२५ बैशाख २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहंकार, इगो र ईर्ष्या : जसले डुबायो माधव नेपाललाई

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ११:५६


गोविन्द थापा-

एउटा झुठ छोप्न सयवटा झुठ र एउटा गल्ती ढाकछोप गर्न सयवटा गल्ती गर्नुभएको छ नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपालले । उहाँले आफ्नो राजनीतिक जीवनलाई झुठ र गल्तीको भण्डार बनाउनुभयो । कमरेड माधवले गल्तीको अन्तिम अध्याय खोल्नुभयो फागुन २३ गते ।

सो दिन सर्वाेच्च अदालतले नेकपाको एकीकरण कानुनी रुपमा बदर गरिदियो । एमाले र माओवादी पुनस्थापित भए । त्यसपछि कमरेड माधवले जेजे गल्ती गर्नुभयो त्यसले उहाँको राजनीतिक जीवन समाप्त पारिदिएको छ ।

नेपालमा समाप्त हुन लागेको नेता को हो भनेर सोध्यो भने जसले पनि जवाफ दिन्छ– माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड । विगतमा यो देशमा उहाँहरुको रजगज थियो । आज दुवैजनाको राजनीतिक जीवन लगभग समाप्त हुने अवस्थामा पुगेको छ ।

उहाँहरु विगतमा ठूलो उचाईमा पुगेको नेता हो । त्यसैले ठूलो उचाईबाट जमिनमा खस्दा चर्चा हुने नै भयो । प्रचण्ड र माधवमध्ये को धेरै संकटमा हुनुहुन्छ भनेर सोधियो भने जसले पनि भन्न सक्छ– माधवकुमार नेपाल । उहाँ संकटमा मात्र हुनुहुन्न, समाप्त हुने अवस्थामा हुनुहुन्छ ।

समाप्त हुने अवस्थामा कमरेड माधव किन पुग्नुभयो भन्ने बारेमा यहाँ केही तथ्यगत विष्लेशण गरिन्छ ।

त्यो महागल्ती

कमरेड माधवको राजनीति निरन्तर ओरालो लागिरहेको थियो । आफ्नै पार्टीको सरकार ढाल्न जेजे ताण्डव गर्नुभयो त्यसबाट उहाँको राजनीति भिरमा जाँदै थियो । तर, फागुन २३ पछि चाहिँ उहाँको राजनीति समाप्त नै भएको छ ।

सर्वाेच्चको फैसलापछि कमरेड माधवका सामु दुईटा बाटो थियो । पुष्पकल दाहाल प्रचण्डसँग माओवादीमै बस्ने एउटा बाटो । एमालेमा फर्कने अर्काे बाटो । यी दुवै बाटो नछानी तेस्रो बाटो छान्नुभयो । त्यो बाटो सीधै भिरमा पुग्छ भन्ने आकलन गर्न सक्नुभएन । एमालेमा फर्कने, एमालेलाई समाप्त पारेर प्रचण्डकोमा अर्थात् माओवादी केन्द्रमा फर्कने बाटो रोज्नुभयो । प्रचण्डले पनि एमालेलाई सखाप पारेर अर्थात् क्याप्चर गरेर माधवहरु फर्कने घोषणा गर्नुभयो ।

प्रचण्डको मोहजालमा माधव यसरी फस्नुभयो कि एमालेलाई समाप्त पार्ने कस्सम पेरिसडाँडामा खानुभयो । मोहजालमा अन्धो भएर एमालेलाई समाप्त पार्छु भन्नुभयो । माधवको त्यो महागल्ती थियो । त्यस्तो हर्कत नगरी आफ्नो गल्ती स्वीकार गरेर इमानदारीपूर्वक एमालेमा फर्कनुभएको थियो भने माधवले आफ्नो पूरानो हैसियत फिर्ता पाउनुहुन्थ्यो । राजनीतिक सम्भावनाको ठूलो समुद्रमा पौडन पाउनुहुन्थ्यो । तर, उहाँ कूवामा डुब्न पुग्नुभयो । कुवाको भ्यागुता बन्नुभयो । कुवाभित्र बसेर ‘केपी ओली म जत्रो भएको छैन होला’ भन्दै भुँडि फुलाएर बस्नुपर्ने अवस्थामा पुग्नुभयो ।

अन्तिम गल्ती

कमरेड माधवले महागल्ती मात्र गर्नुभएन, अन्तिम गल्ती गर्नुभएको थियो । उहाँको राजनीतिक जीवन त्यही अन्तिम गल्तीले समाप्त गर्‍याे । उहाँको राजनीतिक विश्वसनीयता समाप्त भयो । माओवादीले समेत विश्वास गर्न नसक्ने अवस्थामा माधव पुग्नुभयो । माधवले अब ठूलो गल्ती गर्न सक्नुहुन्न, किनभने उहाँको ठूलो गल्ती गर्ने हैसियत नै रहेन । त्यसैले अहिले माधव जे गरिरहुनभएको छ, अन्तिम गल्तीको अध्यायमा हुनुहुन्छ ।

