१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनाव प्रचारमा होमबहादुर थापा र गगन पुरीले केके गरे ?

प्रकाशित मिति :  २ मंसिर २०७९, शुक्रबार १०:५६


-मिना विश्वकर्मा-

मौन अवधी सुरु भएको छ । चुनाव प्रचारको दौरानमा झापा ५ को अवस्था कस्तो देखियो भन्ने चर्चा गरौं ।

केपी शर्मा ओली उम्मेदवार हुनुभएको झापा ५ देशभरी चर्चित छ । तर, यो क्षेत्रको प्रदेश चुनाव र उम्मेदवारहरुको भने हुनुपर्ने जति चर्चा छैन ।

केपी ओली विरुद्ध गठवन्धनका खगेन्द्र पाण्डव अधिकारी भिड्नुभएको छ । पाँच जना दाजुभाई भएकाले कान्छा खगेन्द्रका नाममा पाण्डव जोडिएको छ । यो विषयमा क्षेत्रभरी चर्चा हुने गरेको छ । खगेन्द्रको अर्काे भनाई पनि चर्चामा छ । बैंकमा पाँच वर्ष पैसा राख्यो भने डब्बल हुन्छ, पाँच वर्ष अघि मैले जनतालाई भोट राख्न दिएको थिएँ, त्यो भोट अहिले डब्बल भएको छ भन्दै खगेन्द्रले भन्ने गर्नुभएको छ ।

साँच्चै भन्ने हो भने क्षेत्रमा खगेन्द्रको खासै चर्चा छैन । काठमाडौंका मिडियामा यहाँका स्वतन्त्र उम्मेदवार युग पाठकको खुबै चर्चा देखिन्छ तर क्षेत्रमा चाहिँ उहाँको नाम सुन्ने मानिस विरलै भेटिन्छन् ।

झापा ५ को प्रदेश क मा एमालेका हिक्मत कार्की र गठवन्धनका जीवन राई बीच प्रतिस्पर्धा छ । त्यसैगरी प्रदेश ख मा एमालेका होमबहादुर थापा र गठवन्धनका रेवतराज पुरी गगन बीच प्रतिस्पर्धा छ ।

हिक्मत कार्की प्रदेश मन्त्री भइसक्नुभएको छ, जीवन राई नयाँ हो । जीवनलाई यहाँ कांग्रेसको भन्दा पनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उम्मेदवार भन्ने गरिएको छ । त्यसैले कृष्ण सिटौला समूहले जीवनलाई खासै सघाएको देखिँदैन ।

यो क्षेत्रमा प्रदेश खका होमबहादुर र गगनको चुनावी प्रतिस्पर्धाको चर्चा अलि धेरै नै हुने गरेको छ । उम्मेदवारी दर्ता भए लगत्तै गगन पुरीले निश्चित जित्ने प्रचार व्यापक गराइएको थियो । पछि गगनको होमबहादुरसँग तिब्र प्रतिस्पर्धा हुन्छ भन्ने प्रचार भयो । त्यसपछि होमबहादुरले निश्चित जित्ने भन्ने प्रचार भयो । अहिले चाहिँ होमबहादुरले कति धेरै भोटले जित्नुहुन्छ भन्ने आकलन गर्दैछन् स्थानीयहरु ।

होमबहादुर र गगनका कार्यकर्ता बीच आरोप्रत्यारोप पनि राम्रै चलेको देखियो । गगन पुरी जग्गा कीर्ते, ठगी, सरकारी कागजात नक्कली बनाएको जस्ता आरोप लागेका व्यक्ति हुनुहुन्छ । यो कुराको प्रचार होमबहादुरको पक्षले गर्न खोजेको देखियो । यही अभियोगमा अदालतले वारेन्ट जारी गरेपछि गगन पुरी फरार हुनुभएको थियो । पछि उहाँ पक्राउ परेर लामै समय हिरासतमा बसेर धरौटीमा छुट्नुभएको थियो ।

गगन अहिले पनि ठगी मुद्दा खेपिरहनुभएको छ । स्रोत नखुलेको सम्पत्ति देखिएको आरोपमा उहाँमाथि छानविन भइरहेको छ । अरु पनि मुद्दा लाग्ने अवस्था छ । यो विषयलाई होमबहादुर पक्षले केही मात्रामा प्रचार गरेको देखियो । गगन पक्षले होमबहादुरलाई पनि आरोपको वर्षा गरेको छ । होमबहादुर एकलकाँटे भएको, पार्टी संगठनमा मात्र भर परेको, आम जनतामा खासै नभिजेको, केपी ओलीको विकास प्रतिनिधि भएर काम गर्ने बाहेक अरु काम नगरेको आरोप गगन पक्षले लगाएको देखियो ।

चुनावको अन्तिम समयमा आएर गगनलाई भने एउटा अनौठो आरोप पनि लाग्यो । दिपक फुयेंल नामक कार्यकर्ताले गंगा (नाम परिवर्तन) नामकी मलिालाई बलात्कार गरेको प्रकरणमा गगन थापाले मिलापत्र गराउन खोजेको आरोप लाग्यो । ती महिलाले गगनले बलात्कार काण्ड मिलाउन प्रयास गरेको सार्वजनिक रुपमा आरोप लगाइन् । पछि उनै महिलाले गगन असल मानिस हो भन्दै सार्वजनिक भिडियो वयान जारी गरेकी छिन् । उनले नाटकीय रुपमा वयान फेरेकी छिन् । यो अनौठो प्रकरणमा गगन मुसिँदा उनले गरेको विभिन्न जग्गा घोटाला काण्डहरु भने केही ओझेल परेको देखियो ।

गगनले दमक बालुवाटारको दर्जनौं बिगाहा सरकारी जग्गा घोटाला गरेको आरोप छ, यसमा उनी विरुद्ध मुद्दा पनि चलिरहेको छ । आफू विरुद्ध जग्गा घोटालाको आरोप लागेपछि गगनको पक्षले चीन नेपाल औद्योगिक पार्कका लागि अधिग्रहण गरिएको जग्गा घोटाला गरेको आरोप एमालेलाई लगाउनुभएको छ । थोरै रकम हातमा दिएर धेरै रकम एमालेका नेताहरु, खासगरी केन्द्रीय सदस्य गोविन्द थापाले लिएको आरोप गगन पक्षले लगाएको देखियो ।

स्थानीयले भने यो आरोपको प्रतिवाद गरेका छन् । अधिग्रहण गरिएको जग्गा सीधै सरकारको नाममा गएको, आफूहरुलाई सरकारले बैंक खातामा जग्गाको रकम दिएको स्थानीयको भनाई छ । स्थानीयले धेरै ठूलो रकम मुआब्जा पाएको भन्दै नेता पुरी विगतमा सरकारमा उजुरी हाल्न जानुभएको थियो । अहिले भने उहाँले स्थानीयले धेरै रकम मुआब्जा पाएको भन्दै आरोप लगाउनुभएको छ ।

चुनावका बेला यस्ता आरोप प्रत्यारोप अनेक चलेको देखियो । चुनावका बेला कांग्रेस र माओवादी बीच पनि आरोप प्रत्यारोप चलेको देखियो । क्षेत्र ख मा माओवादीको भोट नगन्य छ भने कांग्रेसको अवस्था राम्रो छ । कांग्रेसको अवस्था राम्रो हुँदाहुँदै पनि जग्गा ठगी र कीर्तेमा परेका माओवादीका नेता पुरीलाई पार्टीले टिकट दिएकोमा कांग्रेसहरु माझ असन्तुष्टि देखिएको छ ।

तर, यति हुँदाहुँदै पनि गठवन्धनको अवस्था कमजोर छ भनेर मान्न मिल्दैन । गत स्थानीय चुनावमा ख प्रदेशको दमक र कमल पालिकाको प्रमुखमा गठवन्धनले जितेको छ । वडा अध्यक्ष तथा पपुलुर भोटमा एमाले अगाडि देखिएको छ । उता, एमालेलाई राप्रपाले साथ दिएको छ । राप्रपाका दमकका मेयर राम थापाले आचार संहिता विपरित रातिराति वैठक गरेर होम थापाको पक्षमा मत मागेको आरोप लागिरहेको छ ।

प्रचारको क्रममा कसले के गरे, के भने, केके आरोप लगाए, ती आरोप र आश्वासनको वास्तविकता के हो भन्ने अहिले मौन अवधीमा मतदाताहरुले समीक्षा गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !