१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पेट्रोल छर्केर आगो लगाउँदा छोराको ज्यान गयाे

प्रकाशित मिति :  १६ माघ २०७९, सोमबार ०५:३४


बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान ज्यान गएकाे छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको निधन भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको घर्तीले बताउनुभयो ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।
-रासस



प्रतिक्रिया दिनुहोस !