सर्वाेच्चको फैसलापछि रामबहादुर थापा लगायतका नेताहरुले सांसद् पद गए जाओस् तर केपी शर्मा ओलीकै नेतृत्वको पार्टीमा बस्छौं भन्नुभयो । माधवहरुले पनि त्यसैगरी माओवादीमै बस्छौं भन्नुभएको थियो भने इमानदारी झल्कन्थ्यो । एमालेमा जाने, एमाले क्याप्चर गर्ने अनि फर्कने भन्ने कुरा माओवादीले पत्याएनन् । फैसला लगत्तै माओवादी छाडेर माधवहरुले नयाँ खाले ताण्डव थाल्नुभयो । त्यसपछि उहाँहरु न माओवादी रहनुभयो न एमाले बन्नुभयो ।

माधवमा प्रचण्डले समेत इमान देख्नुभएन, भर पर्नुभएन । त्यसपछि प्रचण्डले केही भाषणमा ‘अरुको भर परेर नहुने रहेछ, आफ्नै मानिसमा भर पर्नुपर्ने रहेछ’ भन्नुभयो । पूराना माओवादी कार्यकर्ताहरुको भेला राखेर उहाँले त्यस्तो भाषण बारम्बार गर्नुभयो । उहाँको भाषणको अर्थ हो– माधवहरुको भर पर्न सकिएन । तैपनि प्रचण्डकै पछि लागेर बस्नुभएको छ ।

माधवहरुको प्रचण्डसँगको साथ छुट्यो, एमाले भत्काउन पनि सक्नुभएन । बरु, एमालेले नै माधवहरुको गुट भत्काइदियो । कारवाही गरिदियो । पार्टी भत्काउँछु भन्दै कोही आउँछ भने सहेर कोही बस्दैन । उसलाई यथोचित कारवाही गर्छ । कमरेड माधवले गर्नुभएको राजनीतिक अपराध पार्टीबाटै निष्काशित गर्नुपर्ने खालको थियो । तर, एमालेले निलम्वित मात्र गरेको छ ।

अहंकार, भ्रम, इगो र ईर्ष्या 

कमरेड माधवलाई अहंकार, भ्रम, इगो र इषर््याले समाप्त बनायो । म लामो समय पार्टीको सर्वेसर्वा बनेर नेतृत्वमा बसेको नेता हो । त्यसैले पार्टीको अध्यक्ष जो बनेपनि मैले भने अनुसार चल्नुपर्छ, मैले भनेको मान्नुपर्छ, मैले लाए अह्राएको मात्र गर्नुपर्छ भन्ने अहंकार देखाउनुभयो । उहाँले पार्टी अध्यक्ष पदमा केपी शर्मा ओलीसँग चुनाव हार्नुभयो । थोरै भोटले मात्र हारेको हुँ, त्यसैले अध्यक्ष भन्दा म कम होइन भन्ने ठानेर व्यवहार गर्दै आउनुभयो । महाधिवेशनले निर्वाचित गरेको अध्यक्षलाई उहाँले कहिले मान्नुभएन, गन्दै गन्नुभएन । यो कारण कमरेड माधव डुब्न थाल्नुभयो ।

जनताको मन जित्नुपर्छ भन्ने कमरेड माधवलाई कहिल्यै लागेन । जनता भेडाबाख्रा हुन्, आफ्नो अनुहार देखेपछि भोट दिन्छन् भन्ने भ्रममा पर्नुभयो । त्यसैले एमाले लगभग समाप्त हुने अवस्थामा पुग्यो । चुनावमा एमाले तेस्रो मात्र भएन, अति थोरै सिटमा सीमित भयो । कार्यकर्ताको मन जित्नेतिर पनि उहाँ लाग्नुभएन । कार्यकर्ता भनेका भेडाबाख्रा हुन् । एमालेमा यतिका वर्ष राईंदाईं गरेको मलाई जसरी पनि मान्छन्, नमानी सुखै छैन भन्ने भ्रममा पर्नुभयो ।

केही सीमित नेतालाई वरिपरि राखेपछि सारा कार्यकर्ता आफ्ना हुन्छन् भन्ने उहाँलाई लाग्यो । त्यसैले उहाँ सचिवालय, स्थायी समिति, पोलिट व्युरोतिरको टाउको गन्नुहुन्छ । फलानो कमिटीमा मेरा यति मानिस छन्, ढिस्काना कमिटीमा उति मानिस छन् भनेर आत्मरति गरिरहनुभयो । तर, कार्यकर्ता जति केपी ओलीको नेतृत्वमा गोलवन्द भइसकेका छन् भन्ने बुझ्नुभएन ।

साँच्चै भन्ने हो भने दुईटा ‘क’लाई नमान्दा कमरेड माधव डुब्नुभयो । एउटा क भनेको कार्यकर्ता । अर्को क भनेको केपी ओली । नयाँ युग र समयले नयाँ नेता मागेको थियो । समयले क्षमतावान, विकासप्रेमी र जुझारु नेता मागेको थियो । देशले अभिभावक मागेको थियो । जनताले विकास र समृद्धि मागेका थिए । यी सबै गुण, विशेषता र क्षमता केपी ओलीमा देखियो । केपी ओलीसँगको रीसडाहा र ईर्ष्याका कारण माधव डुब्नुभयो । केपी ओलीलाई जनताले बा भनेकोमा आपत्ति जनाउनु ईर्ष्या र कुण्ठा मात्र थियो ।

कमरेड माधवमा ईर्ष्या र कुण्ठा कति छ भन्ने उहाँले बोल्दै नबोलेका वाक्यले समेत खुलस्त पार्छ । माधवले अहिलेसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने वाक्य बोल्नुभएको कसैले सुन्नुभएको छ ? केपी ओलीसँगको रीसडाहाका कारण विकास र समृद्धि वाक्य समेत उच्चारण नगर्ने हदसम्मको कुण्ठा, रीस, डाहा र अहंकार देखाउने नेताको राजनीतिक अवसान हुने नै भयो ।

माधवको भविष्य

एमाले र माओवादी पुनस्थापित हुनासाथ कमरेड माधवले महागल्ती नगर्नुभएको भए आज उहाँ एमालेजस्तो महान पार्टीको सम्मानित नेता बन्नुहुन्थ्यो । फागुन २३ अगाडिका सबै कर्तूत बिर्सिएर व्यवहार गर्न एमालेका अध्यक्ष, नेता, कार्यकर्ताहरु वाध्य हुनुपथर््यो । तर, फागुन २३ गते अगाडिको गल्तीलाई सच्याउनु त कता हो कता त्यसैलाई निरन्तरता दिने गल्ती गर्नुभयो ।

फागुन २३ गतेपछि प्रचण्डसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुप‍र्थ्याे । त्यसो नगरेर एमालेसँग चाहिँ सम्बन्ध विच्छेदको घोषणा गर्नुभयो । एमालेलाई कब्जा गरेर अथवा भत्काएर प्रचण्डकोमा फर्कन्छु भन्नुको अर्थ एमालेसँग सम्बन्ध विच्छेद गर्नु नै हो ।

कमरेड माधवसँग अझै पनि दुईटा बाटो छ । पहिलो हो– माओवादी बन्ने, दोस्रो हो एमाले बन्ने । बाहिरबाहिर एमाले बन्ने, भित्र चाहिँ घोर माओवादी बन्ने दुष्कर्म माधवले गर्न हुन्न । उहाँले कि एमाले बन्नुपर्छ, कि माओवादी बन्नुपर्छ । तेस्रो बाटो भनेको आफ्नै पार्टी खोल्ने हो । आफ्नै पार्टी खोल्न माधवहरुसँग सबै चिज छ । तर एउटा चिज छैन । त्यो चिज हो– कार्यकर्ता ।

कार्यकर्ता बिनाको पार्टी नेपालमा धेरै छन् । त्यस्तामध्येको एउटा पार्टी कमरेड माधवले खोल्न नपाउने भन्ने हुँदैन । त्यसरी पार्टी खोले पनि जाने गन्तब्य चाहिँ माओवादीमै हो । प्रचण्डले त्यति विशाल एमालेलाई त गन्नुभएन, सर्लक्कै निल्न खोज्नुभयो भने माधव नेपालको सानो जत्थालाई कसो गर्नुहोला ? माओवादीमा पस्दा कमरेड माधवले पद त ठूलै पाउनुहोला तर हैसियत चाहिँ जिल्ला कमिटी सदस्य जति पनि हुने छैन । माधवकै हैसियत त्यस्तो हुनेवाला छ भने उहाँको पछाडि लागेर प्रचण्डको पार्टीमा जानेहरुको हालत के होला ? यो प्रश्नको जवाफ माधवको पछाडि लागेकाहरुले खोज्न ढिला हुन लाग्यो ।

कमरेड माधव आफू पनि डुब्नुभयो, आफ्नो पछाडि लागेकाहरुलाई पनि डुबाउनुभयो । अब उहाँले प्रचण्डको मोहजालबाट मुक्त हुनुपर्छ । प्रचण्डले आँखामा लगाइदिएको पट्टि खोल्नुपर्छ । एमालेलाई भत्काएर, लथालिंग पारेर त्यो पार्टी प्रचण्डको पाउमा चढाउँछु भन्ने सपनाबाट कमरेड माधव ब्यूँझनैपर्छ ।

-आइएनए

 

 



प्रतिक्रिया दिनुहोस !