१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वकप फुटबल : विश्वविजेता बन्न भिड्दै अर्जेन्टिना र फ्रान्स

प्रकाशित मिति :  ३ पुष २०७९, आईतवार ०५:२६


काठमाडाैं । फिफा विश्वकप २०२२ काे फाइनलमा आज आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुबै टाेली जित निकालेर तस्राे पटक विश्वविजेता बन्न मैदानमा प्रवेश गर्ने छन् ।

खेल लुसेल आएकोनिक स्टेडियममा नेपाली समय अनुसार रातकाे पौने ९ बजे हुनेछ । फाइनल जित्ने टिमले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ ।

साविक उपविजेता क्राेएसियालाई ३-० गाेल अन्तरले हराउँदै अर्जेन्टिना ८ वर्षपछि फाइनलमा पुगेकाे हाे भने माेरक्काेलाई २-० गाेल अन्तरले हराउँदै साबिक विजेता फ्रान्सले फाइनल प्रवेश गरेकाे हाे ।

यस सँगै अर्जेन्टिना छैटौं र फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेका छन् । फ्रान्स र अर्जेन्टिना दुबै टीमले समान दुई-दुई पटक विश्वकप जितेका छन् ।

अर्जेन्टिनाले १९७८ नेदरल्याड्सलाई र १९८६ मा जर्मनलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । सन् १९३० को पहिलो विश्वकपकाे फाइनल उरुग्वेसँग ४-२ गाेल अन्तरले पराजित भएको अर्जेन्टिना १९९० र २०१४ को फाइनलमा जर्मनसँग १-० गाेल अन्तरले पराजित भएको थियो । अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

त्यस्तै फ्रान्सले १९९८ ब्राजिललाई र २०१८ क्राेएसियालाई हराउँदै विश्वकपकाे उपाधि हात पारेकाे थियाे । २००६ को संस्करणमा पनि उपाधि नजिक पुगे पनि फाइनलमा इटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएकाे थियाे ।

मेस्सीकाे सपना पुरा गर्ने दाैडमा अर्जेन्टिना

विश्वकपको दाबेदार मानिएकाे टिम अर्जेन्टिनाले फुटबलका सुपर स्टार लियाेनल मेस्सीकाे कप्तानीमा एउटा पनि विश्वकप उचाल्न सकेकाे छैन ।

अर्जेन्टिनाका कप्तान मेस्सी फूटबलका बादशाहा मानिन्छन् । तर आफ्नाे फुटबलकाे करियरमा मेस्सीले अहिले सम्म आफ्नाे कप्तानीमा देशलाई विश्वकप उपाधी भने दिन सकेका छैनन् । सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि फेरि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन ।

दुई पटक विश्वकप जितेकाे अर्जेन्टिनाले मेस्सी कप्तानीमा भने विश्वकप जित्न सकेकाे छैन । मेस्सीका लागि याे विश्वकप अन्तिम विश्वकप हाे । अन्तिम विश्वकप खेलिरहेका मेसी यस पटक आफ्नै प्रेरणामा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउने योजनामा छन् । जसका कारण आफ्नाे कप्तानिमा अर्जेन्टिनालाई विश्वकप जिताउने मेस्सीकाे सपना साकार पार्न अर्जेन्टिना विश्वकप २०२२ मा अघि बढि रहेकाे छ ।

मेस्सीकाे कप्तानीमा विश्वकप जितेर नयाँ इतिहास रच्ने दाउमा रहेकाे अर्जेन्टिनाले सेमिफाइनलमा क्राेएसियालाई हराएसँगै फाइनलमा फ्रान्सकाे सामना गर्दै छ ।

अर्जेन्टिनाले अहिलेसम्म ६ खेल खेल्दा ३ खेलमा क्लिनसिट राखेको छ । जारी विश्वकपा १२ गोल गरेकाे अर्जेन्टिनाले ५ गोल खाएको छ । अर्जेन्टिनाका लागि कप्तान लियाेनल मेसीले सर्वाधिक ५ गोल गरेका छन् भने युलियन अल्भारेजले ४ गोल गरेका छन् । एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र नाहुएल मोलिनाले समान एकएक गोल गरेका छन् ।

समूह चरणकाे पहिलाे खेलमा हार व्यहाेरेकाे अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

अर्जेन्टिनाले पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित रुपमा २-१ ले पराजित भएकाे थियाे। तर, समूह चरणका पछिल्ला दुई खेलमा राम्राे प्रदर्शन गरेकाे अर्जेन्टिनाले मेक्सिकोलाई २–० र पोल्यान्डलाई अन्तिम खेलमा २–० ले पराजित गर्दै नकआउटमा प्रवेश गरेकाे थियाे । अन्तिम १६ मा अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमा प्रवेश गरेकाे अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टि सुट आउटमा हराउँदै सेमिफाइनलमा पुगेकाे थियाे ।

सेमिफाइनलमा क्राेएसियालाई पराजित गर्दै फाइनल पुगेकाे अर्जेन्टिनाले साबिक विजेता फ्रान्सकाे सामना गर्नेछ ।

लगातार विश्वकप उचाल्ने दाउमा फ्रान्स

चार वर्षअघि रुसमा भएकाे विश्वकपमा क्राेएसियालाई स्तब्ध पार्दै फ्रान्स विश्वविजेता बनेकाे थियाे । फ्रान्स फेरि विश्वकप उपाधि हात पार्ने दाैडमा रहेकाे छ । फ्रान्स लगातार दाेस्राे पटक फाइनलमा स्थान बनाउने राष्ट्र हाे ।

मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टार एमबाप्पेको प्रदर्शनमा फ्रान्स ६० वर्षपछि लगातार दुई पटक विश्वकप विजेता बन्ने योजनामा छ । सेमिफाइनलमा माेरक्काेलाई हराउँदै फ्रान्सले फाइनल पुगेकाे फ्रान्सले अर्जेन्टिनाकाे सामना गर्नेछ ।

फ्रान्सले सेमिफाइनलमा मात्र क्लिनसिट राखेको थियाे । फ्रान्सले यस विश्वकपमा १३ गोल गरेको छ । जसमा किलिएन एमबाप्पेले अर्जेन्टिनी कप्तान मेस्सी समान ५ गोल गर्दा ओलिभर जिरुडले ४ गोल गरेका छन् । यस्तै एड्रिएन राबिओट, औरेलियन चुवामेनी, थियो हर्नान्डेज र रान्डलकोलो मुआमीले समान एक गोल गरेका छन् ।

समूह चरणकाे पहिलाे खेलमा अष्ट्रेलियालाई ४-१ गाेल अन्तरले हाराएकाे फ्रान्सले लगातार दाेस्राे खेलमा डेनमार्कलाई २-१ गाेल अन्तरले हराउँदा अन्तिम खेलमा ट्युनिसियासँग १-० काे हार व्यहाेर्दै थियाे ।

समूह चरणमा एक खेल हार्दै समूह ‘डि’ काे विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेकाे फ्रान्सले नकआउटमा पाेल्याण्डलाई ३-१ ले हराउँदै क्वाटरफाइलमा प्रवेश गरेकाे थियाे ।

गए राति भएकाे क्वाटरफाइनलकाे खेलमा इंग्ल्याणलाई स्तब्ध पार्दै सेमीफानलकाे यात्रा तय गरेकाे थियाे । सेमीफाइनलमा माेराक्काेलाई पराजित गर्दै फ्रान्स लगातार दाेस्राे पटक विश्वकपकाे फाइनलमा पुगकाे छ ।

साबिक विजेता फ्रान्सले फाइनलमा अर्जेन्टिनाकाे सामना गर्नेछ ।

अर्जेन्टिना र फ्रान्सका भेटहरु

अर्जेन्टिना र फ्रान्सकाे हाल सम्म १२ पटक खेल मैदानमा भिडन्त भएकाे छ । १२ खेल मध्ये अर्जेन्टिनाले ६ खेल जितेकाे छ । तीन खेलमा फ्रान्सले जित निकाल्दा तीन खेल भने बराबरीमा सकिएका छन् ।

विश्वकपमा मात्र यी टाेली तीन पटक आमनेसामने भइसकेका छन् । जसमा १९३० काे समूह चरणकाे खेलमा अर्जेन्टिना र फ्रान्सकाे पहिलाे खेल भएकाे थियाे । जसमा अर्जेन्टिनाले समूह चरणमा फ्रान्सलाई १-० गाेलअन्तरले मात्र जितेन । फाइनल सम्मकाे यात्रा तय पनि गर्‍याे । तर फाइनलमा उरुग्वेसँग हारेर उपविजेतामा सिमित भएकाे थियाे ।

यी दुई टाेली १९७८ विश्वकपकाे समूह चरणमा पुन: भिडेका थिए । यसमा पनि अर्जेन्टिना २-१ गाेल अन्तरकाे जित निकाल्न सफल भएकाे थियाे । यस विश्वकाेमा विश्वविजेता बनेकाे थियाे अर्जेन्टिना । जसले फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपकाे उपाधि जितेकाे थियाे ।

विश्वकप २०१८ मा अन्तिम पटक फ्रान्स र अर्जेन्टिनाकाे अन्तिम १६ मा भेट भएकाे थियाे । जसमा अर्जेन्टिनालाई ४-३ गाेल अन्तरले फ्रान्सले हराएकाे थियाे । यस संस्करणमा फ्रान्सले विश्वकप उपाधी नै जित्याे । फ्रान्सले फाइनलमा क्राेएसियालाई हराउँदै विश्वविजेता बनेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !