२१ मंसिर २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ठाडाखानीको आयस्रोत आलु र भेडापालन

प्रकाशित मिति :  १४ कार्तिक २०७८, आईतवार ०८:१६


गलेश्वर । खनिज र वनस्पतिका स्रोत प्रशस्तै रहेको रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानीमा ती स्रोतको सदुपयोग हुन नसकेपछि स्थानीयवासीले कृषि र पशुपालनलाई नै आयस्रोतको माध्यम बनाएका छन् । तामाखानी र जडिबुटीको प्रशस्तै सम्भावना रहेको ठाडाखानीमा खानी उत्खनन र जडीबुटी सङ्कलनको अनुमति नहुँदा आम्दानीका लागि स्थानीवासीले कृषितर्फ आलुखेती र पशुपालनतर्फ भेडापालन गरेर जीविका चलाइरहेका हुन् ।

छन्त्याल र दलित समुदायका गरी ९० घरधुरीको बसोबास रहेको ठाडाखानीमा ३७ घरपरिवारले व्यावसायिक भेडापालन गरेको मालिका भेडापालन समूहका नरेश छन्त्यालले बताउनुभयो । गाउँमा हाल दुई हजार १०० भेडा रहेका छन् । एक जनाले १५ देखि १०० सम्म भेडा पालेका छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार गाउँबाट वर्षमा तीन सय भन्दा बढी भेडा बिक्री हुने गरेको छ । एउटा भेडालाई रु दश देखि २३ हजारसम्ममा बिक्री गर्न सकिने छन्त्यालले बताउनुभयो । उहाँका अनुसार भेडा बिक्री गरेर ठाडाखानीमा वार्षिक रु तीस लाख भन्दा बढी भित्रिने गरेको छ । उच्च पहाडी क्षेत्रमा अवस्थित ठाडाखानीको नजिकै प्रशस्त जङ्गल रहेकाले भेडाका लागि चरनको समस्या छैन ।

चिसो हावापानीमा हुर्कीएका भेडाको मासु स्वादिलो र स्वथ्यकर हुने भएकाले ग्राहक गाउँमै पुग्ने गरेका छन् । म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट बलि चढाउन भेडा किन्न सर्वसाधारण ठाडाखानी पुग्छन् । बिम, दरवाङ र पाखापानीको सिमानामा पर्ने धार्मिकस्थल मालीकामा बलि चढाउनेले समेत ठाडाखानीबाटै भेडाको साँड किन्ने गरेका छन् ।

उनीहरुले घरकै खोरमा भेडा पाल्ने गरेका छन् । धेरैजसो ठाउँमा जङ्गलमै भेडाको गोठ राख्ने चलन छ । छोराछोरी पढाउन र घरखर्च चलाउनका लागि भेडापालन सहयोगी बनेको स्थानीय टेकजीत छन्त्यालले बताउनुभयो । भेडापालनपछि यहाँका बासिन्दाले आलु बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

स्थानीय किसान हिमाली छन्त्यालका अनुसार आलु बिक्री गरेर यहाँका बासिन्दाले वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् । पूर्वतर्फ फर्केको भिरालो जमिनमा हिउँदे र बर्खे गरी दुई सिजनमा आलु लगाउने गरिएको किसान छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको ४५ हेक्टर भन्दा बढी जमिनमा व्यावसायिक आलुखेती हुने गरेको छ ।

किसानमा व्यावसायिक ज्ञान, सीप तथा प्रविधिमा पहुँच नहुँदा भेडापालन र आलुखेती व्यवस्थित बन्न भने नसकेको स्थानीय बासिन्दा खेमबहादुर विकले बताउनुभयो । आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, घाँस, ऊन काट्ने कैची, खोर व्यवस्थापन, डिपिङ टङकी र तालीमको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
–रासस


6
Shares

प्रतिक्रिया दिनुहोस !