६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब प्रचण्ड एक्लै जिम्मेवार, ‘सामाजिक शक्ति’ आविष्कार

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ११:०७


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रले फेरि एकपटक प्राधिकार बनाएको छ । विगत जनयुद्ध कालमा ‘प्रचण्डपथ’ घोषणा गर्दै प्रचण्डलाई एकमात्र र एकछत्र नेता घोषणा गरेको थियो । अहिले माओवादी त्यही बाटोमा जान थालेको छ ।

प्रचण्ड एक्लैले…

माओवादी स्थायी समितिको आज बसेको बैठकले प्रचण्डको हातमा अधिकार केन्द्रीत गरेको हो । अहिले माओवादीका लागि मूल विषय भनेको एमाले सरकार ढाल्न सरकारलाई दिएको समर्थन फिर्ता लिने हो । यो विषयमा निर्णय गर्ने जिम्मेवारी प्रचण्डले एकल रुपमा पाउनुभएको हो । स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने एकल अधिकार अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

‘सरकारलाई दिइएको समर्थन फिर्ता लिएको भनी लिखित जानकारी दिने काम कहिले गर्ने भन्ने निर्णय गर्ने जिम्म अध्यक्ष प्रचण्डलाई दिइएको छ’– नारायणकाजीले भन्नुभयो ।

को हो सामाजिक शक्ति ?

माओवादीले सबै राजनीतिक पार्टी बाहेक सामाजिक शक्ति र देशभक्त शक्तिसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकपछि नारायणकाजीले भन्नुभयो– ‘सामाजिक शक्ति र देशभक्त शक्तिसँग पनि छलफलको प्रकृया अगाडि बढाउँछौं ।’

सामाजिक शक्ति भनेको को हो भन्ने उहाँले खुलाउनुभएन । माओवादीको यो निर्णय हेर्दा उसले सामाजिक शक्तिका रुपमा कुनै समूहलाई परिचालन गर्ने अनुमान गरिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालमा देशप्रति द्रोहभाव जगाउँदै लेख्नेहरु, नकारात्मक वातावरण बनाउन उद्यत केही लेखक तथा अराजकतावादी बुद्धिजीवीहरुको समूहलाई नै सामाजिक शक्तिका रुपमा मान्यता दिइने छ ।

माओवादीले यस अघि कहिले पनि ‘सामाजिक शक्ति’ शब्दावली प्रयोग गरेको थिएन । 

बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखेको पनि उहाँले जानकारी दिनुभयो । लोकतान्त्रिक शक्तिहरुको एकता, सच्चा कम्युनिष्टहरुको एकता र कम्युनिष्ट आन्दोलनलाई ध्यानमा राखेर नीति तथा विचार अगाडि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी

 



प्रतिक्रिया दिनुहोस !