४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतबाट आउनेलाई राख्न आठ हाेटल सूचीकृत

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०२:२२


काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।

मन्त्रालयले क्वारेन्टिनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोट रहेका छन् । यी होटेलमा १० देखि ९१ कोठा उपलब्ध छन् । उल्लेखित होटलको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समयसमयमा अधावधिक गरी सरोकारवालालाई सूचित गर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति रु तीन हजारसम्म मात्र शूल्क लिनसक्ने गरी होटल दर कायम गरिएको छ । नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको पनि सूचनामा उल्लेख छ । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्को वैशाख १९ गते भएको बैठकले नेपाल र भारतबीच एयर बबल प्रणाली अनुसार सातामा बढीमा दुई उडान हुने र यसरी आउने यात्रुले यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचिकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कार्बाहीका लागि लेखि पठाउनुपर्ने छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको छ । कोभिड महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !