१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘काठमाडौं फन पार्क’ शनिबारदेखि सञ्चालन

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०९:२८


भक्तपुर । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा आउने भएको छ ।

११ करोड रुपैयाँको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौं फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष ०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउने भएको हो ।

कर्णालीको भेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यसाथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी  यो पार्क सञ्चालनमा आउन लागेको हो ।

काठमाडौंको कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीन वटा पौडी पोखरीको व्यवस्था गरिएको छ ।

मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजारले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यबस्था गरिएको छ ।

पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । पार्कमा रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट एक सय ५० देखि दुई सय फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।

त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् ।

हरेक दिन बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । कोरोना सङ्क्रमणलाई ध्यान दिई स्वास्थ्य मापदण्डको व्यवस्था, गुणस्तरीय उपकरण राखिएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !