२ माघ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओमिक्राेन जोखिम भएका देशमा अत्यावश्यक नभइ भ्रमण नगर्नू – अध्यागमन विभाग

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार ०१:३४


काठमाडौं । काेभिड-१९ काे नयाँ भेरियन्ट ओमिक्राेन फैलिएका देशमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न अध्यागमन विभागले  अनुराेध गरेकाे छ ।

नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई ती देशमा अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न बुधबार सूचनामार्फत अनुराेध गरेकाे हाे । ओमिक्रोन देखिएका देश (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती देशलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मंसिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि सूचनामा उल्लेख छ । गत तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुका हकमा समेत साे निर्णय लागू हुनेछ ।

ती ९ देश र काेभिडकाे उच्च जोखिम भएका अन्य देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा समेत विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिडसँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिइनेछ । खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए संस्थागत आइसोलशनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिए घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।

खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउइनेछ । परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिइने सूचनामा उल्लेख छ ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गत असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने विभागले जनाएकाे छ । ओमिक्रोन भेरियन्ट देखिएका देशबाट आएका यात्रुलाई क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने सूचनामा उल्लेख छ । काेभिड-१९ संक्रमण फेरि फैलिन थालेपछि विभागले सतर्कता अपनाउन अनुराेध गरेकाे हाे ।

 

 



प्रतिक्रिया दिनुहोस !