३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताले चुनाव चाहेका छैनन् – राजेन्द्रकुमार केसी

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०९:१६


काठमाडौं । ‘जनताले अहिले चुनाव चाहेका छैनन् – यो भनाइ हो’ – कांग्रेस सांसद् राजेन्द्रकुमार केसीको ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् केसीले  भन्नुभयो – ‘जनताले अहिले चुनाव चाहेका छैनन्, जनताले कोरोनाबाट राहत खोजेका छन्, आर्थिक मन्दीबाट राहत खोजिरहेका छन्, जनता त्यही चाहिरहेका छन् जुन चुनावबाट प्राप्त हुँदैनन् ।’ प्रतिनिधि सभा पुर्नस्थापना हुनु सुखद पक्ष भएको पनि सांसद् केसीले बताउनुभयो । यसबाट जनता समेत खुशी भएका उहाँले दाबी गर्नुभयो ।

मेलम्चीको पानी काठमाडौंका धारामा ल्याएको जस आफूले मात्र नलिन पनि सांसद् केसीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना ३० वर्षपछि पूरा भएको भन्दै उहाँले त्यो सपना अहिले पूरा हुनु खुसीको कुरा भएको बताउनुभयो । ३० वर्षदेखि गरेको कामको उपलब्धि अहिले देखिएको उहाँको भनाइ छ  । ‘यसको जस यो सरकारले मात्र लिनु न्यायोचित हुँदैन, यो जस अपजस भन्दा पनि हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराइको सपना पूरा भएको हो’– उहाँले भन्नुभयो ।

सांसद् केसीले बाग्लुङको बडीगाड घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘यही चैत्र पाँच गते फागु पूर्णिमाको दिन बाग्लुङ र प्युठान जिल्लाको सिमानामा पर्ने बडीगार्ड गाउँपालिका–१० बल्जेधुरामा भएको हिंसात्मक घटनाप्रति हाम्रो गम्भी ध्यानाकर्षण भएको छ, कांग्रेस जिल्ला कार्य समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारको हत्या र अन्य व्यक्तिहरुलाई घाइते बनाएको घटनाको कांग्रेस घोर भत्र्सना गर्दछ, आपराधीक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीलाईपनि उन्मुक्ति नपाओस्’– केसीको माग छ ।
म्यानमार घटनाबारे नेपाल सरकार बोल्नुपर्ने पनि उहाँले बताउनुभयो । म्यानमारको सेनाले दमन रोकेर निर्वाचित सरकार पुनर्बहाली गर्नुपर्ने सांसद् केसीले बताउनुभयो । म्यानमारको सेनाले मच्चाएको रक्तपात रोक्न म्यानमारको जनताको पक्षमा विश्वभरबाट आवाज उठाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

-आईएनए न्युज



प्रतिक्रिया दिनुहोस !