१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य मन्त्रालयले भन्यो – एक महिना विद्यायलय बन्द गरौं

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ११:००


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण जोखिम बढेपछि विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री त्रिपाठीले भन्नुभयो – ‘संक्रमणको जोखिम बढेको छ, कोरोनाबाट बालबालिकालाई जोगाउन निक्कै ठूलो चुनौती थपिएको छ, त्यसकारण कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएको छ’– उहाँले भन्नुभयो । कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका नागरिकका लागि मात्र बनेकाले पनि बालबालिकालाई जोगाउने चुनौती देखिएको मन्त्री त्रिपाठीले प्रष्ट पार्नुभयो ।

विद्यालय बन्द गरेर अनलाइनबाट पठनपाठन गर्ने व्यवस्था मिलाउने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको उहाँले बताउनुभयो । सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन बाँकी रहेको समेत उहाँले बताउनुभयो ।

त्यसक्रममा मन्त्री त्रिपाठीले आगामी असारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको समेत जानकारी दिनुभयो । अहिलेको  संक्रमण दर हेर्दा दैनिक ११ हजार संक्रमित थपिन सक्ने देखिएको उहाँको भनाइ छ । संक्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक तयारी गरिहेको पनि उहाँले बताउनुभयो ।

सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । सोमबारसम्मको तथ्यांक अनुसार देशभर ३ हजार बढी सक्रिय संक्रमित छन् ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !