१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि तालिवान लडाकूको नियन्त्रणमा

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार ११:१६


काबुल । विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् ।

घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् ।

पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् ।

लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्, एक अधिकारीले पत्रकारसँग भने । उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भीडन्त भइरहेको छ ।

सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन् ।

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनु भएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनु भएको हो ।

यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !