१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काममा ढिलासुस्ती गर्नेसँग सरकारले क्षतिपूर्ति लिन्छ – प्रम ओली

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०९:५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि क्षेत्र र आयोजना निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा उहाँले भन्नुभयो – ‘कुनै पनि क्षेत्रकाे काममा ढिलासुस्ती गरेको सरकारलाई मान्य छैन र हुँदैन, ढिलासुस्ती गर्ने, काममा व्यवधान खडा गर्नेहरुविरुद्ध सरकार चुप लाग्दैन, ढिलासुस्ती गरे उनीहरुबाट क्षतिपूर्ति समेत लिन्छाैं ।’ विकास निर्माणलाई पनि प्रविधिसँग जोडेर ढिलासुस्ती रोक्न योजना बनाएर काम गरिरहेकाले ढिलासुस्ती सह्य नहुने उहाँले बताउनुभयो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक ढिलासुस्ती भएको भन्दै उहाँले समयमै काम सक्न निर्देशन दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा पनि ढिलासुस्ती गर्न खोजिएकोमा ताकेता गरेर काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा आउने थिएन, हरेक दिन ताकेता गरेर त्यो काम सकिएको हो माथिल्लो तामाकोशी आयोजनाको काममा पनि ढिलासुस्ती भइरहेको छ, अब ढिलासुस्ती सह्य हुँदैन, प्रधानमन्त्री किन काम भएन ? त्यसको छानबिन हुन्छ ।’ आयोजनामा ढिलासुस्ती हुँदा राज्यलाई दैनिक १३ करोड घाटा भइरहेको समेत उहाँले बताउनुभयो ।

प्रविधिको विकास भए देशको विकास पनि फटाफट हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘देश विकासलाई तिब्रता दिन प्रविधिको विकासमा ध्यान दिनुपर्छ ।’

सरकारले अब लगानी र प्रविधि मात्र आयात गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘कृषिमा आधारित प्रविधि सुचारु गरेर सबैभन्दा पहिले कृषिमा आत्मनिर्भर हुन जरुरी छ, प्रविधिलाई कृषि, स्वास्थ्य, शिक्षा सबै क्षेत्रसँग जोडेर लगियो भने देश विकासले पनि तिब्रता पाउँछ, नेपाल जस्तो देश, नेपाली जस्ता जनता गरिब बन्ने भन्ने हुन्छ ? खाद्य समाग्री पनि आयात गर्नुपर्ने यो हुनै नसक्ने कुरा हो ।’ खराब बानीका कारण खाद्य सामग्री बाहिरबाट मगाउनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो –‘हामीले आफ्नो बानी सुधार गर्नुपर्ने भएको छ, हामीसँग पर्याप्त जमिन र उत्पादन भएर पनि हामीले खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ, अब हामी कृषिमा आत्मनिर्भर हुनुपर्छ, कृषिलाई प्रविधिसँग जोडेर उत्पादनमा जोड दिनुपर्छ ।’

सरकारले प्रविधिको विकासमा नयाँ उचाइ प्राप्त गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘हामी हरेक दिन एक पाईला अगाडिको नारा लिएर अगाडी बढिरहेका छाैँ, नेपाल विकासशिल देशको विन्दुमा पुगेको छ ।’ प्रदूषण रोक्न सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीको विकल्प खोजिरहेको भन्दै उहाँले विद्युतिय गाडीहरु चलाएर डिजेलबाट चल्ने गाडीहरु विस्थापनको काम थालिएको बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !