१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज कस्ता गाडी चलाउन पाइन्छ ?

प्रकाशित मिति :  ४ मंसिर २०७९, आईतवार ०२:५९


काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावकाे मतदानकाे दिन आज देशभर ताेकिएका गाडी मात्रै चलेका छन् ।

आज भाडाका गाडी र नियमित चल्ने सार्वजनिक गाडी चलेका छैनन् । निर्वाचन आयाेगका अनुसार आज दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइनेछ ।

आज बिरामी बोकेको एम्बुलेन्स, शवबाहन,दमकल, खानेपानीको ट्यांकर, फाेहाेरमैला ओसारपसार गर्ने गाडी, दूध बोक्ने गाडी चलाउन पाइने छ ।

सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अरू त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्बाध रूपमा गाडी चलाउन पाउने छन् ।

दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी पनि चलाउन पाइनेछ । अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी पनि चलाउन पाइनेछ । कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी र विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी पनि चलाउन पाइनेछ ।

सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडी पनि चलाउन पाइने छ ।



प्रतिक्रिया दिनुहोस !