१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ आयाेजना गर्न नेपाल तयार छ – प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ०९:३६


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय अन्तराष्ट्रिय फुटबलकाे उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गर्नुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले नेपाली टाेलीलाई सम्मान गर्नुभएकाे हाे । प्रधानमन्त्री ओलीले २३ खेलाडी र तीन जना प्रशिक्षकलाई प्रधानमन्त्री ओलीले जनही चार लाख रुपैयाँ प्रदान गर्नुभएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ ।

सरकारले यसअघि नै घोषणा गरेको पुरस्कार प्रधानमन्त्री ओलीले आज प्रदान गर्नुभएकाे हाे । सम्मानित हुने प्रशिक्षकमा प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक विकास मल्ल हुनुहुन्छ ।

गत चैतमा घरेलु मैदानमा भएको प्रतियोगितामा बंगलादेशलाई २-१ गोल हराउँदै नेपालले उपाधि जितेको थियो । फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला पुग्नुभएकाे थियाे । एन्फाको आयोजनामा भएको खेलमा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी थिए ।

साे अवसरमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजनामा लागि नेपाल सबै किसिमले तयार रहेको बताउनुभयाे । प्रधानमन्त्री ओलीले एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयाे ।

खेलाडीहरुतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘तपाईंहरु खेल्न तयार हुनुहुन्छ भने साफ नेपालमै आयाेजना गराैं ?’ नेपालले जित्ने बानी बढेकाे भन्दै उहाँले खेलाडीलाई जित्ने बानी बढाउन सुझाव दिनुभयाे । समग्र टिमकाे मनाेबल बढाउने हाे भने जित्न सकिने उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे  – ‘त्यतिबेला चुनाव पनि पर्दैन, हामी साफ खेलेर दशैं मनाउँछाैं ।’ अर्काे पुरस्कार लिने तयारीमा लाग्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयाे ।

बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेस गरिसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !