१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं-प्रम ओली

प्रकाशित मिति :  २९ फाल्गुन २०७७, शनिबार ११:२०


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूबाहेक देश र जनतालाई माया गर्ने अरू काेही नभएकाे बताउनु भएकाे छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शनिबार काठमाडाैंमा गरेकाे कार्यक्रममा उहाँले विकासको बाटोमा देशलाई अगाडि बढाएकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खाेजिएकाे बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘देश र जनतालाई माया गर्ने हामीबाहेक अरू कुनै पार्टी छैन, एक सयबाट थालेकाे वृद्ध भत्ता ५ हजार पुर्‍याउँदैछाैं ।’  अरू कुनै पनि नेताले विकासका कुरा नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयाे –  ‘कुनै पनि नेताको वक्तव्य र भाषणमा विकासको कुरा सुन्नु भएको छ ? उनीहरुले केपी ओलीलाई धारे हात लगाउने काम मात्रै गर्न जानेका छन्, विकास हाेइन ।’

आफूहरूले प्रधानमन्त्रीका लागि कसैलाई प्रस्ताव नगरेकाे पनि उहाँले बताउनुभयाे । केही व्यक्तिहरूले भएकाे सरकार ढालेर अहिले टालाटुली सरकार बनाउन चाहेकाे पनि उहाँले बताउनुभयाे । चुनावमा जाने हाे भने नक्कली लोकतन्त्रवादीहरुले धुलो चाट्ने बताउँदै उहाँले भन्नुभयाे – ‘नक्कली लोकतन्त्रवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्‍यो, चुनाव घोषणा गर्‍यो, जनताबीच जाने कुरा गर्‍यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्‍यो, यसको अर्थ के हो ? यो देश अगाडि बढ्यो, चुनावमा जाने हो भने यिनले माटो चाट्छन्, धुलो चाट्छन् ।’

प्रधानमन्त्रीबाट हटाउन सके हटाउन चुनाैनी दिँदै उहाँले केही समय प्रतिपक्षमा बस्न केही गाह्राे नहुने पनि प्रष्ट पार्नुभयाे । यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने पनि उहाँले बताउनुभयाे । प्रधानमन्त्रीले – ‘कसैलाई प्रतिपक्षमा बस्न के-के न गाह्रो हुन्छ, ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ, १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ, अहिले हटाउन सक्छन् कसैले भने भने हटाओस्, हटाउने प्रयास भइरहेको छ, तर २० महिनापछि फेरि यही सूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुई-तिहाई लिएर सिंहदरबार मुलगेटबाट फेरि पस्छ, हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं, हामी राजनीतिक प्राणी हौं ।’



प्रतिक्रिया दिनुहोस !