१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विवाह पञ्चमी, मधेसमा सार्वजनिक बिदा

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार ०२:५९


काठमाडाैं । आज विवाह पञ्चमी पर्व मनाइँदै छ ।

हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर विवाह पञ्चमी मनाउँदै आइएकाे छ ।

त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको धार्मिक विश्वासअनुसार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिएकाे हाे । जनकपुरसहित देशभरका राम-सीता मन्दिरमा विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइन्छ ।

पर्वकाे अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् ।

राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रंगभूमि पुर्‍याइन्छ । जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रंगभूमिमा लगिन्छ । रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

विवाह पञ्चमी पर्वकाे अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएकाे छ । नेपाल तथा भारतको विभिन्न ठाउँबाट तीर्थयात्री जनकपुरधाम पुग्ने गर्छन् । तीर्थयात्रीलाई सहज हाेस भनेर जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई समेत विस्तार गरेर आजदेखि दिनमा ३ पटक सञ्चालनमा ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !