४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०९:२२


काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

आज सुरु हुने भनिएको विशेष अधिवेशन बस्दै नबसी अन्त्य भएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको जानकारी आइतबार सूचना जारी गरेर दिनुभएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएपछि विशेष अधिवेशनको औचित्य समाप्त भएकाले अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय बमोजिम अधिवेशन अन्त्य गरिएको सूचनामा उल्लेख छ । आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादवसमक्ष सिफारिस गरेको थियो । ‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छु’– सूचनामा लेखिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका दुई सांसद्ले वैशाख ६ गते अविश्वास प्रस्ताव पेस गरेका थिए । सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन आजका लागि बोलाइएको थियो ।

विशेष अधिवेशन सुरु हुनु अघि आज बिहानै मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । पोखरेलले मुख्यमन्त्री पदबाट राजीना दिनुभएपछि आजै एमालेको एकल सरकार बनाउने गरी प्रदेश प्रमुख समक्ष एमाले संसदीय दलले दावी प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । तर प्रदेश सांसद् विमलाकुमारी खत्री वली माओवादीमा प्रवेश गरेपनि एमालेले बहुमत गुमाएको छ । वलीले फेसबुक पेजमा राख्नुभएको हस्तलिखित विज्ञप्तिमा आफू माओवादी प्रवेश गरेको उल्लेख छ ।

प्रदेश सभामा रहेका ८१ सदस्यमा एमाले एक्लैको ४१ सदस्य थियो । बिमला माओवादीमा लागेपछि अब एमालेसँग ४० सिट छ । कांग्रेसका १९, माओवादीका १९, जसपाका दुई र जनमोर्चाका एक जना सांसद् छन् । ८७ सदस्सीय प्रदेश सभामा ६ सिट रिक्त छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !