७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले अध्यक्ष ओलीद्धारा वडा अधिवेशन उद्घाटन

प्रकाशित मिति :  ६ कार्तिक २०७८, शनिबार ०७:१२


काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत देशभरका वडामा वडास्तरकाे अधिवेशन सुरु भएकाे छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट देशभरका वडाहरुमा वडा अधिवेशनकाे उद्घाटन गर्नुभयाे । अध्यक्ष ओलीले इन्टरनेटको पहुँच भएका वडाको अधिवेशन एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएकाे हाे ।

अहिले अध्यक्ष ओलीले भर्चुअल माध्यमबाटै सम्बाेधन गरिरहनुभएकाे छ । अध्यक्ष ओलीले भव्यतापूर्वक र सर्वसम्मतीसाथ वडा अधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयाे । वडा अधिवेशन दुनियाँका लागि नै अनुशरणयाेग्य हुने गरी सम्पन्न गर्न उहाँले सबैलाई आग्रह गर्नुभयाे । एकैपटक यति धेरै वडा अधिवेशन गर्नु सम्भव नहुने भएपनि एमालेले सम्भव गरेकाे उहाँले बताउनुभयाे ।

देशभरका ६ हजार ७ सय ४३ वडामा वडा अधिवेशन गर्न खाेजिएपनि हालै परेकाे पानीका कारण केही ठाउँ आज अधिवेशन नहुने उहाँले बताउनुभयाे । ती ठाउँमा चाँडै नै अधिवेशन गरिने बताउनुभयाे ।

वडा र पालिका अधिवेशनमा विभिन्न पदाधिकारी तथा सदस्य चुनिनेछन् । एमाले प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार वडा र पालिकाका पदाधिकारी तथा सदस्यकाे पनि टुंगाे लागेकाे छ । वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपपसचिव निर्वाचित हुनेछन् ।

गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन् । उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्य चयन हुनेछन् । कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्य निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १ सय १ सदस्यीय हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !