८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं क्षेत्र नं ४ मा रोचक चुनावी प्रतिस्पर्धा

प्रकाशित मिति :  २१ कार्तिक २०७९, सोमबार ११:०७


काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता डा. राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ ।

०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गर्नुभएको थियो । गत निर्वाचनमा बिजयी थापाले २१ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले–माओवादी)को समर्थन थियो । तर, यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्तागठबन्धनको समर्थन रहेको छ ।

वाम गठबन्धन हुँदासमेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गर्नुभएका थापाले यसपटक पनि दूबैको कडा प्रतिस्पर्धा हुनेदेखिएको न्छ । गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएकोे छ । उक्त क्षेत्रमा कूल १२ वडामध्ये एमाले नौ र कांग्रेस तीन वडामा विजयी भएको छ ।

सो क्षेत्रमा एमालेले काठमाडौं महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १,२,८,९,१०,११,१२ र १३ मा जित हासिल गरेको छ । कांग्रेसले काठमाडौं महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेकोे छ । स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा दुई हजार एक सय ९८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट ध्रुवराज गिरी, नेपाल मजदूर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी रहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ काठमाडौं क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाताको सङ्ख्या रहेको छ । तीमध्ये ३३ हजार चार सय ७४ पुरुष र ३६ हजार दुई सय ७७ महिला छन् । अन्य मतदाताको संख्या एक रहेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !