२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपेन्द्रले पार्टी समाप्त पार्ने खेल खेल्दै हुनुहुन्छ-लक्ष्मणलाल कर्ण

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार ११:२३


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले बाबुराम भट्टराईसँग मिलेर उपेन्द्र यादवले पार्टी नै समाप्त पार्ने खेल खेलेको बताउनुभएको छ ।

‘उपेन्द्र यादवले प्रचण्डलाई पार्टी बुझाउनुहोला की भन्ने डर भयो, त्यसैले पार्टी जोगाउन हस्ताक्षर संकलन गरिँदैछ’– नेता कर्णले भन्नुभयो ।

यादव लगायतका केही नेता बाहेक सबै नेता पार्टीलाई कसरी जोगाएर लैजान सकिन्छ भन्ने विषयमा चिन्तित रहेको कर्णले बताउनुभयो । ‘पार्टी जोगाउनका लागि हामी हस्ताक्षर संकलनमा खटिएकाछौं, केही बाहेक सबैको विचार पार्टी जोगाएर लैजाने भन्ने रहेको छ’ – कर्णले भन्नुभयो ।

उपेन्द्र यादवलाई पार्टीमा विश्वास गर्ने वातावरण नभएको कर्णको टिप्पणी छ । ‘उपेन्द्रजी मधेश आन्दोलनलाई बिर्सिएर जनआन्दोलनको गीतमा रमाउनु थाल्नुभएको छ, अब हामीले विश्वास गर्न सक्ने स्थिती छैन’– कर्णको भनाइ छ ।

यादवले मधेसी जनतालाई नै भ्रमित पार्न खोजेको उहाँले बताउनुभयो । ‘चाँडै नसुध्रिए दुर्घटना निश्चित छ’– कर्णले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन हस्ताक्षर संकलन गरिएको भन्ने कुरा गलत भएको पनि उहाँले दाबी गर्नुभयो । ‘त्यो विषयमा पार्टीभित्र आन्तरिक छलफल हुन्छ, सहमति गरेर हामी अगाडि बढ्छौँ, अहिले पार्टी जोगाउने विषय मुख्य हो, केही मान्छेका कारण पार्टी फुटको संघारमा छ’– कर्णले भन्नुभयो ।

जसपा फुटको बिउ उपेन्द्र यादवले रोपेको पनि कर्णको टिप्पणी छ । ‘पार्टीको बैठक नै नबसी उपेन्द्र यादवले हस्ताक्षर संकलन गर्नुभयो, उहाँले फुटको बिउ रोप्नु भएको छ, हामी फेरि मिलेर जाने कुरा गर्न हस्ताक्षर संकलन गरिरहेका छौँ’– उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेश सभाका चार जना सदस्यलाई उपेन्द यादवले अवैध तरिकाले एकलौटी रुपमा कारबाही गरी सांसद् पद नै खाली गराएपछि विवाद बढेको छ । सो विषयले संसदीय दल र कार्यकारणी समितिमा विवाद चुलिएको छ । केपी ओली नेतृत्वकोे सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषय पनि पार्टी त्यत्तिकै विवादित छ । जसपामा पार्टीभित्र अंक गणित र हस्ताक्षरको खेल समेत सुरु भएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !