१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री बन्न मलाई कुनै हतार छैन-प्रचण्ड

प्रकाशित मिति :  २९ फाल्गुन २०७७, शनिबार ११:४१


काठमाडाैं । ‘म पछिल्लो समय जनतासँग जोडिन आइपुगेँ, उनीहरुले ठिक ढंगले मलाई बुझे कि बुझेनन्, चिने कि चिनेनन् भन्ने चिन्ता छ’- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयाे ।

शनिबार काठमाडाैंमा आयाेजित प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले समाजका एउटा तप्कालाई प्रचण्डको नाम र काम दुबै मन नपर्ने बताउनुभयाे । ‘लामो समय शासन गरेकालाई प्रचण्ड नाम र काम मन पर्दैन,त्यसैले केही न केही टिप्पणी गरिनै राखेका हुन्छन् तर मेरा आफ्नाहरूले, मेरा वर्गहरूरुले मैले जसका लागि काम गरेँ तिनीहरूले राम्रोसँग चिने कि चिनेन भनेर चिन्ता हुन्छ’ – प्रचण्डकाे भनाइ छ ।

प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताउँदै प्रचण्डले भन्नुभयाे – ‘प्रचण्ड भनेको राक्षसै हो जस्तो साेच्थे, सिङ भएकाे होला भन्ठान्थे, मलाई माया गर्थे पहिले पनि बीचमा के भयाे हरायाे हराए, अहिले फेरि मलाई नेपाली जनताले माया गर्न लागेको जस्तो लाग्छ ।’

प्रधानमन्त्री बन्न आफूलाई कुनै हतार नभएकाे दाबी गर्दै प्रचण्डले अहिलेको लडाईं आफू प्रधानमन्त्री बन्न नभएको बताउनुभयाे । आफू २ पटक प्रधानमन्त्री भइसकेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘मेरो लडाईं प्रधानमन्त्रीको होइन, उत्पीडित,जाति क्षेत्र, लिंग, समुदाय सबैको हक अधिकारका लागि मैले लडेको हो ।’

आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको दाबी गर्नुभयाे । जनताको विचार सही भए सही नेता चुनिने र विचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने बताउँदै उहाँले भन्नुभयाे – ‘नेताहरु समाज र जनताले पैदा गर्छ, जनता कस्ता छन भन्ने कुराले नेता उत्पादन हुन्छ, जनता लोभी, पापी र काम चोर भए नेता पनि उस्तै जन्मिन्छन ।’ अहिले नागरिक चेतनामा समृद्धि ल्याउन जरूरी रहेकाे पनि उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !