४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वदलीय बैठक : कोरोना, एमसीसी र उपचुनावबारे छलफल

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ०८:५६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा कोरोना महामारी नियन्त्रण, रिक्त रहेका ठाउँमा उपचुनाव, सदनमा अड्किएका विधेयक, एमसीसी लगायत विषयमा छलफल भएको हो ।

यी विषयमा केन्द्रित रहेर छलफल गरिएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको हो । यी सबै विषयमा राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्नुपर्ने विचार बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । कोरोना संक्रमण बढेका बेला एकजुट भएर यसको रोकथाम र नियन्त्रणका लाग्न प्रधानमन्त्री ओलीले सबै दललाई  आग्रह गर्नुभयो, के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर सुझाव पनि लिनुभयो’–ज्ञवालीको भनाइ छ ।

ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई सहयोग नगर्नुभएको बताउनु भएको थियो । सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको प्रधानमन्त्रीले जानकारी गराउनु भएको थियो । ‘सभामुखले तजविजी अधिकार प्रयोग गरेर सदनको विजनेसलाई लामो समय रोक्न नहुने कुरा प्रधानमन्त्री ओलीले बताउनुभयो’– ज्ञवालीले भन्नुभयो ।

एमसीसीबारे पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो । एमसीसीलाई अगाडि बढाउनुपर्नेमा सबै दल सकारात्मक रहेका मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

ती बाहेक दलहरुबीच साझा समस्यामा बेला बेलामा छलफल गर्नुपर्ने विषयमा पनि बैठकमा कुराकानी भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । राष्ट्रियताका सवालमा सरकार दृढ उभिएको र सधै उभिने पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !