६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन शताब्दी पुरानो सिद्धिदात्री भगवती कोत मन्दिरको पुनः निर्माण

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०२:५९


????????????????????????????????????

गलेश्वर । तीन शतान्दी पुरानो इतिहासको साक्षी बनेको म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको सिद्धिदात्री भगवती कोत मन्दिरको पुनःनिर्माण गरिएको छ ।

तत्कालीन पर्वत राज्यअन्तर्गतको ऐतिहासिक डढेकोट दरबारसँग सम्बन्ध राख्ने कोत मन्दिरको पुनःनिर्माण पछि रामनवमी पर्वको अवसर पारेर उद्घाटन गरिएको हो । तत्कालीन पर्वते राजा डिम्वबम मल्लले शक्तिस्वरूपा देवीको पूजाआजा गर्ने र हातहतिहार भण्डारण गर्ने ठाउँलाई पुनःनिर्माण गरी चिटिक्क बनाएर सिद्धिदात्री भगवती कोत मन्दिर नामकरण गरिएको हो ।

यस कोतको इतिहास राजा डिम्वबम मल्लको विरासतसँग जोडिएको छ । डिम्वबम मल्लले डढेकोट दरबार नजिकै कोतघर बनाएर नित्य पूजाआजा गर्नुका साथै हातहतियार भण्डारण गर्ने तत्कालीन कोत डढेकोट दरबारमा आगलागी हुँदा डढेर नष्ट भएको थियो । नेपालको संक्षिप्त इतिहास नामक पुस्तकमा उल्लेख भएअनुसार ढोलठान तत्कालीन पर्वत राज्यअन्तर्गतको सबैभन्दा शक्तिशाली राज्य थियो ।

यहाँका राजा डिम्वबम मल्लले ढोलठानलाई ग्रीष्मकालीन र बेनीलाई शीतकालीन राजधानी बनाएका थिए । गर्मीमा ढोलठान र जाडोमा बेनीको दरबारमा बसेर राज्य सञ्चालन गर्ने गरेका प्रशस्तै प्रमाण भेटिएका इतिहासकार चन्द्र बानियाँले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा प्रचलित ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ लोकगीतले पनि राज डिम्वबम कहिले बेनी र कहिले ढोलठानलाई राजधानी बनाउथे भन्ने कुराको पुष्टि गर्दछ ।

विसं १८४२ मा  दोस्रो पटक बहादुर शाहले गोरखा र पाल्पाको संयुक्त फौज पठाई पर्वते सेनालाई पराजित गरेपछि पर्वत राज्यलाई विशाल नेपालमा गाभ्न सफल भए । यस्तो दर्बिलो र गर्विलो इतिहास रहेको ऐतिहासिक विरासतको स्थल डढेकोट दरबार अहिले भने अलपत्र अवस्थामा रहेको स्थानीय वुद्धिजीवी नीलकण्ठ शर्माले जानकारी दिनुभयो । राजा डिम्वबम मल्लले पुरातात्विक शैलीमा निर्माण गरेको दरबारमा आगलागी भएपछि उनले ढोलठानमा पुनः अर्को दरबार बनाएर तल सरेका र आगो लागेर डढेकोले पुरानो दरबार रहेको ठाउँलाई डढेकोट दरबार भनिएको स्थानीय शिक्षक एवं बुद्धिजीवी शिव बानियाँले बताउनुभयो ।

डढेकोट दरबार रहेको ठाउँका ढुङ्गा र पर्खाल अहिले अलपत्र अवस्थामा रहेका छन् । दरबार नजिकै रहेको कोत भने स्थानीयवासीले सुरक्षित राखेका छन् । त्यो कोतमा विभिन्न आकृतिका ढुंगाका मूर्ति, त्रिशूललगायतका पुरातात्विक सामग्री अहिलेसम्म पनि सुरक्षित छन् । आगलागी भएपछि सो कोत कसले कहिले पुनःनिर्माण गरेको हो भन्ने कुरा खुल्न सकेको छैन ।

त्यहाँका स्थानीयवासीले यस्तो ऐतिहासिक कोतको संरक्षण गर्नुपर्छ भन्ने मनसायले ०२४ साल असोज १८ गते सोही स्थानमा कोत मन्दिर स्थापना गरी पूजाआजाको थालनी गरेको मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष रामप्रसाद पौडेलल बताउनुभयो । त्यसपछि सो मन्दिर जीर्ण भएकाले ०७६ साल चैत २६ गते शिलान्यास गरी अहिलेको भव्य मन्दिरको पुनःनिर्माण शुरु गरिएको थियो । यो मन्दिरमा ५० वर्ष पुरानो दुर्गा भगवतीको मूर्ति राखिएको छ भने शिरमा ढुङ्गाको गजुर हालिएको छ ।

डढेकोट राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशसभा सदस्य विनोद केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य केसीले पुलाचौर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले धार्मिक क्षेत्रको विकासमा भविष्यमा थप सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बेनी नगरका प्रमुख श्रेष्ठले नगरभित्र रहेका सयौँ वर्ष पुराना धार्मिकस्थलको मर्मत तथा जीर्णोद्धारका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो ।

मन्दिरको उद्घाटन कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका सचिव एवं मन्दिरका सल्लाहकार माधवप्रसाद रेग्मी एवं कार्यवाहक वडाध्यक्ष रामप्रसाद सुवेदीले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा पण्डित टीकानान्द सुवेदीले भगवती महिमाका बारेमा प्रवचन दिनुभएको थियो ।

पुरानो तथा ऐतिहासिक महत्व बोकेको कोत जीर्ण अवस्थामा पुगेपछि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयवासीको आर्थिक सहयोगसहित कूल ४३ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो  ।

– रासस



प्रतिक्रिया दिनुहोस !