९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली ब्राण्ड हाे एमाले – काशीनाथ अधिकारी

प्रकाशित मिति :  १३ बैशाख २०७८, सोमबार १२:२४


रामेछाप । एमाले वाग्मती प्रदेश सहइञ्चार्ज काशीनाथ अधिकारीले कम्युनिष्ट आन्दोलनको सही परम्परा नै आजको एमाले भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप जिल्ला संगठन कमिटीको बैठक तथा सपथग्रहण कार्यक्रमलाई सोमबार मन्थलीमा सम्बोधन गर्दै उहाँले आजको एमाले हिजोको एमाले नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज नयाँ ढंगले पुर्नगठित भएको एमाले हाम्रो सामु छ ।’

आजको एमालेमा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि भएको बताउँदै अधिकारीले भन्नुभयो – ‘उहाँहरुको भौतिक उपस्थिति मात्र छैन, हिजोको माओवादीको असल परम्परा पनि आजको एमालेमा छ, नेपालको कम्युनिष्ट आन्दोलनको सही परम्परा आजको एमालेमा छ, यो नै नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार हो ।’

वैचारिक कामलाई अगाडि बढाउँदै अब पार्टीको शुद्धिकरण र सुदृढिकरणमा लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । एमालेले लिएको जनताको बहुदलिय जनवाद नेपालको राजनीतिमा आफ्नै देशमा मौलिक रुपमा विकास भएको विचार भएको उहाँले बताउनुभयो । ‘नेपालका सबै कम्युनिष्ट आन्दोलन व्यवहारतः जनताको बहुदलिय जनवादको धारबाट अघि बढेका छन्, शब्दमा उनीहरुले भनुन–नभनुन्, व्यवहारमा सबै जबजमा आइसके, पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमा जबज र एमाले सबैभन्दा लोकतान्त्रिक विचार र पार्टी बनेको छ । त्यसलाई कांग्रेसले समेत अनुसरण गर्दै छ’ – उहाँले भन्नुभयो ।

एमाले देशको जिम्मेवार पार्टी भएको भन्दै उहाँले कार्यकर्तालाई पनि जिम्मेवार हुन आग्रह गर्नुभयो । ‘अरुलाई गैरजिम्मेवार हुन पनि छुट छ, हामीलाई गैरजिम्मेवार हुन छुट छैन, यसमा यहाँहरु सचेत हुनुस्, एमाले र यसका कार्यकर्ता नेपालका ब्राण्ड हुन्’, उहाँले भन्नुभयो ।

विखण्डनवादी सोच र विचारको खण्डन गरेर अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । पार्टीको संगठनात्मक कामलाई व्यवस्थित गरी पार्टीको अधिवेशन, स्थानीय र संसदीय चुनावमा लाग्न समेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘फागुनमा स्थानीय तहको चुनाव हुन्छ, उस्तै पर्‍यो भने त्यतिबेलासम्म संघको पनि अर्ली इलेक्सन हुन्छ, त्यसैले तयारीमा लाग्नुस्’ – उहाँले भन्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले नागरिकमा बढेको निराशालाई अन्त गर्न सफल भएको समेत अधिकारीले बताउनुभयो । वर्तमान सरकारले सुस्पष्ट समृद्धिको खाका बनाएर विकासको काम अघि बढाएको उहाँले बताउनुभयो । ‘केपी ओली नेतृत्वको सरकारका कारण यो देशमा आशा पलाएको छ, एउटा युगिन परिवर्तनमा फड्को मारेको छ’ –अधिकारीको भनाइ छ । ओलीको कारण यो देशको राजनीति बदलिएको भन्दै उहाँले ओली नभएको भए अहिलेको संविधान नै नआउने बताउनुभयो ।

केपी ओलीको अनुपस्थितिकै कारण पहिलो संविधानसभाले संविधान दिन नसकेको उहाँले बताउनुभयो । ‘राजनीति परिवर्तनको नेता, राष्ट्रियताको नेता, केपी ओली हो भन्ने उहाँको राष्ट्रियताप्रतिको अडानले स्थापित गरेको छ’– अधिकारीले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी

 



प्रतिक्रिया दिनुहोस !