३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कम्युनिष्ट आन्दोलमाथि प्रचण्डले व्यापार गर्नुभयो – रामचन्द्र मण्डल

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०८:१३


काठमाडौं । ‘केपी ओलीले नेतृत्व गरेको पार्टी नै देशको पहिलो पार्टी बन्छ’ – प्रदेश २ का सांसद् रामचन्द्र मण्डल भन्नुहुन्छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लाग्नुभएका मण्डलले माओवादीको भविष्य सकिएको बताउनुभयो । ‘माओवादी केन्द्रसँग स्पष्ट एजेण्डा छैन, आगामी चुनावबाट माओवादी कसरी सकिँदैछ भन्ने देखिनेछ’ – मण्डलको भनाइ छ  ।

पुष्पकमल दाहाल प्रचण्डमा देश बनाउने क्षमतानभएको मण्डलले बताउनुभयो । एजेण्डाबिहीन नेतामध्ये प्रचण्ड मुख्य रहेको उहाँको भनाइ छ । आईएनए न्यूज एजेन्सीसँगकोफोनवार्तामा रामचन्द्रले भन्नुभयो – ‘प्रचण्डमा व्यक्तिवाद जिनको रुपमा विकास भइसकेको छ, त्यसैले प्रचण्ड परिवर्तन हुने सम्भावना छैन ।’

केपीओलीमा पनि केही कमजोरी रहेका मण्डलले बताउनुभयो । तर केपी ओलीसँग देश बनाउने प्रचुर क्षमता रहेको र उहाँलाई विश्वास गर्न सकिने मण्डलले बताउनुभयो ।‘उहाँ आफ्ना कुरामा अडान राख्नुहुन्छ, तर भनेको कुरा पूरा गर्नुहुन्छ’– मण्डलले भन्नुभयो ।

जनकपुरमा मास्टरबाबुको रुपमा परिचित मण्डल शिक्षण पेसा छोडेर माओवादी जनयुद्धमा लाग्नु भएको थियो ।प्रचण्डले नेपाली जनतालाई धोका दिएपछि आफू पनि उहाँसँग बस्न नचाहेकाले एमालेमा लागेको मण्डलले बताउनुभयो । मण्डलसँग गरिएको फोनवार्ताको सम्पादित अंश:

किन माओवादी छाड्ने निर्णय गर्नुभयो ?

राजनीति विचारको आधारमा गरिन्छ । विचारको हिसाबले सत्ता प्राप्तिका दुईवटा आधार हुन्छन्, एउटा बन्दुकको नालबाट, अर्को जनताको मतबाट । हिजो प्रचण्डले बन्दुकको नालबाट सत्ता प्राप्त गर्ने योजना अनुसार सशस्त्र आन्दोनल थाल्नुभएको थियो । त्यही अनुसार हामी युद्धमा गयौँ । तर उहाँ शान्तिपूर्ण पद्धतिमा चुनावकै माध्यमबाट मजदूर किसानको सत्ता प्राप्त गर्ने लाइनमा आइपुग्नुभयो । त्यसले गर्दा एमाले र माओवादीको विचार र राजनीति एउटै भयो । त्यसमा केही फरक देखिएन ।

अर्को कुरा हामी कम्युनिष्टहरु कम्युन अर्थात् समूहमा विश्वास गर्छौँ, संगठनमा विश्वास गर्छौँ । माओवादी नेताले संगठनमा कहिल्यै विश्वास गरेनन् । उनीहरुले हिरोइजममा विश्वास गरे । हिरोइजम भनेको एउटै व्यक्तिले हरेक चिज गर्ने, उ सधंै हिरो पल्टिने । अनि संगठनमा कहिल्यै पनि भरोसा नगर्ने ।

एमालेले संगठनमा विश्वास गर्…यो । संगठनले नेतृत्व निर्माण गर्‍यो । संगठनले नै नेतृत्व निर्माण गर्छ भन्ने विश्वास लाग्यो । अहिले हामीले समीक्षा गर्दा विचार र संगठनको हिसाबले एमाले बाहेक अन्यत्र जाने र बस्ने ठाउँ देखिएन ।

