९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सिध्याउँन खोज्नेलाई कारबाही हुनैपर्छ – गंगा चौधरी

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार १०:३२


काठमाडौं । ‘पार्टीभित्र बसेर पार्टीलाई नै सिध्याउन खोज्नेहरुलाई एमालेले छाड्नु हुँदैन, कारबाही गर्नैपर्छ’–  एमाले सांसद् गंगा चौधरी सत्गौवाको भनाइ छ ।

पार्टी संसदीय दलले माधव गुटका २७ सांसद्लाई स्पष्टिकरण सोधेको प्रसंगमा गंगाले त्यसो भन्नुभएको हो । गुटगत राजनीतिको अन्त्य गर्न पार्टीका केही नेतालाई कारबाही गर्नुपर्ने देखिएको भन्दै उहाँले पार्टी जोगाउनुपर्ने बताउनुभयो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले फुटको राजनीति गर्नेलाई अंकुश लगाउन खोज्नु राम्रो पक्ष भएको गंगाले बताउनुभयो । ‘गलत काम गर्नेलाई सही बाटोमा आउ भन्नु राम्रो कुरा हो,  फुटको राजनीति गर्न खोज्नेलाई अंकुशी लगाएर मूल पार्टीमा फर्काउँनुलाई फुटको राजनीति भन्न मिल्दैनँ, अध्यक्षमाथि यस्तो आरोप लगाउनु गलत हो’ – गंगाले भन्नुभयो ।

पार्टी हित विपरित काम गर्ने, सामान्तर गतिविधि गर्ने र एमाले सिध्याउछु भन्नेहरुलाई कारबाही हुनैपर्ने गंगाले बताउनुभयो । ‘पार्टीविरुद्ध लाग्नेलाई कारबाही गर्नु विधि र पद्धतिको पालना गर्नु हो, समानान्तर गतिविधि गर्नु गलत हो, आफ्नै पार्टीको सरकारविरुद्ध जानु अझ गलत हो, गल्ती गर्नेलाई सजाय दिनुपर्ने पार्टीको विधि छ पद्धति छ त्यो अनुसार कारबाहीको दायरामा ल्याउँनुपर्छ’ – गंगाको भनाइ छ ।

तपाईं त माधव गुटको पक्षमा होइन र ? भन्ने प्रश्नमा गंगाले भन्नुभयो – ‘मैले संस्थापन–विस्थापन कुनैपनि पक्षबाट राजनीति गरेको थिइनँ र गर्दिनँ, कसले भन्यो मलाई माधव गुटको नेता भनेर ? म एमालेको नेता हूँ ।’

मंगलबार माधव गुटले गरेको भेलामा तपाईं पनि जानुभएको भन्ने हल्ला थियो त ? भन्ने प्रश्नमा गंगाले भन्नुभयो – ‘म अर्याल होटलमा माधव गुटले गरेको कुनै पनि बैठमा गएको छैन्, त्यहाँ सिसिक्यामेरा होला गएर हेर्न सक्नुहुन्छ, म दलको बैठकमा बालुवाटार गएकी छु, गुटको बैठकमा कतै गएकी छैन ।’ गुटगत राजनीतिको अन्त्य गर्दै एमालेलाई सुदृढ बनाएर लैजानुपर्ने भन्दै उहाँले गुट बनाउन खोज्नेलाई पार्टीले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

एमालेले माधव गुटका २७ प्रतिनिधि सभा र ५ जना प्रदेश सभा सदस्यलाई पार्टी हितविपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेको छ । जसमा माधव गुटमा रहेका ३५ मध्ये ८ जना सांसद्को नाम भने छैन । जसमा चौधरीसहित गोकर्ण विष्ट, राजबहादुर बुढा, ध्रुव शाही, पार्वतीकुमारी विसुङखे, कलिला खातुन, समिना हुसेन र विना बुढाथोकी हुनुुहुन्छ ।

 

– आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !