६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव समूहसँगको मिलनलाई वृहत राष्ट्रिय एकताको प्रस्थान विन्दु बनाइनुपर्छ-गोविन्द थापा

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार ०९:४५


गोविन्द थापा-

राजनीतिमा असम्भव केही हुँदैन । असम्भव झैं लाग्ने केही घटनाले हामीलाई प्रतिक्षा गरिरहेको छ । केही समयभित्रै नेपाली राजनीतिमा ठूलाठूला घटना हुँदैछ ।

राजनीतिमा सम्भावनाको खोजी निरन्तर गरिन्छ । अहिले भित्रभित्रै र खुलेआम रुपमा धेरै खालका सम्भावनाहरु खोजी गरिँदैछ । केही प्रश्न तथा सम्भावना यस्ता छन् :-

१– प्रतिनिधि सभा पुनस्थापना हुन्छ कि चुनाव हुन्छ ?

२– एमाले फुट्छ कि फुट्दैन ?

३– माधवकुमार नेपालको समूह एमालेमा फर्कन्छ कि बेग्लै पार्टी बनाएर माओवादीमा पस्छ ?

४– पहिलेको नेकपा पुनस्थापना अर्थात् एमाले र माओवादीको एकीकरण होला कि नहोला ?

नेपाली राजनीतिमा सम्भावनाका अनेक एजेण्डा छन् तर मूलत यी चार एजेन्डा नै अहिले चर्चाको केन्द्रमा छ । माथि उल्लेख गरिएका चारवटै सम्भावनाले एक अर्कासँग सम्बन्ध राख्छ । प्रतिनिधि सभा पुनस्थापना कि चुनाव भन्ने विषय बाहेक अन्य तीन विषय चाहिँ एउटै हो ।

राजनीतिमा पर्दा अगाडि भन्दा पर्दा पछाडि धेरै घटना विकसित भइरहेको हुन्छ । कैयन घटनाहरु पर्दा अगाडि नआई तुहिन्छ । कैयन घटनाहरु पर्दा पछाडिको रुपमा नभएर बेग्लै रुपमा समाजमा प्रकट हुन सक्छ ।

यो आलेखमा पर्दा अगाडिको विषयभन्दा पर्दा पछाडिको विषयको चर्चा गरिँदैछ । यो लेख आलोचनाका लागिभन्दा सुझावका लागि लेखिएको हो । जसले यस्ता विषयमा सम्भावना खोजिरहेका छन्, उनीहरुलाई सघाउ पुगोस् भनेर लेखिएको हो ।

भित्र केके हुँदैछ ?

बाहिर जति मनमुटाव देखिए पनि भित्रभित्रै भेटघाट गर्नु, खबर आदानप्रदान गर्नु, मत नमिलेका विषयमा छलफल गर्नु र मिल्ने सम्भावनाको खोजी गर्नु नेपाली राजनीतिको सुन्दर विशेषता हो । नेपाली नेताहरुको यस्तो विशेष्ता दक्षिण एसियामै नमूना र उदाहरणीय मानिन्छ ।

एमाले र माओवादी अहिले दुई ध्रुवमा छन् तर भित्रभित्रै उनीहरु बीच एकताको प्रयास गर्नेहरु धेरै छन् । धेरै जिम्मेवार नेताहरु एकताको सम्भावना खोज्दैछन् । एमालेका पूर्व अध्यक्ष तथा हाल पार्टीबाट बाहिर रहनुभएका माधवकुमार नेपालको समूहका अधिकांश नेता एमालेमा फर्कने पक्षमा छन्, केही नेताहरु भने माओवादीमा जाने पक्षमा छन् । जो एमालेमा फर्कन चाहन्छन् उनीहरु माधव नेपाल सहितका नेताहरुलाई पनि साथै लिएर फर्कन चाहन्छन् । यो ‘ओपन सेक्रेट’ हो ।

माधव नेपालको समूह एमालेमा फर्कने पो हो कि ? यो चिन्ताले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रातभरी निद्रा लाग्दैन भन्ने अनुमान गर्न सकिन्छ । जसरी होस्, माधवको समूहलाई एमाले फर्कन नदिने, पुनस्थापना भएको अवस्थामा त्यो समूहलाई प्रयोग गरेर सरकार कब्जा गर्ने देउवा प्रचण्डहरुको रणनीति छर्लङगै छ । चुनाव भएको अवस्थामा माधव समूहलाई अगाडि सारेर एमालेको केही भोट काट्ने रणनीति पनि देख्न सकिन्छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि केही मान्छेलाई अगाडि सारेर सिंगै एमाले विभाजित भएको प्रचार गर्ने मौका कांग्रेस र माओवादीले नपाउन् भनेर चिन्तित देखिनुहुन्छ । त्यसैले उहाँले एकताको प्रयास गरिरहनुभएको देखिन्छ । माधव समूह अब केन्द्र र जिल्लाका केही नेतामा सीमित छ, संख्या थोरै भए पनि यो समूहलाई एमाले विरोधी मनोविज्ञान सिर्जना गर्न प्रयोग गर्लान् भन्ने केपी ओलीको चिन्ता देखिन्छ । अर्काे कुरा, नेपाली राजनीतिको शिखर पुरुष भएको नाताले सबैलाई समेट्ने आकांक्षा पनि केपी ओलीमा देखिन्छ ।

बाधा केके छ ? 

एमाले र माओवादी केन्द्रको मिलन असम्भव छैन तर अहिलेका लागि टाढाको विषय हो । अहिलेको ज्वलन्त सम्भावना भनेको माधव समूहलाई एमालेमा ल्याउने नै हो । तर, माधव समूह एमालेमा फर्कन अर्थात् एमाले एकढिका हुनमा अनेक वाधा व्यवधान छ ।

एमालेलाई निल्न पाइन्छ भने फर्कने नत्र नफर्कने माधवको रणनीति देखिन्छ । एमालेमा फर्किएपछि थप शक्ति आर्जन गरेर प्रचण्डको हातमा माधवले पार्टी बुझाइदिनुहुन्छ भन्ने एमाले कार्यकर्ता पंक्ति र आम जनताको बुझाई देखिन्छ । जनता र कार्यकर्ताको यस्तो बुझाईका कारण केपी ओलीले माधवलाई फिर्ता ल्याउनमा अधिक लचकता अपनाउन गाह्रो भएको देखिन्छ ।

बाहिर प्रचार गरिए जस्तो जेठ २ मा फर्कने कि ३ मा फर्कने भन्ने विवाद तथ्यमा आधारित छैन । मिल्ने भए जहाँ फर्किए पनि हुन्छ । यसमा दुवै पक्षलाई आपत्ति हुन सक्दैन । बाधा के हो त ?

एमाले एकतामा बाधा धेरै छ तर मुख्य वाधा निम्न देखिन्छ–

– माधव नेपाल तथा खासखास नेताहरुमाथि देउवा र प्रचण्डको नियन्त्रण ।

– एमालेमा एकता हुन नदिने कांग्रेस र माओवादीको नीति ।

– कांग्रेस र माओवादीको समर्थनमा आफूले पनि चुनाव जित्छु र समूहका एकदुईजनाले पनि जित्छन् भन्ने माधव नेपालको विश्वास ।

– माधव समूहले एमाले विरुद्ध यति सत्रुतापूर्ण व्यवाहार गर्यो कि त्यो व्यवहारलाई च्वाट्टै छाडेर, त्यस्ता भनाईलाई पूरै बिर्सिएर मिल्न लोकलाजका कारण गाह्रो भएको छ ।

– एमालेको असफलता नै आफ्नो असफलता भन्ने माधव नेपाल र सो समूहका केही नेताहरुको धारणा ।

– माधव नेपाल, उपेन्द्र–बाबुराम तथा त्यस्तै अन्य सानातिना समूह मिसाएर पार्टी बनाएर राजनीतिमा पुनरागमन गर्ने प्रचण्डको आकांक्षा ।

– भुसुना आकारको माधव समूहले हात्ती आकारको एमालेलाई केही पनि गर्न सक्दैन भन्ने एमाले नेता कार्यकर्ताको धारणा ।

– माधवहरुले छाडेर जानुभएपछि एमालेको आन्तरिक विकासक्रम नयाँ ढंगले भयो, त्यो विकासबाट फर्कन संस्थापन पक्षलाई अप्ठेरो ।

– नेपालमा शान्ति र स्थिरता हुन नदिने विदेशी शक्तिको प्रभाव ।

मिल्ने कि नमिल्ने ?

यो लेखको सुरुमै लेखियो– राजनीतिमा असम्भव केही पनि हुँदैन । प्रतिकूल परिस्थिति भित्र पनि अनुकूलता खोज्नु नै राजनीतिको विशेषता हो ।

एमालेमा एकता हुनुपर्छ भन्नु सजिलो छ तर गर्नु गाह्रो छ । किनभने दुवै पक्ष एक आपसबाट धेरै टाढा पुगिसकेका छन् । जेठ २ मा फर्कने या नफर्कने अथवा कुनकुन पद पुनस्थापित हुने भन्ने प्राविधिक विषय हो । मिल्नका लागि यस्ता विषय बाधक हुँदैन ।

मिल्नका लागि विगतका अडान र अभिव्यक्ति वाधक भएको छ । अडान र अभिव्यक्तिलाई दुवै पक्षले क्रमश सच्याउँदै अगाडि बढ्नुपर्छ । ध्यान दिएर हेरियो भने केही समय यता केपी ओलीको तर्फबाट माधव समूह या प्रचण्डको पार्टीप्रति कडा अभिव्यक्ति आएको छैन । नेपाली राजनीतिको शिखर पुरुष भएको नाताले उहाँले लचकता देखाउनुभएको प्रष्ट छ ।

एमालेको एकता अपरिहार्य छ । माधवको समूहले चुनावमा जित्दैन, केही सिटमा एमालेलाई हराएर कांग्रेसलाई जिताउन योगदान गरिदिन भने सक्छ । यसको अर्थ के हो भने चुनावपछि माधवको समूहको कुनै अस्तित्व रहने छैन । अन्य पार्टीमा मिसिएको अवस्थामा पनि कुरा त्यही हो ।

माधवको समूहमा कैयन योग्य नेता कार्यकर्ता छन् । उनीहरुको राजनीतिक भविष्य संस्थापन एमालेको तथा राजनीतिका शिखर पुरुष भएका नाताले केपी ओलीको पनि चिन्ताको विषय हो । त्यसैले ओलीले लचकता देखाउनुभएको छ । तर, केपी ओलीको लचकताले मात्र एकता हुन सक्दैन । यसका लागि केही रणनीतिक र ठोस कदम चालिनुपर्छ ।

वृहत् राष्ट्रिय एकता अभियान

एमाले अध्यक्ष, प्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर पुरुष केपी ओलीले माधव नेपालको समूहसँग मात्र नभएर वृहत् राष्ट्रिय एकता गर्न जरुरी छ । त्यस्तो वृहत् राष्ट्रिय एकताकै एक हिस्साका रुपमा माधव नेपालहरुसँग मिल्नुपर्छ । माधव समूहसँगको मिलनलाई वृहत राष्ट्रिय एकताको प्रस्थान विन्दु बनाइनुपर्छ ।

यसका लागि शुन्य समय अवधारणा लागू गरिनुपर्छ । संसद्मा चल्ने शुन्य समयमा उग्र कुरा बोल्छन् सांसद्हरु । यस प्रकारको शुन्य समयमा चाहिँ विगतका सबै कुरा बिर्सिएर भविष्य मात्र हेर्नुपर्छ । एमाले एकताका लागि सबै नेता र कार्यकर्ताले अतितको नराम्रो बिर्सने, राम्रो मात्र सम्झने विशेष खालको घोषणा गर्नुपर्छ । माधव नेपाल सहितको मिलन समारोहबाट वृहत् राष्ट्रिय एकता अभियानको घोषणा गरिनुपर्छ । सो समारोहबाट शुन्य समय सुरु भएको उद्घोष गरिनुपर्छ । शुन्य समय भनेको अतितको मनमुटाव बिर्सेर भविष्यको यात्रा थाल्नु हो ।

शुन्य समयमा पालना गर्ने आचार संहिता घोषणा गरिनुपर्छ । शुन्य समयको कालखण्डमा रचनात्मक र सकारात्मक मात्र बोल्ने, कुनै पनि नकारात्मक व्यवहार नगर्ने अठोट गरिनुपर्छ । यस्तो शुन्य समयको थालनीसँगै शिखर पुरुष केपी ओलीले वृहत् राष्ट्रिय एकताका लागि सबै पक्षसँग संवाद् अगाडि बढाउनुपर्छ । यस्तो संवाद्को सहजकर्ता व्यक्तित्वका रुपमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता व्यक्तित्वले जिम्मेवारी ग्रहण गर्नुपर्छ । माधव, झलनाथ र बामदेवहरुले पार्टीको आन्तरिक झगडामा रुमलिनुभन्दा वृहत् राष्ट्रिय एकता अभियानको जिम्मेवारी लिनु उपयुक्त हुन्छ ।

एमालेको आन्तरिक विवादका कारण देश प्रताडित भएको छ । पार्टी एकताको घोषणासँगै ‘वृहत् राष्ट्रिय एकताका लागि शुन्य समय’ अभियान थालेर एमालेका नेताहरुले सेफ ल्याण्डिङ गर्नुपर्छ ।

नमिल्ने भए कुरा बेग्लै हो, मिल्ने भए मिल्नका लागि हजार उपाय लगाउन सकिन्छ । राजनीतिमा असम्भव केही हुँदैन तर राजनीतिभन्दा समय बलवान हुन्छ । समय बितेपछि, समयले साथ छाडेपछि को कहाँ पुग्छ भन्न सकिँदैन । यो कुरा मुख्य पात्रहरु सबैले मनन गर्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस !