६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल पार्छाैं- विष्णुप्रसाद पन्थी

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ११:३६


काठमाडौं । ‘मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव असफल पारेरै छाड्छौं’– एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले भन्नुभयो ।

आइतबारदेखि सुरु हुने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव फेल–पास के होला ? भन्ने प्रश्नमा सांसद् पन्थीले त्यो भन्नुभएको हो ।

माधव गुटका सांसद्ले धोका नदिए लुम्बिनीमा नेकपा एमाले एकल बहुमतमा छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा थियो । तर माओवादी र जनता समाजवादी पार्टीका सांसद् कारबाहीमा परेपछि एमाले एक्लै बहुमत पुगेको हो ।

जसपा सांसद्लाई पार्टीले नभएर उपेन्द्र यादव गुटले गैरकानुनी कारबाही गरेको छ । कीर्ते  कारबाहीमा परेका जसपाका चार सांसद् सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले कानुनी उपचार खोजिने बताइसक्नुभएको छ । सभामुखले कीर्ते सिफारिसका आधारमा उहाँहरुलाई पदमुक्त गराउनु भएको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सो कदम गैरकानुनी भएको बताइसक्नुभएको छ । सो विषयलाई लिएर जसपामा विवाद सुरु भएको छ । उहाँहरु चारै जना लुम्बिनी सरकारको मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश सभा सचिवालयले उहाँहरुको पद रिक्त गरिसकेकाले अब त्यसको छिनोफानो अदालतले गर्नेछ ।

‘हामीसँग अहिले आफ्नै पार्टी एमालेको ४१ सिट छ, यो भनेको अविश्वास प्रस्ताव असफल गराउन पुग्ने मत हो, हामी अविश्वास प्रस्तावलाई असफल गराउँछौं’– पन्थीको भनाइ छ । जसपाका चार सांसद्बारे अदालतले निर्णय नगरेको अवस्थामा पनि एमाले बहुमतमै रहने सांसद् पन्थीले बताउनुभयो ।

जसपाका चार जना सांसद् सर्वोच्च अदालतमा रिट दर्ता गर्न काठमाडौं आउनुभएको भएपनि शुक्रबार रिट दर्ता हुन सकेन । कोभिड जोखिमका कारण बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य मुद्दा बैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरुको रिट दर्ता हुन नसकेको हो । अदालतमा रिट नै दायर नभएको अवस्थामा उहाँहरुले विशेष अधिवेशनमा भाग लिन पाउनुहुन्न ।

जसपा सांसद् नभएको अवस्थामा पनि एमालेलाई खासै फरक नपर्ने एमाले सांसद् पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘न्यायलयबाट निर्णय नआउँदासम्म उहाँहरु प्रदेश सभा सदस्य त हुनुभएन, पर्सीसम्म मतदान होला, अहिले सामान्य अंकगणित हेर्दा अविश्वास प्रस्ताव पेस गर्नेको पक्षमा बहुमत देखिँदैन, ८१ मा ४१ एमाले एक्लैको बहुमत हो ।’

तत्काल उपलब्ध सदस्य संख्यामा आफूहरुको बहुमत रहेको बताउँदै विष्णुले भन्नुभयो – ‘उहाँहरुको अनुपस्थितिले हामीलाई फरक पार्दैन, संसदीय प्रक्रिया अन्तर्गत जान्छ, फेरि पनि भन्छु अविश्वास प्रस्तावलाई असफल गराउँछौं ।’

लुम्बिनीमा पनि कर्णालीमा जस्तै माधव गुटका सांसद्ले फ्लोर क्रस गरेर सरकारलाई असफल गराउने हुन् कि भन्ने आशंका पनि छ । तर त्यस्तो नहुने माधव गुट निकट नेता समेत रहनुभएका सांसद् पन्थीले बताउनुभयो । सांसद् पन्थी यसअघिदेखि नै मुख्यमन्त्रीको पक्षमा हुनुहुन्छ ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद् छन् । तीमध्ये हाल ८१ सांसद् मात्र छन् । जसपाका चार सांसद्को टुंगो नलाग्दासम्म ६ सांसद्को पद रिक्त छ । माओवादीका दुई सांसद् कारबाहीमा परिसकेका छन् । प्रदेश सभा अब एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई र जनमोर्चाका एक जना सांसद् छन् ।



प्रतिक्रिया दिनुहोस !