४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कम्युनिष्ट खान्छु भन्थे प्रचण्डले सकेनन् – प्रम ओली

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ११:०६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो – ‘लामखुट्टेले हात्ती खान्छु भने जस्तो, उपिँयाले मान्छे खान्छु भने जस्तै प्रचण्डले कम्युनिष्ट आन्दोलन खान्छु भनेका थिए, तर सकेनन्, हामीले खान दिएनाैं ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनलाई प्रचण्डबाट जोगाउने काम आफूहरुले गरेको बताउनुभयो । उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो –‘उपिँयाले मान्छेलाई कति खान्छ होला त ? त्यसैगरी प्रचण्डले कती खान सके त ? वामपन्थी आन्दोलन कसैले खान्छु भन्दैमा खाइन्छ त ?’

आफूले गरेको वाम एकताको प्रयासलाई विफल पार्ने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘सारा वामपन्थी एक गरेर बहुमत दिए, कम्युनिष्ट आन्दोलनलाई नयाँ बाटो देखाए, सबै कुरा गरिसकेपछि मलाई पार्टीको साधारण सदस्यबाट निकाल्न खोजे ।’

सबै दक्षिण पन्थीहरुले अपवित्र गठबन्धन गरेर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास गरेका समेत प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताका कुरा यिनिहरु गर्दै गर्दैनन्, विकास समृद्धिका कुरा गर्दै गर्दैनन्, प्रधानमन्त्री कसरी हुने, कसरी शासन हातमा ल्याउने यही चिन्ता छ यिनिहरुलाई ।’

दक्षिणपन्थीसँग साँठगाँठ गरेर वामपन्थी आन्दोलनको खेदो खन्ने काम प्रचण्डले गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले जिताएका केही सदस्य माओवादीमा थिए, यता आएपछि प्रचण्डले खोजी–खोजी कारबाही गरेछन् ।’ धित मरुन्जेल कारबाही गर्न  प्रचण्डलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो – ‘फेरि यस्तो मौका आउदैन, अबको चुनावमा कोही जित्दैन कसलाई निकाल्नुहुन्छ ? हामीले जिताएका थियांै र निकाल्नुहुन्छ, कारबाही गर्नुहुन्छ ।’

सबै दक्षिणपन्थी शक्ती मिलेर कम्युनिष्ट आन्दोलनको खेदो खोजिरहेका बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘मिलेर देश बनाउनेसँग नमिल्ने, जनताका भावना बुझ्नेहरुसँग नमिल्ने, वामपन्थीहरुसँग नमिल्ने, तर उस्ता उस्तै मिल्ने, रंग फरक तर, उद्देश्य एकै भएकाहरु मिल्ने र कम्युनिष्ट आन्दोलन धोस्त पार्ने, तर म सफल हुन दिन्नँ ।’

आफू बहुमतको प्रधानमन्त्री रहुन्जेल राजीनामा नदिने पनि उहाँले बताउनुभयो । ‘समर्थन किन गरिरहन्छौ फिर्ता लैजाउ, केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ भन्ने ? म बहुमतमा छु, कसरी राजीनामा दिउँ ? समर्थन फिर्ता गर न, राजीनामा दिन्छु’ – प्रधानमन्त्रीको भनाइ छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !