८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुनै पनि दातृराष्ट्रसँग सहयोग लिँदा समयमा नै विचार पुर्‍याउनु पर्छ-केपी ओली

प्रकाशित मिति :  १७ फाल्गुन २०७८, मंगलवार ०८:५८


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दातृराष्ट्रसँग सहयोग लिँदा समयमा नै विचार पुर्‍याउनु पर्ने बताउनुभएको छ ।

राष्ट्रिय आवश्यकता र प्राथमिकता भित्र पर्छ कि पर्दैन भन्ने कुरा सहयोग लिनु अघि नै बिचार गर्नुपर्ने उहाँले बताउनुभयो । एमसीसी बारे प्रष्ट पार्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले राष्ट्र र राष्ट्रिय हित विपरीत हुने कुनै पनि सहयोग एमालेले नस्विकार्ने बताउनुभयो ।

एमसीसी सम्झौता गर्ने बेलामा पनि एमाले प्रमुख प्रतिपक्षमा नै रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यस बेला पनि कस्तो भाषा प्रयोग गर्ने, सम्झौतामा के कुरा राख्ने भन्ने विषयमा एमालेसँग छलफल नगरिएको उहाँले बताउनुभयो ।

एमसीसीलाई राजनीति नगरी एउटा विकास परियोजनाको रूपमा लिनु पर्नेमा देशमा मतभेद सिर्जना गर्न खोज्ने र द्वन्द्व सिर्जना गर्न खोज्ने तत्त्वले त्यसलाई राजनीतिकरण गरेको उहाँले बताउनुभयो । एमसीसीको विरोध गर्नेहरूले सत्ता स्वार्थको लागि पुनः त्यसलाई पास गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘राष्ट्रिय स्वाभिमान कुनै पनि हिसाबले तलमाथि पारिन खोजियो भने एमालेले स्विकार्दैन’, उहाँले भन्नुभयो ।

एमसीसी टेबल गर्नुपरे झुण्डिन्छु भन्ने सभामुखले अन्ततः एमसीसी टेबल गराएर पास गराएको उहाँले बताउनुभयो । सभामुख संविधान, संसदीय व्यवस्था र एमाले विरोधी भएको उहाँले दाबी गर्नुभयो ।

एमसीसीको बारेमा गरिएको व्याख्यात्मक घोषण जनतालाई झुक्याउने कुरा मात्र भएको उहाँले प्रष्ट पार्नुभयो । ‘एमसीसी व्याख्यात्मक घोषण नेपाली जनतालाई छक्याउने, झुक्याउने चाल हो, त्यसको कुनै अर्थ छैन’, ओलीले भन्नुभयो ।

एमालेले एमसीसीको बारेमा पास हुनु अघि नै धराणा राख्न खोजको भए पनि प्रतिनिधि सभामा त्यो वातावरण नबनाइदिएको उहाँले बताउनुभयो । एमसीसी संसदको छलफलको विषय भए पनि सभामुखले एकपक्षीय भएर एमसीसीको बारेमा प्रतिनिधि सभामा छलफल गर्न नदिएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !