६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माक्र्सपछि लेनिन भने झैं मदनपछि केपी ओली भन्न कन्जुस्याईं गर्न हुँदैन-गोविन्द थापा

प्रकाशित मिति :  २२ आश्विन २०७८, शुक्रबार १६:०८


-गोविन्द थापा
मार्क्स, ऐंगेल्स, लेनिन, माओ… कम्युनिष्ट सैद्धान्तिक विचारधारका चिन्तक धेरै छन् । विश्व कम्युनिष्ट आन्दोलनको एउटा मुख्य हिस्सा नेपाली कम्युनिष्ट आन्दोलन हो । नेपाल र नेपालीको सन्दर्भमा कम्युनिष्ट विचारधारालाई प्रयोग र व्याख्या गर्ने काम जनताको बहुदलीय जनवाद (जबज) बाहेक अरुले अहिलेसम्म गर्न सकेको छैन ।

अब जबजले नयाँ उचाई पाएको छ । एमालेको नेतृत्वमा बनेको पछिल्लो सरकार र त्यसपछि गरिएको विधान महाधिवेशनले जबजलाई नयाँ उचाई दिएको छ । एमालेको विधान अधिवेशनलाई जबजको कोणबाट व्याख्या गर्न आवश्यक हुन्छ । यसका लागि अलिकति इतिहासको व्याख्या गरौं ।

नेकपा एमालेको पाँचौं महाधिवेशनले जबजलाई अगाडि सार्यो । जननेता मदन भण्डारीले अगाडि सार्नुभएको सो विचारलाई परिमार्जन, परिष्कृत र नयाँ उचाईमा उठाउने काम खासै गरिएन । बरु, एमालेलाई कहिले माओवादीको पिछलाग्गू, कहिले कांग्रेसको पुच्छर बनाउने काम गरिँदै आएको थियो । एकताका त जबजलाई प्रचण्डपथको पुच्छर बनाउने प्रयास समेत गरिएको थियो ।

जबजको सफलताको चर्चा गर्दा प्रचण्डपथको चर्चा गर्नैपर्ने हुन्छ । जबजको विकल्पमा प्रचण्डपथलाई अगाडि ल्याइएको थियो । जसले प्रचण्डपथ अगाडि सार्यो, उनीहरु आज प्रचण्डपथको ‘प्र’ पनि उच्चारण गर्न मान्दैनन्, सक्दैनन् । आफ्ना सामु कसैले ‘प्रचण्डपथ’ को उच्चारण गर्यो भने लाजले शिर निहुराउँछन् । उनीहरु माओवाद समेत उच्चारण गर्न लजाउँछन् । पार्टीको नाममा ‘माओवादी’ शब्द झुण्डिएको छ तर त्यो शब्दलाई कसरी मिल्काउने भनेर प्रयास गरिरहेका छन् । तर, जबज यति सफल छ कि एमालेबाट चोइटिएर जानेहरु समेत जबजकै सुगा रटाई गर्छन् ।

मनमोहन अधिकारी नेतृत्वमा ०५१ सालमा बनेको सरकारले जबज भनेको दस्तावेजमा सीमित विचार होइन, जनताको दैनिक जीवनको जिवन्त विषय हो भन्ने सिद्ध गर्यो । त्यसपछिको कालखण्डमा जबजलाई दस्तावेजमा कैद गर्न खोजियो । जबज र एमालेलाई क्षतविक्षत बनाउन खोजियो । जबजसँगै नेकपा एमालेको पहिचान लगभग समाप्त पार्न खोजियो । लिंग नछुट्टिने पार्टीका रुपमा एमालेको परिचय बनाइयो । माओवादीको भ्रातृ संगठनका रुपमा एमालेलाई र प्रचण्डपथको छायाँ जबजलाई बनाउने प्रयास गरियो ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा जबजलाई एक ढंगले निलम्वित गर्न खोजिएको थियो । जबज उच्चारण गरे कारवाही गर्नुपर्छ भन्न समेत बाँकी राखेका थिएनन् । पार्टीभित्र जबजलाई निलम्वित गर्न खोजिए पनि देशमा चाहिँ झन् फैलियो । जबजलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारमा उतार्नुभयो, विकास र समृद्धिमा उतार्नुभयो । जबज भनेको विकास र समृद्धि हो भन्ने केपी ओलीले स्थापित गर्नुभयो । जबजलाई विचारधारात्मक तथा सैद्धान्तिक रुपमा माथि उठाउन, देशको मूल विचार बनाउन केपी ओलीको निर्णायक योगदान छ । त्यसैले माक्र्सपछि लेनिन भने झैं मदनपछि केपी शर्मा ओली भन्न कन्जुस्याईं गर्न हुँदैन ।

नेकपा भताभुंग नभएको भए त्यसको महाधिवेशनले जबजलाई नै अंगीकार नगरी सुखै थिएन । जबज बोकेको पार्टी मात्र नेपालको कम्युनिष्ट मूलधार हो, मुख्य पार्टी हो भन्ने जनतामा स्थापित भइसकेको छ । त्यसैले नेकपाको बाटो जबज नै थियो । नेकपा किन भताभुंग भयो भन्ने यहाँ चर्चा नगरौं । भताभुंग नेकपाको मूलधार अर्थात् नेकपा एमालेको विधान महाधिवेशनका बारेमा यहाँ चर्चा गरिन्छ ।

विधान महाधिवेशनले नेकपा एमालेलाई मात्र नभएर देशलाई नै सुन्दर र सहज बाटो देखाइदिएको छ । नेपालको राजनीति, राजनीतिक संस्कृति, राजनीतिक विधिविधान तथा राजनीतिक दलहरुलाई पनि एमालेको विधान महाधिवेशनले बाटो देखाएको छ ।

१– एमाले फुटेको व्यापक प्रचार गराइएको थियो । देशभरीका अगुवा नेता कार्यकता सहभागी महाधिवेशनले के प्रष्ट पार्यो भने एमाले फुटेको होइन, चोइटिएको मात्र हो । केही मानिसको समूह चोइटिँदा एमालेलाई सानो घाउ लागेको थियो । त्यसमा मल्हम पट्टि गरिएको थियो । विधान महाधिवेशनले मल्हमपट्टि हटाएको छ । चोट पूरै निको भएको छ । हो, चोटको खत भने केही समय रहन सक्छ ।

२– एमाले–माओवादी एकीकरणले बनेको नेकपाको कुनै संगठनात्मक गतिविधि थिएन । भीड संगठन होइन र संगठन भीड होइन । शशक्त संगठन तथा अपार जनविश्वास भएको एमाले र अराजक भीडका रुपमा रहेको माओवादीको एकतापछि नेकपा भीडमा परिणत भएको थियो । माओवादीमा पार्टी पद्धति छैन, विधि विधान छैन, पुष्पकमल दाहाल प्रचण्डको इच्छा र आदेश नै सबैथोक हो । नेकपालाई पनि त्यस्तै बनाउन खोजियो । तीन वर्षदेखि पार्टी गतिविधि ठप्प हुँदा तत्कालीन एमालेका कार्यकर्ता निष्क्रिय हुनु परेको थियो, संगठनमा खिया लागेको थियो । विधान महाधिवेशनसँगै एमाले पुनजागृत भएको छ । विधिविधानमा चल्ने, पार्टी र कमिटी पद्धति भएको, विचार र अनुशासन भएको पार्टीका रुपमा एमालेले नयाँ उचाई लिएको छ ।

३– एमालेमा उर्जा छ, दृष्टिकोण छ, नीति र कार्यक्रम छ, अनुशासन छ, अत्यन्तै प्रभावशाली संगठन छ, उन्नत चेतानले युक्त कार्यकर्ता छन्, देश र जनताप्रति समर्पित नेता छन्, जबजका रुपमा उत्कृष्ट विचार छ । यतिले मात्र पार्टी बन्दैन, यसका लागि चाहिन्छ एकीकृत प्रयास । पानी र चामल दुईटा भाँडामा राख्दैमा भात बन्दैन । त्यसका लागि मात्रा मिलाएर चामल पानी मिसाउनुपर्छ, आगोमा पकाउनुपर्छ, अनि मात्र भात बन्छ । त्यसैगरी सबै खालका गुण र विशेषता हुँदैमा पार्टी प्रभावशाली बन्दैन । पार्टीमा रहेका सबै गुण र विशेषतालाई एकीकृत गरेर त्यसलाई ठोस आकार दिनुपर्ने हुन्छ । हो, यो काम विधान महाधिवेशनले गरेको छ । विधान महाधिवेशनले नेकपा एमालेलाई संगठनात्मक र वैचारिक रुपमा ठोस आकार दिएको छ । यो नै विधान महाधिवेशनको सबैभन्दा मुख्य उपलब्धीमध्ये हो ।

४– एमालेसँग मिलेर एमालेकै गला रेट्ने माओवादीको नीतिको परिणाम स्वरुप दुई वर्ष लगातार नेकपामा विवाद भयो, विभाजन भयो । केही वर्षसम्म एमालेको संगठन मृतप्राय भयो । राजनीतिक, वैचारिक र संगठनात्मक रुपमा एमाले रहेन । त्यसलाई पुनजिवित र पुनजागृत गर्नु देश र जनताको परम कर्तब्य थियो । त्यो कर्तब्य विधान महाधिवेशनले पूरा गरेको छ । एमाले र माओवादी भिन्न भएपछि एमाले पहिलेभन्दा शक्तिशाली बनेर उदाएको छ तर माओवादी अस्ताउँदै छ । यसको कारण के हो ? कारण हो विचार । एमालेसँग जबज छ, माओवादीसँग विचार छैन । एमालेको विधान महाधिवेशनले यो कुरा छर्लंग देखाइदिएको छ ।

५– मुख्य राजनीतिक दलहरु तथा मुख्य नेतृत्वले नै देशलाई बाटो देखाउने विचार दिनुपर्ने हुन्छ । देशलाई बाटो देखाउने विचार नेपाली कांग्रेसबाट सम्भव छैन भन्ने इतिहासले सिद्ध गरिसकेको छ । त्यस्तो विचार दिनुपर्ने पार्टी नेकपा एमाले थियो । जबजलाई दस्तावेजमा कैद गरेर अल्मलिएको एमालेले विधान महाधिवेशन गरेर देशलाई बाटो देखाएको छ । त्यसैले नेपालको इतिहासमा एमालेको विधान महाधिवेशन विशेष खालको परिघटनाका रुपमा दर्ज हुनेछ ।

६– नेपालको इतिहासमा तीनवटा सरकार ऐतिहासिक छन् । पहिलो हो मनमोहन अधिकारी नेतृत्वको ०५१ सालमा बनेको एमालेको सरकार । दोस्रो हो केपी शर्मा ओलीको नेतृत्वमा बनेको नाकावन्दी कालखण्डको सरकार र तेस्रो हो केपी ओली नेतृत्वमा आमचुनावपछि बनेको सरकार । अब फेरि त्यस्तै सरकार देशले पाउँछ कि पाउँदैन ? आम जनताको यो चिन्तालाई एमालेले विधान महाधिवेशन मार्फत् सम्बोधन गरेको छ । विधान महाधिवेशनले एमाले पार्टी अत्यन्त सुदृढ, एकतावद्ध, जनताप्रति प्रतिवद्ध छ भन्ने फेरि एकपटक स्थापित गरिदिएको छ । भावी दिनमा एमालेले विगतको भन्दा प्रभावकारी सरकार बनाउँछ भन्ने विश्वास जनतामा जगाइदिएको छ । यस अर्थमा विधान महाधिवेशन एमालेका लागि मात्र नभएर मुलुककै लागि मार्गदर्शक बनेको छ ।

७– संसदीय लोकतन्त्र समृद्ध हुन दुई मुख्य राजनीतिक पार्टी चाहिन्छ । नेपाली कांग्रेसले सामन्त, जमिन्दार, घूसखोर, सूदखोर, शोषक, जनविरोधी तथा बुर्जुवा वर्गको प्रतिनिधित्व गर्छ । आम जनताको प्रतिनिधित्व गर्ने, देश र जनताको रक्षा गर्दै विकास गर्ने, न्यायप्रेमी, शोषण रहित समाज सिर्जना गर्नुपर्छ भन्ने, विकास र समृद्धि चाहने वर्गको प्रतिनिधित्व एमालेले गर्छ । कम्युनिष्ट नाममा भ्रम छर्ने पार्टीहरु पनि नेपालमा छन् । अब नेपालमा कम्युनिष्ट मूलप्रवाह नेकपा एमाले नै हो, देशको भविष्य एमाले नै हो भन्ने विधान महाधिवेशनले देशलाई बुझाइदिएको छ, जनतामा विश्वास जगाइदिएको छ । एमालेको विधान महाधिवेशनपछि पनि प्रष्ट भयो– अब देशमा दुईटा मुख्य पार्टी छ– जनपक्षीय नेकपा एमाले र जनविरोधी नेपाली कांग्रेस । लोकतन्त्रको विकासमा यसले ठूलो योगदान दिनेछ ।

८– जबज नै नेपालको राजनीतिक बाटो हो भन्ने विगत ३० वर्षले सिद्ध गरिसकेको छ । नेपाली कांग्रेसले संसदीय व्यवस्था भन्दै आएको थियो तर त्यसलाई नेपालको सन्दर्भमा व्याख्या गर्न सकेको थिएन । जननेता मदन भण्डारीले प्रतिस्पर्धात्मक राजनीतिक संसदीय व्यवस्था सहितको राजनीतिक प्रणाली नै नेपालको बाटो हो भनेर व्याख्या गर्नुभयो । उहाँले प्रतिपादन गर्नुभएको जबजलाई नयाँ सन्दर्भमा व्याख्या गर्ने, जबजलाई जनताको जीवनमा उतार्ने काम खासै हुन सकेको थिएन । पछिल्लो कालखण्डमा केपी शर्मा ओली नेतृत्वको पहिलो र दोस्रो सरकारले विकास र समृद्धि नै नेपाली जनताको आकांक्षा हो र त्यसलाई पूरा गर्ने काम जबजले गर्छ भन्ने मान्यता स्थापित गर्यो । जबज भनेको विकास र समृद्धि हो भन्ने मान्यतालाई केपी ओलीले अगाडि बढाउनुभयो । जसरी माक्र्सको विचारलाई लेनिनले नयाँ उचाईमा उठाउनुभयो, त्यसैगरी मदनको विचारलाई केपीले नयाँ ढंगले नयाँ उचाईमा उठाउनुभयो । यसलाई विधान महाधिवेशनले संस्थागत गरिदिएको छ ।

९– कुनै पनि देशको कम्युनिष्ट आन्दोलन अन्तराष्ट्रिय सिद्धान्तका आधारमा मात्र अगाडि बढ्न सक्दैन, देश सापेक्ष विचार त्यसमा थप्नुपर्छ, परिष्कार गर्नुपर्छ भन्ने स्थापित तथ्य हो । यस मामिलामा जबजले विश्व कम्युनिष्ट आन्दोलनलाई नै बाटो देखाएको छ । केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा जबजलाई आत्मसात गर्दै विकास र समृद्धिमा पुराएको महत्वपूर्ण योगदानको आलोकमा देश र एमाले अगाडि बढ्ने सैद्धान्तिक धारा विधान महाधिवेशनले स्थापित गरेको छ । कम्युनिष्ट विचारधारा भनेको जबज हो, जबज भनेको विकास र समृद्धि हो अनि विकास र समृद्धि भनेको नेकपा एमाले हो भन्ने विधान महाधिवेशनले स्थापित गरेको छ । नेपाल र नेपालीका लागि यो ठूलो उपलब्धी हो ।

१०– राजनीतिक दल कस्तो हुनुपर्छ, दलको आन्तरिक व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने अन्यौललाई एमालेको विधान महाधिवेशनले चिरेको छ । राजनीतिक दल भनेको नेतृत्व मात्र नभएर विचार पनि हो भन्ने स्थापित गर्न नेपालमा गाह्रो परिरहेको थियो । यस्तो बेला एमालेले विचार, सिद्धान्त र विधि निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि बेग्लै महाधिवेशन गर्ने नौलो अभ्याश थालनी गरेको छ । एमालेले थालनी गरेको यो अभ्याश अत्यन्तै सफल भएको छ । आगामी दिनमा अन्य राजनीतिक दलहरुले पनि यो बाटो अंगाल्नु अपरिहार्य छ । एमालेको विधान महाधिवेशनले सबै राजनीतिक पार्टीलाई बाटो देखाएको छ ।

११– अतितमा नेपालमा संसदीय प्रणालीको अगुवा कांग्रेस थियो, जबजको प्रतिपादनसँगै एमाले पनि अगाडि आयो । जबजले लोककल्याणकारी राज्य र जनमुखी प्रतिस्पर्धात्मक संसदीय व्यवस्था भन्यो । जबजले परिकल्पना गरेको बाटोमा आउन नेपालका सबैखाले कम्युनिष्ट पार्टीहरु वाध्य भए । यद्यपी उनीहरु जबजलाई चाहिँ मान्दैनौं भन्छन्, जबजले देखाएको बाटोमा हिँड्ने तर जबज मान्दिनँ भन्ने अनौठो काम उनीहरु गरिरहेका छन् । लोककल्याणकारी संसदीय प्रणालीको बाटोमा आउन कांग्रेस पनि वाध्य भइसकेको छ । यस अर्थमा जबज नेपालका सबै मुख्य राजनीतिक शक्तिहरुले मानिसकेका छन् । जबजलाई जनताको दैनिक जीवनमा उतार्ने काम भने एमालेले मात्र गरेको छ, एमालेको सरकारले गरेको छ ।

निष्कर्ष

नयाँ संविधान बनेपछि एमाले नेतृत्वको सरकारले संघीयताको व्यवस्थापन गर्ने काम गर्यो । यो अत्यन्तै चुनौतीपूर्ण थियो । केपी ओली नेतृत्वको सरकारलाई अपदस्त गरिए पनि त्यो सरकारले नेपालमा विकास र समृद्धिको जग हालेको छ । अस्थिरताको सिकार बने पनि त्यो सरकारले स्थिरताको जग हालेको छ ।

अहिलेसम्म हासिल भएका राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउने पथ प्रदर्शक जजब नै हो । जबजलाई नयाँ उचाईमा पुराउँदै एमालेको विधान महाधिवेशनले देशलाई मार्गनिर्देशित गरेको छ । विधान महाधिवेशनले देखाएको बाटोले एमालेलाई आगामी दिनमा हुने स्थानीय, प्रदेश र केन्द्रीय चुनावमा ठूलो बहुमत दिलाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस !