२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म गुटगत राजनीतिमा लागेको छैन- समीना हुसेन

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ११:३२


काठमाडौं । ‘म गुटगत राजनीतिमा लागेको छैन, पार्टीको मूलधारमै छु’–नेकपा एमाले सांसद समीना हुसेनले भन्नुभयो । एमालेले माधवकुमार नेपालको गुटमा लागेर पार्टीहित विपरित काम गरेको भन्दै थप तीन जना सांसद्लाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण सोधिनेमध्ये एक हुनुहुन्थ्यो– समीना हुसेन ।

‘नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको थियो । म यस्तो गतिविधिमा लागेको कुनै प्रमाण नै छैन । म पार्टीका कार्यक्रममा मात्र सहभागी छु । समानान्तर कमिटीमा पनि बसेकी छैन, गुटका कार्यक्रममा पनि गएकी छैन’ – समीनाले यस संवाददातासँग भन्नुभयो ।

‘म एमालेको पक्षमा हो, गुटसुट केही पनि चिन्दिन, अपवाद बाहेक पार्टीका सबै कार्यक्रममा सहभागी छु, संसदीय दलको सबै बैठकमा उपस्थित भएकी छु’ – समीनाले भन्नुभयो ।

पार्टीको विधान विपरित कुनै गतिविधि आफूले नगरेको सांसद समीनाको भनाई छ । ‘पार्टीले जारी गरेका सबै निर्देशन पालना गरेकी छु, मुख्य कुरा भनेको पार्टी हो, पार्टीको हित विपरित गएको एउटा पनि प्रमाण भए म कारवाही सहन तयार छु’– उहाँले भन्नुभयो । पार्टी जोगाउन सबै नेता कार्यकर्ताहरुले एक ठाउँमा उभिनुपर्ने समीनाको भनाई छ । सबैले एकढिक्का भएर पार्टीलाई पुरानै अवस्थामा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

त्यस अघि एमालेले २७ जना सांसद्लाई स्पष्टिकरण सोधेको थियो । गुटमा लागेको प्रष्ट हुने गरी स्पष्टिकरणको जवाफ दिने माधवकुमार सहित कैयन नेतालाई एमालेले कारवाही गरिसकेको छ । समीनाले भने गुट त्यागेको प्रष्ट सन्देश र संकेत हुने गरी जवाफ दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयका एक अधिकारीले भने– ‘चित्तबुझ्दो र आफूलाई सच्याएको स्पष्टिकरण दिनुभएको छ । अब उहाँलाई कुनै कारवाही हुँदैन ।’

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !