१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुरु भयाे बडादशैं, आज घटस्थापना

प्रकाशित मिति :  १० आश्विन २०७९, सोमबार ०३:२८


काठमाडाैं । नेपालीहरूकाे महान् चाड बडादशैं आजदेखि सुरू भएकाे छ ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशैं सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन उत्सवसाथ दशैं मनाइन्छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनाको शुभसाइत बिहान १० बजेर ३० मिनेटमा छ ।

आजदेखि नवरात्री सुरू हुन्छ । घटस्थापनाकाे दिन घर घरमा जमरा राखेर विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी देवी-देवताको आह्वान गरिन्छ । बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले उहाँलाई खुशी पार्न जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ । माटोको शुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरी घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआराधना गरिन्छ ।

आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाकाे पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

नवरात्रकाे पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दशै‌लाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

बडादशैंको साताैं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।

परम्परानुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दशै‌ंघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा देवीको पूजाराधना सुरु हुन्छ । नवरात्रकाे अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

दशैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई असाेज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय ठाउँमा भने विजयादशमीकाे दिन मात्र टिका थाप्ने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !