१० श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

शरणार्थी समस्या समाधानमा नेपालकाे भूमिका प्रशंसनीय – युएनएचसीआर

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १३:५३


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएकाे छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई भेट्न वर्मा शुक्रबार दिउँसाे सिंहदरबार पुग्नुभएकाे थियाे । सिंहदरबारस्थित कार्यकक्षामा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि युएनएचसीआरले गरिरहेको कामकाे प्रशंसा गर्नुभयाे ।

युएनएचसीआरले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करिब पाँच करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुशी लागेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘नेपालमा रहेका एक लाख १३ हजार पाँच सय भुटानी शरणार्थीको अन्य आठ देशमा पुनर्वास गरिएको छ, यसका लागि युएनएचआरको भुमिकाप्रति धन्यवाद दिन चाहान्छु, अब नेपालमा करिब २९ हजार शरणार्थी छन्, उनीहरुको व्यवस्थापनमा पनि यहाँहरुको पक्कै ध्यान पुगेको होला ।’

अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्चायुक्तको कार्यालयले गरेको कामको प्रशंसा गर्नुभयो ।

भेटमा उच्चायुक्त कार्यालयको नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी समस्या समाधानमा नेपाल सरकारले खेलेको भूमिकाकाे प्रशंसा गर्नुभयाे । नेपालले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्य लगायत सेवा दिएकोमा संस्थाको तर्फबाट उहाँले धन्यवाद दिनुभयाे ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !