३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यी हुन् एमाले बैठकका महत्वपूर्ण निर्णय

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार १०:२७


काठमाडौं । नेकपा एमालेको १० महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीविरुद्ध काम गर्नेलाई कारबाही लगायत महत्वपूर्ण निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर गतिविधि गर्नेहरुलाई ती गतिविधि रोक्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले समानान्तर गतिविधि गर्ने नेताहरुलाई ती गतिविधि रोक्न आग्रह गर्ने निर्णय गरेको एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘भुलवस समान्तर कमिटीमा बसेकालाई त्यसबाट अलग हुन, जनप्रतिनिधिलाई मत दिनेलाई मतदाता र आफ्नो पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ ।’ पार्टी हितविपरित काम गर्नेहरुलाई कहिलेसम्म कस्तो कारबाही गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भन्नुभयो – ‘कर्णालीमा फ्लोर क्रस गर्ने सांसद्हरुलाई कडा कारबाही भयो, हामी चाहान्छौं अरुलाई त्यो अवस्था नआहोस् ।’ गुटमा लागेका नेताहरु मूलधारतिरै फर्कने क्रम बढेको बताउँदै उहाँले भन्नुभयो – ‘गुटगत गतिविधि छाडेर आए पार्टीमा उहाँहरुलाई ठाउँ दिइनेछ ।’
राष्ट्रिय सभाको उपचुनावमा रामबहादुर थापालाई उम्मेदवार बनाउन लाग्नुभएको भन्ने प्रश्नमा ज्ञवालीले भन्नुभयो – ‘सम्भावना बढी छ, तर औपचारिक निर्णय भएको छैन ।’

अप्ठ्यारो अवस्थामा पनि दृढतापूर्वक पार्टीको पक्षपोषण गर्नेलाई धन्यवाद दिने दोस्रो प्रस्ताव बैठकले पारित गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी जेठमा हुने राष्ट्रिय सभाको उपचुनावको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
बैठकले सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिको स्वागत गरेको बताउँदै उहाँले भन्नुभयो – ‘यो सहमति ऐतिहासिक भएको एमालेको ठहर छ, सहमतिको वातावरण तयार गरेकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।’

पाँचौ प्रस्तावमा कोरोना महामारीको विषय समेटिएको ज्ञवालीले बताउनुभयो । विगतमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको राम्रो काम गरेको निष्कर्ष बैठकले निकालेको उहाँले बताउनुभयो । सरकारले कोरोनाविरुद्धको खोप लगाउने अभियान थालेको पनि उहाँले स्मरण गराउनुभयो । अहिले पनि कोरोना रोकथामलाई अझ प्रभावकारी बनाउनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । छैटौं प्रस्तावमा पनि कोरोनाकै विषय समेटिएको बताउँदै उहाँले  कोरोनाविरुद्धको लडाईं सफल पार्नका लागि पार्टीका नेता कार्यकर्तालाई खटाउने स्वयम्सेवकका रुपमा निर्णय भएको उहाँले बताउनुभयो । ‘क्वारेन्टीन निर्माण, आइसोलेशन निर्माण लगायत काममा पार्टीका नेता कार्यकर्तालाई खटाउने निर्णय भएको छ’– उहाँले भन्नुभयो ।

पार्टीका कमिटीमा महिला सहभागीताबारे पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता ज्ञवालीले यसमा आफूहरु गम्भीर भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हो महिला सहभागिता न्यून छ यसमा हामी गम्भीर छौं, बैठकमा यो विषयमा कुरा उठेको छ, निकट भविष्यमा सबै कमिटीमा महिलालाई ठाउँ दिइनेछ ।’

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !