगरपालिकाले नै औषधी किनेर घरघरमा पुर्याउने योजना बनाएको छ ।

अहिले संक्रमण भएका बिरामीको अवस्था त्यती धेरै गम्भीर नरहेको पनि उहाँले बताउनुभयो । ‘हाम्रो नगरपालिकामा दुई/तीन जना बाहेक अरु त्यति धेरै सिरियस हुनुहुन्न, लक्षण देखिए पनि अहिले उहाँहरु होम आईसोलेसनमा बस्नु भएको छ, तर कुनै पनि बेला बिरामी बढ्न सक्छन् भनेर हामीले तयारी गरिरहेका छौँ’, उपप्रमुख भण्डारीले भन्नुभयो ।

जिल्ला सदरमुकामको अस्पतालमा धेरै पाहाडी जिल्लाका बिरामी समेत आउने भएकोले बिरामीको चाप हुने उहाँले जानकारी दिनुभयो । त्यसैले अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन । अस्पतालमा भेण्टिलेटरका बेड भरिएकाछन् । अक्सिजनको प्लाण्टले काम नगरेको अस्पतालले जानकारी दिएपछि अक्सिजन उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने भएको छ । ‘जिल्ला अस्पताको मात्र भर परेर हुने अवस्था छैन, त्यसैले नगरपालिका पनि तयारीमा लागेको छ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !