८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ऋण नतिरेर विदेश भाग्ने खतरा, दुर्गा प्रसाईंको पासपोर्ट जफत गर्न छलफल

प्रकाशित मिति :  ६ फाल्गुन २०७९, शनिबार ०८:४६


काठमाडौं । खाएको ऋण नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाईंलाई विदेश भाग्न नदिन पासपोर्ट जफत गर्नुपर्ने माग उठेको छ । झापामा बिएण्डसी अस्पताल चलाइरहेका प्रसाईंलाई करिब ६ अर्ब ऋण छ ।

दुर्गाले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कमसल जग्गा धितो राखेर ऋण लिएको बताइएको छ । उनले पूर्व राजा ज्ञानेन्द्रलाई साक्षी राखेर बैंकको ऋण नतिर्ने अभियान थालेका थिए ।

प्रसाईंले ऋण नतिर्ने, ऋणकै आडमा आन्दोलन गरेर नेता हुने र उल्टै ऋण दिने बैंक तथा वित्तिय संस्थाहरुलाई दोषी देखाउने अभियान थालेपछि स्थिति शंकास्पद बनेको छ ।

बैंकहरुले अब दुर्गा प्रसाईं विदेश भाग्नसक्ने आशंका गरेका छन् । यही आधारमा उनको पासपोर्ट जफत गर्नुपर्ने विषयमा विभिन्न बैंकका अधिकारीहरुले छलफल थालेको उच्च स्रोतले बताएको छ ।

आफ्नो बस्ने गतिलो घर पनि छैन भन्दै झापाको पूरानो घर देखाएर दुर्गा प्रसाईंले सर्वसाधारणलाई भ्रममा पार्न थालेपछि बैंकहरु झन् शशंकित बनेका हुन् । एक बैंकका उच्च अधिकारीले बताए अनुसार दुर्गा प्रसाईंको काठमाडौंमा आलिशान महल छ । कैयन ठाउँमा जग्गा र अन्य विभिन्न किसिमका सम्पत्ति छ ।

एक बैंकका अधिकारीले जानकारी दिए अनुसार दुर्गा प्रसाईं भक्तपुरमा तीन रोपनीमा बनेको आलिशान महलमा बस्छन् । उनको महलमा स्विमिड पुल समेत छ । दुर्गाको घरमा चर्चित कलाकारहरुले फिल्म र म्युजिक भिडियो समेत छायांकन गर्ने गरेको उनले बताए ।

‘दुर्गाजीको घरको दृष्य विभिन्न चलचित्र र म्युजिक भिडियोमा देख्न सकिन्छ तर साधारण रहनसहनमा बस्छु, गाई पालेर बस्छु भन्दै उहाँले भ्रम फैलाइरहनुभएको छ’ बैंकका ती अधिकारीले बताए । उनका अनुसार दुर्गा प्रसाईंले दुई माऊ गाई पालेको छु भनेर पनि गफ दिएका हुन् । घर नजिकैको गाई गोठ दुर्गा प्रसाईंको नभएर उनको एक कामदारको भएको जानकारी प्राप्त भएको छ ।

सर्वसाधारणको भावनामा खेलेर दुर्गा प्रसाईंले ऋण नतिर्ने आन्दोलन चर्काउन खोजेको बैंकका अधिकारीहरुको बुझाई छ । आन्दोलनले गति लियो र देशमा भाँडभैलो मच्चाउन सकियो भने नेता बन्ने, आन्दोलन असफल भयो र ऋण तिर्न नसकिने भयो भने विदेश भाग्ने योजना रहेको देखिन्छ, बैंकका ती अधिकारीले भने । यही कारण प्रसाईंको पासपोर्ट जफत गरेर ऋण नतिरेसम्म विदेश जान रोक लगाउने विषयमा बैंकहरुले छलफल थालेका हुन् ।

प्रसाईंले प्रभु बैंक, कुमारी बैंक, वाणिज्य बैंक, इन्भेष्टमेन्ट मेगा बैंक, लुम्बिनी विकास बैंक, ग्लोबल आईएमई बैंक लगायतबाट गरी करिब ६ अर्ब रुपैयाँ लिएको आफैंले पनि सकारेका छन् । उनले सबै ऋणको व्याज तिरिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रलाई बोलाएको कार्यक्रममा भाषण गरेका थिए । तर, बैंकहरुका अनुसार उनले व्याज बुझाएका छैनन् । प्रसाईंले ऋण नतिर्ने नै नियत राखेको बैंकहरुको ठहर छ ।

बैंकहरुबाट ठूलो रकम ऋण लिएर भाग्नेहरु नेपालमा पनि धेरै थिए । केही व्यापारीहरु बैंकको ऋण खाएर विदेश भागिसकेका छन् । त्यसैगरी भारतका निरव मोदी, विजय माल्या लगायतका व्यापारीहरु पनि अर्बाैं रुपैयाँ ऋण खाएर विदेश भागेका छन् । दुर्गा प्रसाईंले पनि त्यसै गर्न खोजेको भन्दै नेपालका बैंकहरु चिन्तित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !