१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महिलाले महिला विरुद्ध बोल्यो नभन्नु होला: गंगा चौधरी

प्रकाशित मिति :  २३ जेष्ठ २०७९, सोमबार ०७:२०


काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरीले कानुन समाजको दर्पण भएको बताउनुभएको ।

सोमबार प्रतिनिधि सभा बैठकमा यौन हिंसा विरुद्धको कानुन संशोधन गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् चौधरीले कानुन जति कठोर बनाए पनि कार्यान्वयन फितलो भयो भने त्यसले काम गर्न नसक्ने बताउनुभयो । कानुन बनाउँदा फितलो बनाउनु नहुने कुरामा पनि त्यतिकै ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।

चौधरीले सांसद्ले भावनामा बगेर कानुन निर्माण गर्नु नहुने बताउनुभयो । कानुन बनाउँदा सिङ्गो समाजको भावना सम्बोधन गर्ने गरी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । संसद्ले एउटा व्यक्ति, वर्ग वा समुदायको लागि मात्र ध्यान दिएर कानुन बनाउन नमिल्ने उहाँले बताउनुभयो । ‘म महिला हुँ भन्दैमा महिलाको भावना मात्र बुझ्नु हुँदैन, हामीले पुरुषको भावना बुझ्न पनि जरुरी छ’, उहाँले भन्नुभयो ।

पल शाह प्रकरणको उदाहरण दिँदै चौधरीले मन मिलुञ्जेल लभ हुने मन नमिलेपछि बलात्कार हुने कुरा नाजायज भएको बताउनुभयो । उहाँले पूर्व सभामुखलाई समेत नियतवश ६ महिनासम्म बलात्कारको मुद्दा लगाएर जेल हालिएको बताउनुभयो । ‘जबसम्म मन मिल्यो त्यसलाई लभको संज्ञा दिने, आफ्नो स्वार्थ पुरा भएन त्यसलाई बलात्कारको संज्ञा दिने’, उहाँले भन्नुभयो ।

चौधरीले बलात्कारको मुद्दामा हदम्याद नराखिने कुराको आलोचना गर्नुभयो । ‘यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ, अनि न्याय कसरी पाउँछन् ? दृष्टिकोणले पनि हेर्न जरुरी छ, मलाई महिला हो, महिलाको विरुद्ध बोल्यो नभन्नुस्’, चौधरीले भन्नुभयो ।

उहाँले आफू सांसद् भएकोले देशको हितमा काम गर्नु पर्ने बताउनुभयो । उहाँले पुरुषको पीडालाई पनि हेरेर कतिपय कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । विदेशमा बसेका कतिपय पुरुष अहिले पीडामा रहेको प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो । पुरुषको लागि पनि बोल्ने आधार तयार हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !