१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टिफिनका लागि घण्टी लाग्यो कि

प्रकाशित मिति :  १५ फाल्गुन २०७८, आईतवार ०५:१०


महोत्तरी । यहाँथित माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् । विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो ।

“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन् । सोनीजस्तै उनका साथी सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ । “अरु विषयको घण्टी कहिलेकाहीँ छुट्दा साथीहरूबाट पनि सोधपुछबाट बुझिन्छ, कम्प्युटर छुट्दाचाहिँ गाह्रो”, निक्कीले भनिन् । विद्यालयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ । पाँचौँदेखि सातौँ घण्टीसम्म फरक–फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौँ घण्टीमा कक्षा ६ को पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि ?’ भनेर चनाखो रहनुपरेको हो ।

विद्यालयमा २२ थान कम्प्युटर छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ । कक्षा–कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउनुहुन्छ । “हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौँ, केही थान कम्प्युटर थप्न पर्ने छ, कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको”, उहाँ बताउनुहुन्छ ।

कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ । पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुर बताउनुहुन्छ । “विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ ।”

विद्यालयले चालुआर्थिक वर्षदेखि कम्प्युटर कक्षा सञ्चालनमा आएको हो । कोभिड–१९ महामारीले लामो समय विद्यालय बन्द नै रहेको हुँदा भर्खरमात्र नियमित पठनपाठन हुन थालेको छ । यसअघि चार वर्ष पहिले जिल्ला शिक्षा विकास एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षकको अभावमा थन्किएर रहेका थिए । नगर कार्यपालिकाको कार्यालयले विषय शिक्षक दिएपछि बल्ल यसपालि कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको प्रधानाध्यापक श्रीराम यादवले जानकारीदिनुभयो । विद्यार्थी सङ्ख्याअनुसार कम्प्युटर अपुग रहेको हुँदा यसका लागि स्थानीय तहलाई झकझक्याई रहेको उहाँको भनाइ छ ।

बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ३६८ विद्यार्थी छन् । यसमा ७५५ छात्राको सङ्ख्या छ । त्यसैगरी आधारभूततह (बाल कक्षादेखि आठसम्म) मा ८७६ जम्मा विद्यार्थीमध्ये छात्रा ४६२ छन् । यस्तै माध्यमिक तह (नौदेखि १२) मा ४९२ विद्यार्थीमध्ये २९३ छात्रा रहेका विद्यालय प्रशासनले जनाएको छ । जिल्लाकै पुरानामध्येको यो विद्यालय नगर क्षेत्रको मुख्य केन्द्र सीतापुरबजारमा रहेको हुँदा अन्यभन्दा विद्यार्थी चाप बढी छ । विद्यालयको नियमित पठनपाठनमा शिक्षक सङ्ख्या अपुग हुँदै आएको छ ।

नगरपालिका भनिए पनि ग्रामीण परिवेशका नगर क्षेत्रका विद्यालयमा छात्रा सङ्ख्या बढी हुने गरेको छ । कम्प्युटर विषयलाई विस्तार गर्न सके नवीनतम् प्रविधिमा ग्रामीण छोरीको पहुँच बढ्ने हुँदा तीनै तहका सरकारले यस दिशामा पहलकदमी बढाउन आवश्यक रहेको यस भेगका बुद्धिजीवी बताउँछन् ।
–रासस



प्रतिक्रिया दिनुहोस !