२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन हुने

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:२८


काठमाडौं ।  लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइएको हो । दिउँसो १ बजे बस्ने विशेष अधिवेशनको पहिलो बैठकमा अविश्वास प्रस्ताव पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका केही सांसद्ले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

माधव गुटका सांसद्ले धोका नदिए लुम्बिनीमा नेकपा एमाले एकल बहुमतमा छ । लुम्बिनीमा माधव गुटमा दुई सांसद् खुल्नुभएको छ  । यद्यपि माधव गुट निकट भनेर चिनिनुहुने सांसद् विष्णुप्रसाद पन्थीले आफू मुख्यमन्त्रीकै पक्षमा रहको बताउनुभएको छ । अविश्वास प्रस्ताव फेल गराएरै छाड्ने उहाँको दाबी छ ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद् छन् । तीमध्ये हाल ८१ सांसद् मात्र छन् । प्रदेश सरकारमा सहभागी भएका जसपाका चार सांसद्लाई उपेन्द्र यादव गुटले गैरकानुनी रुपमा पदमुक्त गर्दा चार सांसद्को पद हाललाई गुमेको छ ।

कीर्ते  कारबाहीमा परेका जसपाका चार सांसद् सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले कानुनी उपचार खोजिने बताइसक्नुभएको छ । सभामुखले कीर्ते सिफारिसका आधारमा उहाँहरुलाई पदमुक्त गराउनु भएको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सो कदम गैरकानुनी भएको बताइसक्नुभएको छ । सो विषयलाई लिएर जसपामा विवाद सुरु भएको छ ।  प्रदेश सभा सचिवालयले उहाँहरुको पद रिक्त गरिसकेकाले अब त्यसको छिनोफानो अदालतले गर्नेछ ।

कोभिड जोखिमका कारण बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य मुद्दा बैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरुको रिट दर्ता हुन सकेको छैन । अदालतमा रिट नै दायर नभएको अवस्थामा उहाँहरुले विशेष अधिवेशनमा भाग लिन पाउनुहुन्न । त्यस्तै माओवादीका दुई सांसद् पनि कारबाहीमा परिसक्नु भएको छ ।

प्रदेश सभा अब एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई र जनमोर्चाका एक जना सांसद् छन् । अविश्वास प्रस्ताव फेल गर्न ४१ सांसद् चाहिन्छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !