४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहमति गरेर चुनावमा जाऔं – प्रदीप गिरी

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०९:४५


काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो असल र उत्तर दिन सक्ने पोक्त नेता नेपालमै छैनन्’ – कांग्रेस सांसद् प्रदीप गिरीको भनाइ हो यो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् गिरीले त्यसो भन्नु भएको हो । ‘नेपालमा ओली जत्तीको उत्तर दिन सक्ने क्षमता भएको पोक्त मान्छे कोही छैनन्, ओलीलाई सकेछन् भने भारतीय प्रधानमन्त्री मोदीले हराउन सक्लान्, नभए एसियामा ओली जस्तो मान्छे कोही छैनन् ।’

विगत स्मरण गर्दै सांसद् गिरीले भन्नुभयो – ‘प्रधानमन्त्री महोदय, इनअफ इज इनअफ’, मेरो त्यतिबेलाको इनअफ इज इनअफको प्रश्नको जवाफ प्रधानमन्त्रीले मात्र दिनुभएको थियो ।’

प्रधानमन्त्री एक्लैले चाहेर मात्र अहिले देखिएको राजनीतिक संकट समाधान हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो – ‘यसमा सबैले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ ।’ वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको गिरीले बताउनुभयो । ‘राष्ट्रिय सहमतिको आवश्यक छ, प्रधानमन्त्री सडकमा फालिएको छ,  सडकबाट को प्रधानमन्त्री हुने भन्ने छलफल हुँदैछ शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड सबै छलफलमा हुनुहुन्छ’– गिरीले भन्नुभयो ।

प्रधानमन्त्री को बन्ने भन्ने विषयमा बहस गर्नुभन्दा सहमति गरेर चुनावमा जानुपर्ने समेत गिरीले बताउनुभयो । ‘चुनावमा जानु राम्रो कुरा हो, चुनावमा जानु भनेको लोकतन्त्रको रक्षा गर्नु हो, सहमति गरेर चुनावमा जाऔं’– गिरीले भन्नुभयो । तर चुनावमा जानुअघि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने सुझाव पनि गिरीले दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई आफू भन्दा माथि र आफ्नो अहम भन्दा माथि रहेर निर्णय लिन पनि गिरीले सुझाव दिनुभयो । ‘प्रधानमन्त्रीलाई छोड्नुस भनेर मात्र हुँदैन, प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने समय पनि आएको छ, बाटो देखाउने समय आएको छ, हामीले संसद्लाई जीवनभर राजनीति गरी जुहारी खेल्ने थलो मात्र बनायाैँ, अब यसले मात्र हुँदैन्, देश बनाउने कुरामा लागाैं– गिरीको भनाइ छ ।

देशमा आएको राजनीतिक अस्थिरताको जिम्मेवार प्रधानमन्त्री मात्र नभएको बताउँदै उहाँले भन्नुभयो – ‘देश यस्तो अवस्थामा आउनुमा हामी सबै जिम्मेवार छौं, एक पटक सबैले आफ्नो मुल्यांकन गराैं ।’ प्रधानमन्त्री ओलीले ठण्डा दिमागले सोच्ने समय आएको पनि गिरीले बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीले साच्चै नयाँ युग सञ्चालन गर्नुभयो भन्ने अनुभूति नेपाली जनतामा होस्, राजनीतिक दल, नागरिक समाज सबैले उठाएका कुरालाई सम्बोधन गरेर नयाँ युगको सुरुआत गर्नुस्’–प्रदीपले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !