१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हिउँ नपर्दा सुके गहुँ र जौ

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ११:३७


मुगु/जुम्ला — एउटा यामको परिश्रमलाई मौसमले साथ दिँदा खत्याड गाउँपालिका–८ का गणेश गिरीलाई वर्षभरि परिवार पाल्ने अन्न आफ्नै खेतबारीबाट ढुक्क थियो । पाँच वर्षअघिको जस्तो अवस्था अब रहेन ।
खडेरीले उराठ मुगुको सोरुकोट । तस्बिर : राजबहादुर शाही/कान्तिपुर
कहिले खडेरी, कहिले असिनापानी । अन्न उत्पादनमा ह्रास आएपछि उनलाई जीविका चलाउन धौ–धौ छ । उनका छिमेकी भूमिनन्द बुढाको अवस्था पनि उस्तै छ ।
याम अनुकूल वर्षा र हिमपात नहुँदा हिमाली बस्तीका धेरै किसान मर्कामा परेका छन् । यो वर्ष असोजयता खत्याडमा वर्षा भएको छैन । खडेरी लम्बिएर कारण बारीमा लगाएको गहुँ र जौ सुक्न थालेपछि खाद्यान्न अभाव हुने भन्दै किसान निराश बनेका हुन् । ‘खडेरीले अनाज उत्पादन हुनै छाड्यो,’ गिरीले भने, ‘अन्न उत्पादन घटेपछि तराईको सेतो चामलको मुख ताक्नुपर्ने बाध्यता छ ।’ पाँच वर्षअघि नौ मुरी गहुँ फलाएका उनले गत वर्ष मुस्किलले भार मुरी मात्र उत्पादन भएको बताए । एक दशकअघि सिमी र खुर्सानी फलाउने गाउँका बासिन्दाले अहिले बजारबाट खरिद गर्नुपर्ने बाध्यता भएको बुढाको भनाइ छ । गाउँको पाखोबारीमा चिनु, कागुनो र मास फल्न छोडेको छ । एक दशकअघिसम्म १८ मुरी मास, ३२ मुरी धान र १२ मुरी गहुँ फलाएका उनले गत वर्ष झन्डै आधाले उत्पादन घटेको गुनासो गरे ।
अनुकूल वर्षा र हिमपात नहुँदा जग्गा बाँझिँदै गएको स्थानीयको गुनासो छ । अन्न लगाए पनि रोगकिराको प्रकोप देखिने स्थानीय किसान कमल शाही बताउँछन् । ‘गाउँमा हिउँ परे र वर्षा भए सुबिकाल आउँछ,’ उनले भने, ‘सधैं खडेरी परेपछि कसरी बालबच्चा पाल्ने ?’
जलवायु परिवर्तनको प्रभावले हिमाली बस्तीमा हिउँ नपर्दा वर्षेनि उत्पादन घट्दै गएको कृषि विकास कार्यालयका प्रमुख कमल सुनारको भनाइ छ । ‘उर्भर भूमि बर्सेनि बाँझिँदै गएको छ,’ उनले भने, ‘अन्नबाली उत्पादनबाटै आत्मनिर्भर भएका किसानलाई पनि बाहिरको खाद्यान्न किन्नुपर्ने बाध्यता छ ।’ खडेरीले स्याउलगायत फलफूल र तरकारीमा पनि असर पारिरहेको उनले बताए ।
लेकतिर सर्‍यो बाली
हिमाली बस्तीमा गर्मी बढेपछि तराईमा उत्पादन हुने बालीहरू लेकतिर सर्न थालेका छन् । सबैभन्दा बढी हिउँ पर्ने मुगमकार्मारोङ गाउँपालिकाका धेरै बस्तीमा अहिले धान फल्न थालेको छ । चिसोले कोदो पनि नफल्ने बस्तीमा अहिले धान फल्न थालेको मुगमकार्मारोङ गाउँपालिका–९ का ७१ वर्षीय रनचन्द बडुवालले जानकारी दिए । ‘पहिले बाहिरको चामलले छाक टार्थ्यौं,’ उनले भने, ‘सात वर्षयता हाम्रै गाउँमा धान फल्न थालेको छ ।’ समुद्र सतहदेखि करिब २ हजार ८ सय ७२ मिटर उचाइको पापुगाउँका ८५ घरधुरीले नै धानबाली लगाउन थालेको उनले बताए । उनका अनुसार कोदो, चिनो, कानुनोलगायत अन्न फल्ने भिरालो पाखोमा अहिले धान फलिरहेको हो । गाउँमा टमाटर र काँक्रोसमेत फल्न थालेको उनको भनाइ छ ।
मुगमकार्मारोङकै चितैगाउँमा दुई वर्षयता खुर्सानी, टमाटर र भिन्डी फल्न थालेपछि स्थानीयबासी दंग छन् । ‘तराईमा फल्ने खुर्सानी अब हाम्रै बारीमा फल्न थाल्यो,’ स्थानीय सेरापसाङ्मु तामाङले भनिन्, ‘बरु कागुनो र चिनो माथिमाथि सर्‍यो ।’
हिउँ नपर्दा मुगुका प्रायः गाउँमा स्याउ फल्न छाडेको छ । स्याउ नफलेपछि अन्न लगाउन छाडेका किसानले फेरि अन्नबाली लगाउन थालेका छन् । स्याउ नफलेपछि बोटहरू काटेर फाल्नुपर्ने बाध्यता भएको छायानाथरारा नगरपालिका–५ का छत्त रावलले बताए । ‘स्याउ फल्दै फल्दैन, पोहर एकतिहाइ मात्र स्याउ फल्यो,’ उनले भने,’ ‘फलेको स्याउलाई पनि रोगकिराबाट जोगाउन मुस्किल छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार पाँच वर्षअघि मुगुमा ३८ टन स्याउ उत्पादन भएको थियो । गत वर्ष २१ टन मात्र स्याउ फलेको कार्यालयले जनाएको छ ।
जलवायु परिवर्तनको असरले प्रायः ठाउँका पानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुकेपछि गाउँहरूमा खानेपानी अभाव चुलिएको छ । एक दशकअघि राराताल वरिपरि झन्डै तीन सय पानीका मुहान थिए । अहिले करिब आधा मुहान खडेरीले सुकेको मुर्मागाउँका बिर्ख रोकायाले बताए । ‘पानीका मुहान सुक्दै गएपछि बस्तीहरू खोलाको छेउछाउ सर्न थालेका छन्,’ उनले भने, ‘पानीकै अभाव भएपछि जमिन पनि बाँझिदै गएका छन् ।’
सोरु गाउँपालिकाको सोरुकोट आसपासमा पनि करिब दुई दर्जन मुहान सुकेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘मुहान सुकेपछि प्रायः गाउँबाट खानेपानीकै योजना माग हुन थालेका छन्,’ उनले भने, ‘केही गाउँमा खडेरीले पानीको हाहाकार छ ।’ असोजदेखि वर्षा नहुँदा मुगुका किसानले कात्तिक महिनामा छरेको गहुँ र जौ पनि सुक्न थालेको छ । ‘पानी नपर्दा गाउँमा सुबिकाल आएन,’ सोरु गाउँपालिका–७ का टेक विष्टले भने, ‘यो वर्ष त गाउँमा हिउँ नै नपरेपछि सबै बाली सुक्न थाल्यो ।’
हिउँ कुर्दै किसान
माघ तेस्रो साता लागे पनि यो वर्ष जुम्लामा हिमपात भएको छैन । हिउँ नपरेपछि स्याउ, सिमी, गहुँ, जौलगायतको उत्पादन घट्ने भन्दै किसान चिन्तित छन् । हिउँ नपरेपछि यो वर्ष हिउँदे बालीसँगै स्याउ उत्पादनमा असर परेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जुम्लामा तीन हजार हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । ‘सबै क्षेत्रमा सिँचाइको पहुँच छैन,’ कार्यालय प्रमुख बालकराम देवकोटाले भने, ‘हिमपात नभएपछि कसरी स्याउमा सिँचाइ गर्ने भन्ने किसानको चिन्ता छ ।’ उनका अनुसार गत वर्ष सिँचाइकै अभावमा स्याउको उत्पादन झन्डै आधा घटेको थियो ।
दुई वर्षअघि स्याउबाट मात्रै करिब ३५ करोड रुपैयाँ भित्रिएको जुम्लामा गत वर्ष १६ करोड रुपैयाँको मात्रै स्याउ उत्पादन भएको थियो । समयमै हिमपात र वर्षा नहुँदा यो वर्ष पनि स्याउको उत्पादन घट्ने देवकोटाले बताए । ‘अहिले स्याउका बिरुवा काँटछाट गर्ने, बोडोपेस्ट गर्ने, नयाँ बिरुवा रोप्ने समय हो,’ उनले भने, ‘हिउँ नपर्दा सबै काम रोकिए ।’



प्रतिक्रिया दिनुहोस !