६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

समृद्धिको अर्थ ठूला भवन र बाटोघाटो मात्र होइन– प्रचण्ड

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १४:०५


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु पनि सेटिङमा चल्ने गरेको दावी गर्नुभएको छ । उहाँको अर्काे भनाई छ– नेवार समुदायलाई जे गरे पनि हुन्छ भन्ने व्यवहार गरिएको छ ।

उहाँको भनाई छ– ‘देशभित्रका, बाहिरका तथा संवैधानिक निकायका प्रमुखहरुको सेटिङ हुने गरेको छ ।’ देश नियम कानुन र संविधान अनुसार नभएर सेटिङका आधारमा चल्न थालेको उहाँले दावी गर्नुभयो ।

बुद्धिजीवी माणिकलाल श्रेष्ठलाई श्रद्धान्जली दिन आयोजना गरिएको शोकसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौंको नेवार समुदायका ऐतिहासिक परम्परा र संस्कृतिलाई भत्काउने र मिच्ने काम गरेको आरोप पनि लगाउनुभयो । गुठी विधेयक फिर्ता लिइएन भने म आफैं आन्दोलनमा उत्रन्छु भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिनुभएको पनि प्रचण्डले दावी गर्नुभयो ।

नेवार समुदायलाई जे गरे पनि हुन्छ भन्ने व्यवहार गरिएको भन्दै प्रचण्डले अगाडि भन्नुभयो– ‘विकासको नाममा नेवारका सांस्कृतिक सम्पदा नष्ट गर्ने प्रवृत्ति बढेको छ ।’

उहाँको अर्काे भनाई थियो– ‘बाहिरबाट हेर्दा कम्युनिष्ट पार्टी फुट्यो, प्रचण्ड र केपी झगडा गरिरहेछन् भन्ने मात्र देखिन्छ होला तर यो भित्र अन्तर्निहित वैचारिक विवाद हेर्नुहुन्छ भने एउटाले सामन्ती र निरंकुश फासीवादको बाटो लिएको छ, अर्काेले जनताको अधिकार र पहिचानको बाटो लिएको छ । दुईटा बाटोको भेट नै भएन ।’

‘संसद पुनसर््थापित भयो तर प्रतिगमनकारी सड्यन्त्र रोकिएन । संघिय लोकतान्त्रिक गणतन्त्र माथि निर्मम प्रहार हुँदैछ । अनेक षड्यन्त्र रचिँदै छ’– प्रचण्डले भन्नुभयो । तर, षडयन्त्रको अहिले ब्याख्या गर्न आवश्यक नरहेको पनि उहाँले बताउनुभयो ।

समृद्ध नेपालको सपना, समृद्धिको अर्थ ठूला भवन र बाटोघाटो मात्र होइन भन्ने विचार राख्दै उहाँले भन्नुभयो– ‘विकास र समृद्धिको अर्थ मानिसहरुको आत्मिक चेतना, आत्मिक अनुशासन, उसको सांस्कृतिक जीवन कति स्वच्छ निष्कलंक छ, अरुको दुखकष्टमा साथ सहयोग गर्न कति तत्पर छ, त्यसबाट बढि जाँचिन्छ ।’

‘भौतिक वैभव मात्र विकास र समृद्धिको आधार होइन’– प्रचण्डले भन्नुभयो ।

जनताका उपलब्धी उल्टाउन खोजिएको छ। समावेसी, समानुपातिक, जातीय विभेद उल्टाउन खोजिएको छ । जनजाति, दलित, मुस्लिम, पूर्वेली, पश्चिमेलीलाई, महिलालाई विभेद गरिएको छ, त्यसै विरुद्ध संघर्ष गरेका हौं ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !