१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धनका नेताहरूलाई राजनीतिको खेतीपाती सुक्ने डर छ- शंकर पोखरेल

प्रकाशित मिति :  ३० कार्तिक २०७९, बुधबार १०:०५


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता सबै एमालेको पछि लाग्छन् भनेर गठबन्धन दलका नेताहरू डराएको बताउनुभएको छ ।

बुधबार बिहान दाङमा आयोजित मतदाता भेटघाट तथा कोण सभा कार्यक्रममा बोल्दै महासचिव पोखरेलले गठबन्धनका नेताहरूलाई राजनीतिको खेतीपाती सुक्ने डर भएको बताउनुभयो । त्यसैको परिणाम स्वरूप नेकपा एमालेलाई सरकारबाट हटाउने काम भएको पोखरेलले प्रष्ट पार्नुभयो ।

गठबन्धनका दल एमालेसँग एक्लै टक्कर गर्न सक्ने अवस्थामा नभएका उहाँले बताउनुभयो । ‘हामीसँग मिलेर टक्कर गर्दै छन्, सामान्यतः राजनीतिमा एक्लै टक्कर गर्नु पर्ने हो तर मिलेर टक्कर गर्दै छन्, यस अर्थ उनीहरूले जनतासँग हारिसकेका छन्’, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका पोखरेलले भन्नुभयो ।

गठबन्धनको नीति जनताको बिचमा पराजित भइसकेको उहाँले बताउनुभयो । गठबन्धनका नेताहरू आफ्नो नीतिबाट देश चलाउन नसक्ने निष्कर्षमा पुगिसकेका पोखरेलले प्रष्ट पार्नुभयो ।

नीति र नेतृत्वको माध्यमबाट देश चलाउन सक्ने पार्टी भनेको नेकपा एमाले भएको उहाँले बताउनुभयो । एमालेले राष्ट्रिय शक्तिको भूमिका खेल्न सक्ने उहाँले दाबी गर्नुभयो ।

यस पटकको निर्वाचनमा एमालेले जनता सामु केही प्रतिबद्धता प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । ‘जसलाई हामीले ट्वान्टी ग्यारेन्टी भनेका छौँ’, उहाँले भन्नुभयो ।

एमालेले सबै दिदी बहिनीको लागि सुरक्षित महिनावारी विशेष भत्ताको कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । त्यस्तै हरेक नागरिकको घरमा धारो, पानी र विद्युतको न्यूनतम महसुलमा छुट, किसानलाई सहुलियत लगायतका तलका जनतासँग प्रत्यक्ष जोडिएको कार्यक्रम एमालेले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । एमाले ल्याएको २० वटा ग्यारेन्टीलाई पूरा गर्न मङ्सिर ४ को निर्वाचनमा एमालेलाई मतदान गर्न उहाँले आह्वान गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !