७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तुलसीपुरमा आगलागीबाट पाँचकाे ज्यान गयाे

प्रकाशित मिति :  २८ माघ २०७८, शुक्रबार ०६:०८


दाङ। तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको ज्यान गएकाे छ । ज्यान जानेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर ज्यान गएकाे हाे । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो । पाँचै जनाको निसास्सिएर ज्यान गएकाे प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो । अहिले पाँचै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो ।

यसैबीच पाँच जनाको निसास्सिएर ज्यान गएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिनुभयो ।
–रासस



प्रतिक्रिया दिनुहोस !