६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कम्युनिष्ट पार्टीले काम गर्छ भनेर सोधियो भने विश्वभरीका जनताले चीनलाई देखाउँछन्-गोविन्द थापा

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ११:२५


गोविन्द थापा-

सय वर्ष अघि चीनमा कम्युनिष्ट पार्टी स्थापना हुँदा नेपालमा कम्युनिष्ट शब्द सुनेका मानिस विरलै थिए होलान् । त्यस्ता मानिसको संख्या औंलामा गन्न सकिन्थ्यो होला ।

विश्वमा सबैभन्दा सफल र लोकप्रिय पार्टी हो– चिनियाँ कम्युनिष्ट पार्टी । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो देश जसरी बनाएको छ, विश्व समाजलाई जुन देन दिएको छ, त्यो विलक्षण छ । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टी नै विश्वको सबैभन्दा लोकप्रिय र प्रभावशाली पार्टी हो भन्नेमा शायदै विवाद होला ।

यति लोकप्रिय पार्टीले एक शताब्दी आयु पूरा गरेको छ । विश्वमा एक शताब्दी आयु भएको पार्टी अरु पनि होलान् तर उनीहरुको नाम गुगलमा खोज्नुपर्छ । चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने विश्वभरीका जनताको मन र मुखमा छ ।

अनुपम संघर्षको इतिहास बोकेको छ चिनियाँ कम्युनिष्ट पार्टीले । देश, जनता र विश्व मानवताप्रति चिनियाँ कम्युनिष्ट पार्टी र त्यसका नेता–कार्यकर्ताहरुको समर्पण अतुलनीय छ । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीका शतवार्षिकीे विश्वभरी चर्चाको विषय बनेको छ ।

चीनबाट विश्वले धेरै सिकेको छ, विश्वलाई चीनले धेरै दिएको छ । चीनलाई आजको उन्नत अवस्थामा पुराएको चिनियाँ कम्युनिष्ट पार्टीले हो । चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न विशेषता छन् । नेपालीका लागि नौलो लाग्ने केही विशेषता यहाँ चर्चा गरिन्छ ः

सिद्धान्त केका लागि ?

चिनियाँ कम्युनिष्ट पार्टीले सिद्धान्तलाई किताबमा कैद गरेन, भाषणमा सीमित गरेन । सिद्धान्तलाई दस्तावेजबाट निकालेर व्यवहारमा उतारेर देखायो । कम्युनिष्ट पार्टीले के काम गर्छ भनेर सोधियो भने विश्वभरीका जनताले आजको चीनलाई देखाउँछन् । सिद्धान्त निरन्तर परिमार्जन गर्नुपर्छ भन्ने चिनियाँ कम्युनिष्ट पार्टीले सिकाएको छ ।

सिद्धान्तमा परिष्कार

चिनियाँ कम्युनिष्ट पार्टीले विचार र सिद्धान्तलाई समय अनुसार परिमार्जन र परिष्कार गरिरह्यो । जडसूत्रवादी बनेन । आफ्नो देश, समाज र समय अनुसार विचार ग्रहण गर्यो । युग र आवश्यकता अनुसार विचारलाई परिस्कृत गर्दै सी चिन फिङ विचारधारासम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफूलाई उठाएको छ ।

नक्कल गरेन

विश्व कम्युनिष्ट आन्दोलनमा नक्कल गर्ने, विचार आयात र निर्यात गर्ने प्रवृत्ति वर्षाैंसम्म रह्यो । कम्युनिष्ट पार्टीको एक ठाउँमा सफल भएको मोडल सबैतिर लागू हनसक्छ भन्ने मान्यता राख्ने गरिएको थियो । तर, चीनले कसैको नक्कल गरेन । आफ्नो देशको सन्दर्भ र विशेषता अनुसार विचार लियो र कम्युनिष्ट पार्टी विकास गर्यो । अन्य देशको मोडल नक्कल गर्न थालेको थियो भने चिनियाँ कम्युनिष्ट पार्टी यति सफल हुन सक्दैनथ्यो ।

नेपालमा पनि नेकपा एमालेले नेपाली समाज अनुसार विचार परिष्कार गरेर बहुदलीय जनवाद अंगाल्यो र सफल भएको छ । उता, चिनियाँ क्रान्तिको विकृत नक्कल गरेर पुष्पकमल दाहाल प्रचण्डहरुको समूहले हत्या हिँसालाई जनयुद्ध भन्यो । चिनियाँ क्रान्तिलाई माओवादीले हत्याहिँसाका रुपमा बुझ्यो । त्यसैले प्रचण्डहरुको कथित जनयुद्ध असफल भयो । चीनले भने क्रान्तिलाई नवनिर्माणको आधार बनायो ।

आफ्नो परिवेश अनुसार विचार र सिद्धान्त परिष्कृत गर्नुपर्छ भनेर चिनियाँ कम्युनिष्ट पार्टीले विश्वलाई सिकायो ।

समाजवादको चिनियाँ विशेषता

संविधानले नेपाललाई ‘समाजवाद उन्मुख’ भनेको छ । तर, समाजवादलाई बुभ्ने र व्याख्या गर्ने मामिलामा नेपालमा एकरुपता छैन । समाजवादको सन्दर्भमा विश्वका विभिन्न मोडलहरुको नेपालमा चर्चा गरिन्छ । चीनले भने ‘चिनियाँ विशेषताको समाजवाद’ अंगाल्यो ।
युरोपमा कम्युनिष्ट आन्दोलन मजदूर वर्गलाई केन्द्रीत गरेर उठ्यो, चीन औद्योगिक थिएन, किसान बाहुल्य थियो । माओत्से तुङले किसानलाई केन्द्रमा राखेर क्रान्ति गर्नुभयो । युरोपको समाजवादी मोडलको पछाडि चिनियाँ नेतृत्व लागेन । चिनियाँ मोडलको समाजवाद विकास गर्न थाल्यो । अहिले सी चिन फिङको विचारधाराले ओतप्रोत चिनियाँ समाजवादी मोडलको सफलताले विश्व चकित छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले विचार आयात गरेन, विचार निर्यात पनि गरेन । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टी विश्वभरीका कम्युनिष्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध राख्छ तर उनीहरुलाई निर्देशित गर्ने प्रयास गर्दैन ।

पूँजीवादी मोडलको विकल्प छ

सन् ९० को दशकसम्म आइपुग्दा विश्वमा पूँजीवादी राज्य व्यवस्थाको विकल्प छैन भन्ने स्थापित गर्न खोजियो । किनभने सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट पार्टी असफल भएका थिए । तर, चिनियाँ कम्युनिष्ट पार्टीले पूँजीवादी मोडलको शासनसत्ताको विकल्पलाई दह्रो बनाइसकेको थियो । पूँजीवादी राज्य प्रणालीभन्दा आफ्नै देशको विशेषतामा आधारित समाजवादी शासन व्यवस्था उन्नत हुन्छ भनेर प्रमाणित गर्ने बाटोमा चिनियाँ कम्युनिष्ट पार्टी अग्रसर भयो । र, सफल पनि भयो ।

पार्टी के का लागि ?

पार्टी केका लागि र कसका लागि भन्ने प्रश्नको जवाफ पूँजीवादी–सामन्तवादी लोकतन्त्र भएको देशमा सजिलोसँग पाइँदैन । पार्टी भनेको नेता र कार्यकर्ताका लागि मात्र हो भनेजस्तो अवस्था देखिन्छ । पार्टी भनेको राजनीतिका लागि मात्र हो भन्ने बुझाई छ । अनि, राजनीति चाहिँ केका लागि ? लोकतन्त्र भएको देशमा राजनीति भनेको निश्चित राजनीतिक काम हो, सत्ता र शक्तिमा पुग्ने काम मात्र हो । तर, चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी भनेको देश र जनताका लागि हो भन्ने स्थापित गर्यो । राजनीति भनेको देश र जनताका लागि सुखमय अवस्था बनाउनु हो भन्ने स्थापित गर्यो ।

शानदार भविष्य दृष्टि

पूँजीवाद–सामन्तवादी लोकतन्त्रमा राजनीतिक पार्टीले एक आवधिक चुनावलाई मात्र ध्यान दिए पुग्छ भन्ने ठानिन्छ । अर्थात्, वर्तमान नै सबैथोक हो । चिनियाँ कम्युनिष्ट पार्टीले भविष्यका लागि वर्तमानमा काम गर्नुपर्छ भनेर बाटो देखायो । वर्तमानमा त जो पनि बाँचेको हुन्छ तर भविष्यमा बाँच्नु चाहिँ मुख्य कुरा हो । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले सधैं भविष्यको चीन कस्तो बनाउने भनेर चिन्ता र चिन्तन गर्यो । चिन्तनलाई व्यवहारमा उतार्यो । आज चीन जे जस्तो अवस्थामा छ, यसको परिकल्पना पहिले नै कम्युनिष्ट पार्टीले गरिसकेको थियो र त्यस अनुसारको योजना बनाइएको थियो ।

यति सफल र सक्षम चिनियाँ कम्युनिष्ट पार्टीले भविष्यको चीन र भविष्यको विश्वको कति सुन्दर कल्पना गरेको होला ? त्यो कल्पना साकार पार्न चीनलाई शुभकामना ।

नीति र नेतृत्व

चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको एउटा मुख्य कारण नेतृत्व हो । यसले अत्यन्तै योग्य र सक्षम नेतृत्व पायो । सक्षम कार्यकर्ता पंक्तिबाट सक्षम नेतृत्व जन्मन्छ । अनुशासन, इमानदारी, त्याग, समर्पण जस्ता गुण पार्टीभित्र फैलाइयो । त्यस्तै खालका कार्यकर्ता तयार गरिए । उनीहरुले सक्षम नेतालाई अगाडि सारे । नेतृत्वलाई सफल हुन सघाए । नेतृत्व सफल हुनु भनेको पार्टी सफल हुनु हो, पार्टी सफल हुनु भनेको देश सफल हुनु हो भन्ने विचार चिनियाँ कम्युनिष्ट पार्टीले आत्मसात गर्यो । यसकारण चिनियाँ कम्युनिष्ट पार्टी सफल भयो ।

पार्टी अर्थात् आँखा

पार्टी भनेको देशको आँखा हो, हात हो । पार्टीले आँखा देखेन भने, गलत देख्यो भने देश पनि गलत बाटोमा जान्छ । चिनियाँ कम्युनिष्ट पार्टीले सही नीति लियो, नीतिलाई सफल बनाउन सही रणनीति अपनायो । भविष्य हेर्यो । वर्तमानका आवश्यकता तथा भविष्यका चुनौती र सम्भावना पहिचान गर्यो । पूँजीवादी लोकतन्त्रमा पार्टीलाई सरकार चलाउने एउटा औजार मात्र मानिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले भने देश नै बनाउने समग्र जिम्मेवारी काँधमा बोक्यो ।

विश्वमा कम्युनिष्ट पार्टी धेरै भए । धेरैवटा देशमा कम्युनिष्ट पार्टीले शासन गरे । तर, चिनियाँ कम्युनिष्ट पार्टी मात्र सफल भयो । पूर्व सोभियत संघ, पूर्वी युरोप लगायतका देशमा कम्युनिष्ट पार्टीले समय अनुसार आफूलाई परिस्कृत गरेनन् । चीनमा कम्युनिष्ट पार्टीले वर्तमानको आवश्यकता र भविष्यको चुनौती पहिचान गर्यो । समय र युगलाई बुझ्ने मामिलामा आफूलाई रुढीवादी र जडसूत्रवादी बनाएन ।

धैर्य र संयम

धैर्य गर्नु र संयमित गर्नु चिनियाँ विशेषता हो । चीनलाई विश्वले यसरी नै बुझ्छ । धैर्य र संयम चिनियाँ कम्युनिष्ट पार्टीको विशेषता हो । संघर्ष गर्न सौर्य चाहिन्छ तर शान्तिकालमा धैर्य र संयम चाहिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले संघर्षकालमा अद्भूत सौर्य देखाएको थियो । शान्तिकालमा आएपछि धैर्य र संयम देखायो ।

१२ करोडभन्दा धेरै सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीभित्र हामी धेरै हल्लाखल्ला सुन्दैनौं । पूँजीवादी लोकतन्त्र भएको मुलुकका पार्टी भनेको होहल्ला हो, हल्लाखल्ला हो, पार्टीभित्र जहिल्यै विवाद र झगडा हुन्छ । यस विपरितको अवस्था देखिन्छ चिनियाँ कम्युनिष्ट पार्टीभित्र । चीनको शासन सत्तामा ७२ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टी निरन्तर छ । तर, सत्तामा छौं भनेर चिनियाँ कम्युनिष्ट पार्टी कहिल्यै मात्तिएन, चीनमा पार्टीको लोकप्रियता कहिले खस्किएन, निरन्तर लोकप्रिय भइरह्यो, जनताको ह्रदयमा बसिरह्यो ।

कम्युनिष्ट पार्टीले धैर्य र संयम गुमाएकैले सोभियत तथा पूर्वी युरोपका पार्टीहरु पतन भएका हुन् ।

अनुशासन

अनुशासनको अर्काे नाम हो– चीन । अनुशासनले मात्र अबको युगमा शान्ति, विकास र स्थिरता पाउन सकिन्छ भन्ने तथ्य सबैले बुझिसकेका छन् । चीनले आजको विकास र समृद्धि आर्जन गर्नुमा उनीहरुको अनुशासनको ठूलो भूमिका छ । विश्वमा चीनका जनता अनुशासनको मामिलामा अब्बल मानिन्छन् । अनुशासनको यस्तो मानक तयार गरेको हो चिनियाँ कम्युनिष्ट पार्टीले ।

पूँजीवादी सामन्तवादी पार्टीमा अनुशासन भन्ने चिज हुँदैन । तर, कम्युनिष्ट पार्टी अनुशासन बिना बाँच्न सक्दैन । विश्वका धेरै कम्युनिष्ट पार्टीहरु अनुसासनको अभावले समाप्त भए । विशेषगरी नेपालका कम्युनिष्ट पार्टीहरुले मात्र नभएर सबै पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासनबाट पाठ सिक्न आवश्यक देखिन्छ ।

नेपालको सन्दर्भ

चीन र चिनियाँ कम्युनिष्ट पार्टी नेपाल र नेपालीको सदैव मित्र रहिआएको छ । नेपालमा दर्जनौं कम्युनिष्ट पार्टी छन् । चीनले आफ्नो विचार लाद्ने प्रयत्न कहिले गरेन । माओत्सेतुङको नाम अगाडि सारेर नेपालमा दशौं हजार मानिस मारियो, लुटपाट मच्चाइयो, देशलाई ढुंगे युगमा फर्काउन खोजियो । जेजति अपराध गरियो, माओको नाममा गरियो । त्यस्तो बेला समेत चीनले विचार निर्यात गरेको आरोप कसैले लगाउन सकेन । बरु, माओका नाममा आतंक फैलाउन अरु नै देशले उक्साएका थिए भन्ने पछिपछि खुल्दै गयो ।

चिनियाँ कम्युनिष्ट पार्टी जे बोल्छ त्यो गर्छ भन्ने विश्वभरी विश्वास छ । चिनियाँ कम्युनिष्ट पार्टी हिँसाबाट नभएर क्रान्तिबाट जन्मिएको हो । त्यसैले यसले राजनीतिक क्रान्ति गरेपछि आर्थिक क्रान्ति अंगाल्यो । विश्वमा कैयन देश छन् जसले हिँसा निर्यात गर्छन् । तर, चीन र चिनियाँ कम्युनिष्ट पार्टीले भने शान्ति, विकास र समृद्धि निर्यात गरिरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेका उपलब्धी विश्वकै सम्पत्ति बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको उपलब्धी चीन र चिनियाँ जनताको मात्र उपलब्धी नभएर विश्वका समस्त जनताको उपलब्धी हो ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट हामीले पनि सिक्न सकौं । शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, त्यसका सदस्यहरु तथा चिनियाँ जनतालाई हार्दिक शुभकामना ।



प्रतिक्रिया दिनुहोस !