माओवादीमा हामीले संठनको आधार देखेनौँ । लिडरसिपको हिसाबले पनि सबै अपडाउन गर्ने, निजी, व्यक्तिवादी र परिवारवादमा रमाउने । आसेपासे मान्छेलाई प्राथमिकता दिने चरित्र प्रचण्डमा देखियो । प्रचण्डको ध्यान कहिल्यैपनि संगठनप्रति केन्द्रित भएन ।

हिजोदेखि आजसम्म समिक्षा गर्दा माओवादी केन्द्र निरन्तर विघटन उन्मुख छ । हिजो पनि विघटन उन्मुख थियो । अहिले पनि केन्द्रीय कमिटीका करिब २५ प्रतिशत नेताले माओवादी छाडिसके । प्रदेशमै पनि हामी प्रदेश २ का करिब ४० प्रतिशत सांसद्ले माओवादी छाडिसक्यौँ । समग्रमा हेर्दा माओवादी केन्द्र विघटनतिरै उन्मुख छ । यसबाट गरिब किसान, मजदूर, सर्वहाराको सत्ता स्थापना गर्न सक्दैनौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । त्यसकारण हामीले एमाले बाहेक विकल्प देखेनौँ र एमालेमै लाग्यौँ ।

एमालेमा लागेपछि सांसद् पद गयो, अब के गर्नुहुन्छ ?

सांसद् पद भनेको देश र जनतालाई सेवा गर्ने पद हो । देश र जनता त्यसबाट लाभान्वित हुँदैनन् भने त्यसमा बस्नु उपयुक्त हुँदैन ।

म पनि माओवादी हुनुभन्दा पहिला एमाले नै थिएँ । गरिब, किसान, मजदूरको मुक्तिकालागि म जनयुद्धमा गएँ । मेरो त्याग र वलिदानबाट मजदूर किसानको सत्ता स्थापना हुन्छ भने किन नलाग्ने भनेर जनयुद्धमा लागेको थिएँ ।

अहिले पनि हामीले विचार र राजनीतिलाई मूख्य आधार बनाएकाले नै सांसद्पद छाडेरै एमालेमा लागेको हो । कम्युनिष्टहरु जहिले पनि त्यागमा विश्वास गर्छन् । त्यागमार्फत नै लक्ष्य प्राप्ति गरिन्छ । त्यसैले सांसद् पद त्यागेका हौं ।

हाम्रो लक्ष्य भनेको गरिब, किसान, श्रमजिवीलाई उठाउने हो । माओवादी केन्द्रबाट यी समूदायको स्तर उठ्ला जस्तो मलाई लाग्दैन । त्यसकारण सांसद् पद छाड्यौं । एमालेलाई स्वीकार गर्..यौं ।

नेपालमा कम्युनिष्टको भविष्य देख्नुहुन्छ ?

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास नै टुटफुटको छ । एकताको इतिहास एकदमै कम  छ । एकता भए पनि त्यसलाई लामो समयसम्म राख्नसक्ने स्थिति नेतृत्वमा हामीले देखेनौँ । यो एउटा समस्या छ । हठको कारण कम्युनिष्ट पार्टीको विकासमा अवरोध छ । त्यो हठ सबैभन्दा बढी नेतृत्वमा नै छ ।

नेताहरुमा लचकता आएन । नेताहरुमा संगठनको कुरा भन्दा पनि आफ्नो कुरालाई मुख्य मान्ने प्रवृत्ति देखियो । देश र जनताका विषयवस्तुलाई अन्य मान्ने भएकाले समस्या बढेको हो । एउटा प्रधानमन्त्री र अध्यक्ष पदको लागि यत्रो त्याग तपस्या र वलिदान गरेका राजनीतिज्ञले सब सर्वनास गरेका छन् । कम्युनिष्ट आन्दोलनलाई नै सत्यनास पारेका छन् ।

ओली र प्रचण्डबारे के भन्नुहुन्छ ?

वास्तवमा भन्ने हो भने पार्टीको पहिलो नेताको दिमागमा क्रान्ति छ भने पार्टीको क्रान्ति अघि बढ्छ । हिजो प्रचण्डको दिमागमा क्रान्ति थियो, क्रान्तिभयो । उहाँको दिमागमा शान्तिपूर्ण बाटो भन्ने आयो, पार्टी शान्ति सम्झौतामा पुग्यो ।

केपी ओलीको दिमागमा कम्युनिष्ट पार्टीको एकता भन्ने आयो पार्टी एकता भयो । एकता विभाजन उहाँको दिमागमा आयो पार्टी विभाजन भयो । सबै भन्दा पहिला मुख्य नेताको दिमागमा जे आयो पार्टी त्यही हिसाबले अघि बढ्छ ।

तत्कालीन नेकपामा केपी ओली मुख्य लिडर हुनुहुन्थ्यो । प्रचण्ड सेकेण्ड लिडर हुनुहुन्थ्यो । माधव नेपाल लगायत अन्य नेता हुनुहुन्थ्यो । अन्य नेताले मुख्य लिडरलाई समर्थन नगरेर दोस्रोलाई अघि बढाउने कुत्सित विचार लिएर अघि बढेपछि यो समस्या आएको हो ।

अहिले प्रचण्डको दिमागमा आफू सिद्धिएर भए पनि अरुलाई सिध्याउने कुरा चढेको छ । यसलाई सुधार गरेर फेरि एक भएर अघि बढ्यो भने कम्युनिष्ट आन्दोलन अघि बढ्छ । नत्र प्रतिक्रियावादी दुस्मनले हामीलाई गोटी बनाउँछन् । अहिले हामी दुस्मनका गोटी भइरहेका छौँ ।

यसको अर्थ प्रचण्डमा क्रान्तिको भावना नै सकिएको हो ? उहाँ विसर्जनवादतर्फ उन्मुख हुनुभएको हो ?

त्यो त परिणामले देखिन्छ नि त । क्रान्तिकारीले त उहाँलाई छाडिसके । हिजोका क्रान्तिकारी मोहन वैद्यले उहाँलाई छाड्नुभयो । बाबुराम भट्टराई, बादल, सीपी गजुरेल, विप्लव, लोकेन्द्र विष्ट जस्ता नेताले उहाँलाई छाडिसके । लोकन्द्र विष्टले उहाँलाई छाडेर अहिले कृषिमा क्रान्ति गर्नुभएको छ । गोपाल किराँती, आहुती जस्ता नेता अहिले कहाँ हुनुहुन्छ ? भिम गुरुङहरुले पनि त छाडेकै हो नि । हिजो पम्फा भुसालहरुले पनि छाडेकै हो  । मात्रिकाले पनि त छाडेको होइन र ?किन छाडे त ? कुनै कारण त होला नि त । विना कारण त त्यसै कसैले छाड्दैन । ती कारण पहिल्याउने हो भने प्रचण्डले क्रान्तिलाई विसर्जन गरेको प्रमाणित हुन्छ ।

प्रचण्डले माओवादीलाई विसर्जनवादमा फसाइसक्नुभयो । अब त्यसबाट मुक्ति सम्भव छैन । अहिले उहाँ परिवारवादमा लाग्नु भएको छ । आसेपासे मुख्य केन्द्रमा छन् । प्रचण्डले पुरै देशलाई हेर्न सक्नुभएको छैन, केही जिल्ला र केही नेतालाई हेरेर बस्नुभएको छ । यो देश केही मान्छे र केही जिल्ला हो र ? खै प्रचण्डले समावेशीताको सिद्धान्त अवलम्बन गर्न सक्नुभएको ? यी सबै कुरा हेर्दा प्रचण्डलाई आसेपासेले घेरा हालिसकेका छन् । उहाँले कम्युनिष्ट आन्दोलनलाई एउटा व्यापार बनाउनुभएको छ ।

प्रचण्ड त अर्को जनयुद्धको तयारीमा लागेको बताउँदै हुनुहुन्छ त, जनयुद्धको दस्तावेज लेख्दै छु भन्नुहुन्छ, तपाईँ भने फेरि विसर्जनवादको कुरा गर्नुहुन्छ ।

होइन, दस्तावेज त लेख्नुस् न । त्यो त भोलिका दिनले पनि देखाउला नि । कुनै बेलाका क्रान्तिकारी गैरक्रान्तिकारी हुनसक्छन् । कुनै बेलाका गैरक्रान्तिकारी क्रान्तिकारी हुनसक्छन् । फेरि उहाँ सच्चिएर, सुध्रिएर आउनुभयो भने त सहयोग पाउनु नै हुन्छ । हामीलाई परिवर्त चाहिएको हो । गरिब, मजदूर, किसानको सत्ता चाहिएको हो । फेरि उहाँ नयाँ मान्छे बनेर आउनुभयो भनेस्थापित हुनसक्नुहुन्छ । मान्छे नयाँ बन्नु पर्यो, भत्किएको प्रचण्डबाट अब काम हुँदैन ।

प्रचण्ड सच्चिएर आउने सम्भावन कत्तिको देख्नुहुन्छ त ?

प्रवृत्ति भनेको कस्तो छ भने, चीनमा माओले १० वर्ष सांस्कृतिक क्रान्ति गर्नुभयो । सफल नभएपछि उहाँ आफैँ पछाडि फर्कनुभयो । जुनकुरा मानिसको आचरण बन्छ, त्यो सोचेर पछि हटिने कुरा होइन । त्यो जिनको रुपमा विकास हुन्छ ।

प्रचण्डमा व्यक्तिवादको कुरा जिनको रुपमा विकास भइरकेको छ । जिनको रुपमा विकास भएको कुरा सहजै परिवर्तन हुन्छ भन्ने कुरा विश्वास गर्न सकिँदैन । यो सन्ततिले नयाँ नेता खोज्ने हो । उहाँबाट केही आशा गर्न सकिने अवस्था छैन ।

कम्युनिष्ट आन्दोलन अब नेपालमा कसरी अघि बढ्छ त ?

कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने मुख्य कुरा लिडर हो । मुख्य लिडर आवश्यकताले जन्माउने हो । यो समयमा केही दिनअलमलमा नै चल्छ । त्यसपछि जनताले नयाँ आवश्यकताको महशुस गर्छन्, त्यो आवश्यकताले नयाँ नेता जन्माउँछ ।

कुन व्यक्तिलाई त्यो शक्ति प्राप्त हुन्छ अहिले भन्न सकिँदैन । तर कम्युनिष्ट आन्दोलन एउटा गतिमा आउँछ । किनकी नेपाल भनेको कम्युनिष्टको उर्वर ठाउँ हो । गरिब किसान भएको ठाउँ हो। ९० प्रतिशतबढी गरिब किसान भएको ठाउँमा कम्युनिष्ट आन्दोलन मर्ने त कुरै हुँदैन । अहिले त नेताहरुको बुद्धि विग्रिएर समस्या भएको हो ।

यहाँ त ९० प्रतिशत मानिस कम्युनिष्ट हुनुपर्ने हो । त्यो भइरहेको छैन । यसमा हाम्रो कमजोरी छ भन्ने कुरा नेताहरुले बुझ्नुपर्छ । भोलिका दिनमा ९० प्रतिशतको वस्तुगत आधारको रुपमा नेतृत्व विकास हुन्छ । त्यो नेतृत्वले नयाँ आयाम विकास गर्छ ।

केपी ओलीको नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्छ त ?

नेता भनेको विश्वासीलो हुनुपर्छ । केपी ओली विश्वास गर्न लायक पात्र हुनुहुन्छ । केपी ओलीले भनेको कुरा गरेरै छाड्नुहुन्छ । अरु नेताले भनेको कुरा गर्नुहुन्न ।

केपी ओलीमाथि विश्वास मात्र होइन ठूलो भरोसा पनि छ । देश बनाउनने भिजन अहिले ओलीसँग मात्र छ । समृद्ध नेपाल र  सुखी नेपालीको लक्ष्यसाथ उहाँले विकासको नेतृत्व गरिरहनुभएको छ । आर्थिक क्रान्ति केपी ओलीको मुख्य एजेण्डा हो । विकास उहाँको प्रतिबद्धता हो ।

उहाँमा पनि केही कमजोरी त छ । तर पनि विकास र राजनीतिलाई यसैगरी सही दिशा दिने, कम्युनिष्टहरुलाई एक बनाउने, पदकै लागि कसैसँग सम्झौता नगर्ने, कुनै देशी विदेशी शक्तिसँग नझुकेरै अघि बढ्नुभएकाले हामीले उहाँलाई साथ दिएका हौं । त्यसैले केपी ओलीको विकल्प छैन । उहाँले नेतृत्व गरेको पार्टी नै देशको पहिलो पार्टी बन्छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !