६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १२:३१


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितकाे  संख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना संक्रमित भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार एक सय ७०संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार  सात सय ६१ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको मंगलबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या एक लाख ८० हजार पाँच सय ३० पुगेको देखिएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या भने २० लाख ३१ हजार भन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या एक करोड ३१ लाख ८ हजार पाँच सय ८२ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा सोमबार मात्रै १५ लाख १९ हजार ४८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार पाँच सय जना कोरोना भाइरस संक्रमित भएका एक सय ६१ जनाको ज्यान  गएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !