४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीतिमा राम: ओलीको नीति र प्रचण्डको रणनीति

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार १४:४३


भरतपुर । घरघरमा स्वागतका लागि घडा थियो, हजारौंले गेरु वश्त्र लगाएका थिए, माहौल राममय थियो । काठमाडौंको बालुवाटारदेखि धादिङ हुँदै चितवनसम्मको सडक दुई दिन राममय बन्यो ।

ad

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष ‘राम नेपालमै जन्मिएका हुन्’ भन्ने अभिव्यक्ति दिनुहुँदा यस्तो तरंग आउला भन्ने शायद थोरैले मात्र सोचेका थिए । तर, मंगलबार राम, सीता, लक्ष्मण र हनुमानका विशाल प्रतिमा बोकेका चारवटा बालुवाटार र शितलनिवास हुँदै चितवनसम्म पुग्दा मुलुक नै राममय बन्न पुग्यो ।

राम र राजनीति जोडिन थालेको हो नेपालमा ? चितवनको माडीमा बुधबार दिनभरी यो प्रश्न उठिरह्यो । प्रधानमन्त्री ओलीले तयार पार्न लगाउनुभएको राम, सीता, लक्ष्मण र हनुमानका प्रतिमा बुधबार माडीको अयोध्यापुरीमा स्थापित गरियो । सो समारोहमा धर्मभीरुहरु त थिए नै, राजनीतिकर्मीहरु अत्याधिक थिए । समारोहको मञ्चमा धर्म र आध्यात्ममा लागेकाहरु थोरै थिए, राजनीतिकर्मी धेरै थिए । त्यतिमात्र होइन, समारोहमा उपस्थित हजारौंको भीडमा अधिकांश एमाले थिए भन्ने प्रष्टै बुझिन्थ्यो ।

प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएका हुन् भनेर धर्मशास्त्रीय कुरा गर्नुभएको थियो । गतवर्ष उहाँको अभिव्यक्ति धर्मशास्त्र र भूगोलको आधारमा निर्देशित थिए । तर, राजनीतिकर्मीले जे बोले पनि राजनीति नै हुन्छ । ओलीका अभिव्यक्तिलाई राजनीतिक रंग दिने प्रयास गरियो । केही दिन राष्ट्रिय राजनीति ओलीका विचारले तातिएको थियो । तर, राजनीतिमा नयाँनयाँ मुद्दा, विवाद र फण्डा आइरहन्छ, एउटा चर्चित इश्युलाई नयाँ इश्युले विस्थापित गरिदिन्छ । राम, राजनीति र केपी ओली गाँसिएको इश्यु पनि क्रमश ओझेलमा परेको थियो ।

बुधबारदेखि राम, राजनीति र केपी ओली इश्यु फेरि जागेको छ । गत वर्षभन्दा जबर्जस्त रुपमा जागेको छ । अहिले यो इश्यु फेरि जाग्नुमा चारवटा प्रतिमा र रथयात्राको भूमिका छ नै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि राम्रै भूमिका छ ।

गत वर्ष ओलीले ‘राम नेपालमै जन्मिएका हुन्’ भन्नुभएपछि प्रचण्डले खिल्ली उडाउनुभएको थियो । पुरातात्विक उत्खन्नन्का आधारमा प्रमाणित गर्नुपर्छ भन्नुभएको थियो । तर, रामको जन्म पुरातात्विक उत्खन्नन्ले नभएर शास्त्रीय उत्खन्नन्ले मात्र हुनसक्छ भन्ने यस बीचमा धेरैले बुझे । प्रचण्ड सहित उहाँको टिमले ओलीलाई यो प्रकरणमा लखेट्नसम्म लखेटेको थियो । एक वर्षभित्रमा राम प्रकरणको पासा मज्जैसँग पल्टियो । राम जन्मभूमिको विकासमा म पनि लाग्छु भनेर प्रचण्डले गत साता माडीमा गएर भाषण गर्नुभयो । अर्थात्, राम प्रकरणमा ओलीको लाइनमा प्रचण्ड आइपुग्नुभयो ।

प्रष्ट छ– ओलीपथमा लाग्नुमा प्रचण्डको रहर या भित्री विश्वासले काम गरेको छैन । भोटले काम गरेको छ । प्रचण्डको चुनाव क्षेत्र हो माडी । माडीमा गत वर्ष ओलीको कुरा अर्थात् राम माडीमा जन्मिएको कुरा पत्याउने थोरै मात्र थिए । माडीका मेयर ठाकुर ढकाल (माओवादीबाट निर्वाचित)ले मिलाई मिलाई ओलीको कुराको विरोध गर्नुभएको थियो । माडी क्षेत्रका माओवादीहरुले राम जन्मभूमिलाई ओझेल पार्न सुकुम्वासी समस्यालाई उठाएका थिए । तर, एक वर्षमा पासा पल्टियो ।

राम जन्मभूमिमा राम मन्दिर बनाउन जग्गा दिन माडीका मेयर तयार हुनुपर्यो । उहाँलाई पनि चाहिएको भोट नै हो । उता, प्रचण्डलाई पनि चाहिएको भोट नै हो । एक वर्ष बीचमा जनता राम जन्मभूमिको पक्षमा उभिए । माडी क्षेत्रमै राम जन्मिएका हुन् भन्ने शास्त्रीय प्रमाणहरु बग्रेल्ती आए । जनविश्वास बढ्दै गयो । तर, यो कुराको उठान गर्नुभएको थियो ओलीले । प्रचण्ड र माओवादीलाई समस्या यहिँनेर पर्न गयो । राम माडीमा जन्मिएका हुन् भन्ने ठाडै स्वीकार गर्दा ओलीको पछाडि लागेजस्तो हुन्, अस्वीकार गर्दा जनताबाट तिरस्कृत भइने । यो द्धिविधाको समाधान प्रचण्डले राम्रोसँग अझै गरिसक्नुभएको छैन ।

बुधबार माडीमा आयोजित भव्य समारोहमा मेयर ठाकुर ढकाल हुनुहुन्थ्यो तर माओवादीका नेता कार्यकर्ता खासै आएको देखिएन । यो क्षेत्रका सांसद् प्रचण्ड नै गायब हुनुहुन्थ्यो । प्रचण्ड किन आउनुभएन ? सोधीखोजी गर्दा के थाहा भयो भने आयोजकहरुलाई प्रचण्डले ‘समय अभावका कारण आउन सकिन तर राम जन्मभूमि बनाउन, मन्दिर बनाउन सबै किसिमको सहयोग गर्छु’ भन्नुभएछ ।

राम ‘धर्म’ हो भने त्यसलाई स्वीकार गर्न प्रचण्ड तयार हुनुभयो, राम ‘राजनीति’ हो भने त्यसलाई पनि उपेक्षा गर्न सक्नुभएन प्रचण्डले । अर्थात्, रामको भेलमा हेलिन प्रचण्ड वाध्य हुनुभएको छ । राममय चितवनमा चुनाव लड्न राम विरुद्ध उभिन हुँदैन भन्ने वाठा प्रचण्डले बुझ्नुभयो । तर, पूरै समर्थनमा पनि उहाँ उत्रनुभएको छैन ।

बुधबार बिहान रामनगरमा रेणु दाहालको खोजी भएको थियो । मंगलबार काठमाडौंबाट हिँडेको रथयात्रा सो रात देवघाटधाम बसेको थियो । बुधबार बिहान रथयात्रा देवघाटबाट माडी हिँडेको थियो । देवघाटबाट केही माथि राजमार्गमा छ रामनगर । त्यहाँ बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेल आइपुग्नुभयो, प्रदेश दुईका प्रमुख डा. राजेश अहिराज पनि आइपुग्नुभयो । सबैले सोध्न थाले– रेणु दाहाल खोई ? सोध्नुको कारण थियो– देवघाट र रामनगर भरतपुर महानगरपालिकामा पर्छ जसको मेयर हुनुहुन्छ प्रचण्डकी छोरी रेणु दाहाल ।

उपमेयर गीता शाहको भनाई थियो– एउटा कार्यक्रममा काभ्रे गएकी थिएँ, मंगलबार राति मात्र भरतपुर आइपुगे, थाहा भएको भए रथयात्रामा आउने थिएँ । गीतालाई थाहा भएन होला तर रेणु भने भरतपुरमै हुनुहुन्थ्यो, उहाँले रामको राजनीतिक भेलमा हेलिन पूरै आँट गर्नुभएन ।

अर्थात्, भविष्यमा रामको राजनीतिबाट टाढा बस्न सकिँदैन भन्ने प्रचण्डले बुझ्नुभयो तर पूरै हेलिन सक्नुभएन । छोरी रेणुले भने बुवाले जति आँट गर्न सक्नुभएन । यो पनि हुनसक्छ– पितापुत्रीले सल्लाह नै गरेर पिता रामतिर आधा पाइला लम्किने, पुत्री चाहिँ चुपचाप बस्ने काम भएको हुनसक्छ । फलतः रामको राजनीति एमालेले एकलौटी पारिदियो ।

काठमाडौं, धादिङ, चितवनमा रामसीता रथयात्रामा जुन भीड देखियो, त्यो भीडको श्रेय माओवादीले पनि लिने हो कि भन्ने चिन्ता एमालेलाई कति थियो भन्ने आकलन गर्न सकिन्न । तर, रामको राजनीति भने एमालेले एकलौटी पार्यो । चितवनको धार्मिक पर्यटन र हिन्दूवादी भोटमा एमालेले राम्रैसँग हात लम्काएको छ । यसमा के पनि हेक्का राख्नुपर्ने हुन्छ भने ओलीले रामको राजनीति गर्न खोजकै हो भन्न सकिने अवस्था छैन, किनभने, उहाँ यस्ता धर्मशास्त्रीय कुरा गरिरहनुहुन्छ ।

विगतमा ‘बुद्ध वाज वर्न इन नेपाल’ अभियानको फाइदा एमालेले नै लिएको थियो, त्यो अभियानको अगुवाई एमाले नेता कार्यकर्ताले नै गरेका थिए । अब चल्ने ‘राम वाज वर्न इन नेपाल’ अभियान पनि एमालेकै एकलौटी हुने अवस्था आएको छ । राम वाज वर्न इन नेपाल अभियान खोस्न या त्यसमा हिस्सा लिन माओवादी र नेपाली कांग्रेसले कति प्रयास गर्छन् र कसरी गर्छन् भन्ने भविष्यकै गर्भमा छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !