६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपाको मुख ताक्दै सकियो देउवा निवासको बैठक

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ११:३८


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाउनुभएको तीन दलीय बैठक निष्कर्षबिहीन भएको छ । तीन पार्टीका २० जनाभन्दा धेरै नेता उपस्थित बैठक करिब एक घन्टा मात्र चलेको थियो ।

बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु नै आफूहरुको उद्देश्य रहेको र सोही अनुसार छलफल गरिएको बताउनुभयो । उहाँका अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई चाँडै निर्णय गर्न बैठकमा भनिएको छ ।

यो सरकारलाई आफूहरुको समर्थन नरहेको दावी गर्दै उहाँले चैत २३ गते भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने थियो तर नलिनु गलत भएको बताउनुभयो ।

‘सकभर ओली सरकारको विकल्पमा बहुमतको सरकार बनाउन चाहन्छौं, बहुमतको सरकार सुनिश्चित भएपछि हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’– नारायणकाजीले भन्नुभयो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समीकरणको सन्दर्भमै छलफल भएको पुष्टि गर्नुभयो । ओली सरकार विदाई गरेर नयाँ सरकार बनाउन यो नै प्रथम औपचारिक बैठक भएको उहाँले बताउनुभयो ।

‘नयाँ सरकार बनाउन, कांग्रेसको नेतृत्वमा सरकार बनाउन हामीले औपचारिक निर्णय गरेका छौं । त्यही जानकारी हाम्रा सभापतिले बैठकलाई गराउनुभयो’– विश्वप्रकाशले भन्नुभयो ।

देउवाको सो प्रस्तावलाई माओवादी केन्द्रका नेताहरुले समर्थन गर्नुभएको विश्वप्रकाशले बताउनुभयो । जसपाको तर्फबाट महन्त ठाकुर, उपेन्द्र यादव लगायतको साझा मत भनेको विधिवत रुपमा बैठक बसेर निर्णय गर्छाैं भन्नुभएको छ ।’

‘निर्णय र निष्कर्षमा पुग्न जसपाले समय मागेको छ, केही दिन दिनुपर्यो भनेको छ’– शर्माले भन्नुभयो ।

‘नारायणकाजीले बैठकमा बोल्नुभएको मैले सुनिन’– विश्वप्रकाशले भन्नुभयो ।

बैठकपछि महन्थ ठाकुरले भन्नुभयो– ‘हाम्रो मुद्दाको प्रश्नमा ओलीजीले काम अगाडि बढाउनुभएको छ भन्यौं, उहाँहरुले हामी पनि सकारात्मक छौं भन्नुभयो ।’

‘छलफल बाँकी नै छ । कांग्रेसले सरकार बनाउछौं भन्नुभयो । तीनै दल मिलेर सरकार बनाउँ भन्नुभयो । हामीले छलफल गरौं भनेका छौं’– महन्थको भनाई थियो ।

जसपाकै कारणले नयाँ सरकार बनाउन रोकिएको हो कि होइन भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा महन्थले भन्नुभयो– ‘सरकार बनाउँछु भन्ने नेताले बल्ल आज प्रस्ताव राख्नुभएको छ ।’

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !